साप्ताहिक संवाददाता
स्टेजमा गीत गाउँदा हासेर एक्सप्रेसन दिन्थे । उनमा एकपटक गीत गाएपछि अर्को पटक त्यो गीत नहेरी गाउने खुबी थियो ।
मृत्यु अकाट्य सत्य हो । अकाट्य सत्य भए पनि असमयको मृत्युवरण बाँच्नेहरूका लागि पीडादायी नै हुन्छ । कतिपय मृत्युसँग त दुर्लभ संयोगहरू जोडिएका हुन्छन् । मंगलबार बिहान सडक दुर्घटनामा परी ज्यान गुमाएका गजल गायक निशान भट्टराईको जीवन त्यस्तै संयोगमय दुर्घटनामा बिलायो । त्यो संयोग थियो, सडक दुर्घटनाको । निशानजस्तै उनका पिता र निशानकी ताइवानी प्रेमिकाको पनि गाडी दुर्घटनामै ज्यान गएको थियो ।
दरबारमार्गमा ५० प्रतिशत सेयर लगानी रहेको वान थाई रेस्टुराँमा नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा निशान दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार कार दुर्घटनापछि गम्भीर अवस्थाका भट्टराईलाई ट्रमा सेन्टर पुर्याइएको थियो । त्यहीँ उपचाररत अवस्थामा उनले अन्तिम सास फेरेका थिए ।
४० को दशकमा उदाएका निशान विशेषत: गजल गायनमा रुचि राख्थे । ‘नसा पिएर’, ‘मलाई माफ गरिदेऊ’, हेर धर्ती’लगायत उनका रुचाइएका गीतमा पर्छन् । ‘कामनाले भरिएको’ भट्टराईले रेकर्ड गरेको पहिलो गीत हो । दीर्घसिंह बमको रचनामा उनले यो गीत रेडियो नेपालमा गाएका थिए । उनले अर्को गीत ‘माया गर माया गर’मा यसमा गायिका सुकमित गुरुङसँग सहकार्य गरेका थिए । निशानले २०४१ देखि २०४४ सालसम्म रेडियो नेपालमा गायकका रूपमा काम गरेका थिए ।
निशानसँगै सांगीतिक संघर्ष सुरु गरेका संगीतकार तथा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानका अनुसार गजल गायनमा निशानको शैली फरक किसिमको थियो । ‘म सोल्टी होटलमा गिटार र बासुरी बजाउँथें । निशान गीत गाउँथे,’ मिलनले सम्झिए, ‘हामी २०४० सालदेखिकै साथी थियौं । उनी निकै मिलनसार थिए । स्टेजमा गीत गाउँदा हासेर एक्सप्रेसन दिन्थे । उनमा एकपटक गीत गाएपछि अर्को पटक त्यो गीत नहेरी गाउने खुबी थियो । सायदै त नेपालमा गजल रेस्टुराँ स्थापना गर्नमा उनको महत्वपूर्ण योगदान छ ।’
गजल गायन करियरमा निशानले अधिकांश समय गजल रेस्टुराँमै बिताए । उनले नोर्लिङ, गोल्डेन गेट, कोहिनुर, रानीमहल जस्ता रेस्टुराँमा गजल गाएका थिए । ‘निशानको जिन्दगी नै दरबारमार्गमा बित्यो । उनले साथीसँग मिलेर रानीमहल गजल रेस्टुरेन्ट खोलेका थिए । निकै लामो समयसम्म त्यहाँ सहकार्य गरेपछि साथीसँग उनको सम्बन्ध बिग्रियो । त्यसपछि ५० प्रतिशत सेयर हालेर वान थाइ रेस्टुराँमा गजल गाउन थाले’, मिलनले भने ।
मिलनका अनुसार दैनिक रूपमा गजलमा गाउनुपर्ने भएपछि त्यसको तयारीकै कारण उनले रचनात्मक काम गर्न पाएका थिएनन् । दरबारमार्गको अम्बर रेस्टुराँमा गाइरहँदा उनको गजल सुन्न आइरहने एक ताइवानी युवती (जो निशानकी फ्यान थिइन्)सँग अफेयर शुरु भयो । एकदिन दरबारमार्गमा गायन सकाएर सोल्टी होटल पुगी खाना खाएर फर्किदै गर्दा कालिमाटीमा कार दुर्घटना परी ताइवानी प्रेमिकाको निधन भएको थियो ।
‘त्यो दुर्घटनापछि उनी विचलित भएर झन्डै १० वर्षसम्म डिप्रेसनमा परे । त्यो समयमा उनको मद्यपान आदत यति बढ्यो कि उनलाई सम्हाल्नै नसक्ने अवस्था आयो । डिप्रेसनका बेला उनी गायिका दिदी लोचन भट्टराईकोमा बस्थे । मद्यपानको लतले अन्तिम अवस्थामा पुगेपछि लोचन दिदीको आग्रहमा मैले उनलाई घरमा लगेर राखें’, मिलन खुल्छन्, ‘मैले उनलाई घरमा मेरो परिवारजस्तै मानेर नौ महिना राखेँ । त्यो नौ महिनामा उनलाई रक्सीको लत छुटाएर पुरानै काममा फर्काउन सफल भएँ ।’
जडीबुटीमा बस्दै आएका निशानका साथी अमेरिका जाने भएपछि जडीबुटीको घर हेर्ने गरी चार महिना अघि मात्र निशान परिवारका साथ त्यहाँ गएका थिए । ‘हाम्रो परिवारसँग उनको परिवार निकै नजिक थियो । उनको अर्को साथीले मलाई मामा भन्ने भएकाले निशानले पनि मलाई मामा नै भनेर बोलाउँथे । राजेश हमाल र आशा भोषले तथा रन्जित गजमेरलाई समर्पित कार्यक्रममा पनि उनले गीत गाएका थिए’, पछिल्लो भेट स्मरण गर्दै मिलनले भने, ‘गत जनवरी १ तारिखमा उनकै रेस्टुराँमा हामीले नयाँ वर्ष मनाएका थियौं । उनले ‘आज धेरै वर्षपछि मामासँग एकपटक चियर्स गर्न मन लाग्यो’ भनेर गिलास ठोकाएका थिए ।’ निशानको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । उनको शवमा सांगीतिक संघको झन्डा ओढाइएको थियो । उनका छोरा, छोरी र श्रीमती छन् ।