साप्ताहिक संवाददाता
अभिनेता पुष्प खड्काले आफ्नो जन्मस्थल कैलाली पुगेर असहाय तथा घरबार बिहिन बालकालिकाहरुको लागि ५० हजार सहयोग गरेका छन् । साथै, उनले बिहानको खाना समेत उनीहरु सँगै खाएका छन् । त्यससँगै उनले केहि खाद्यान्न समेत सहयोग गरेका छन् ।
बुधवार कैलालीस्थित बर्दगोरियामा जारी माघी मेलामा अभिनेता खड्काले सहारा घरलाई उक्त रकम सहयोग गरेका हुन् । सहारा घरमा दुइदर्जनभन्दा धेरै बालबालिका बस्दै आएका छन् । उक्त सहयोग हस्तान्तरण गर्दै उनले भने, ‘रकमका हिसाबले यो निकै थोरै छ, तर केहि न केहि सहयोग गर्नु धर्म हो जस्तो लाग्यो । सोहि कारण मैले सहारा घरमा सहयोग गर्ने प्रयास गरेको हुँ ।’ खड्काले आफु केहि महिनाअघिदेखि एउटा उपर्युक्त समय पारेर उक्त स्थानमा सहयोग गर्ने सोच गराएका थिए । हाल कार्यक्रमको शिलशिलामा गृहजिल्ला पुगेको अवसर पारेर उक्त सहयोग गरेका हुन् ।
हामीले आ–आफ्नोतर्फबाट जति सक्छौं दुःखी र असहायहरुलाई सहयोग गर्न सकियो भने उनीहरुको जिवन सुन्दर हुनेछ, उनले साप्ताहिकसँग भने, ‘आगामी समयमा पनि विभिन्न स्थानमा सकेको सहयोग गर्ने मन छ ।’
मेलामा अभिनेता खड्कालाई हेर्न दर्शकको निकै भिड लागेको थियो । नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता खड्का मोडलिङमा समेत सर्वाधिक महंगो नाम हो । पुष्पले मिक्स तिन चारवटा गितमा समेत नृत्य गरेका थिए । मेला बर्दगोरिया धार्मिक पर्यटकिय धाम सांस्कृतिक विकास समितिको आयोजनामा पुष २७ गते देखी सुरु भएको हो । हाल चलचित्र 'चालवाज'को छायांकन सकेर पश्चिम पुगेका खड्का छिट्टै नयाँ चलचित्रमा काम गर्दैछन् । यद्यपी उनले यस विषयमा केहि खुलाएका छैनन् ।