साप्ताहिक संवाददाता
खेलकुद प्रतियोगिताले धेरै देशका राजनीतिक द्वन्द्वलाई समेत समाप्त गरेको इतिहास छ । तर, खेलकुदकै मैदानमा किन खेलाडीहरूबीच झडप र झगडा हुन्छन् ? कतिपय अवस्थामा यस्ता झगडाले दर्शकहरू र खेलाडीका फ्यानलाई समेत उत्तेजित गरेर ठूलै क्षतिसमेत निम्त्याएको पाइन्छ ।
हालै सहिद स्मारक लिग फुटबल प्रतियोगितामा मनाङ–मस्र्याङ्दी क्लब र मछिन्द्र बहाल क्लबका खेलाडीहरूबीच खेल मैदानभित्रै झडप भयो । यो घटनाले खेलकुदजस्तो मर्यादित र अनुशासित क्षेत्रमा हुने झगडा फेरि सतहमा आएको छ । यस्ता घटनाले खेलाडीलाई विवादित बनाइरहेको पाइन्छ । दर्शकहरूलाई भने यस्ता झडप किन हुन्छन् भन्ने चासो भइरहन्छ ।
खेलकुद प्रतियोगिताले धेरै देशका राजनीतिक द्वन्द्वलाई समेत समाप्त गरेको इतिहास छ । तर, खेलकुदकै मैदानमा किन खेलाडीहरूबीच झडप र झगडा हुन्छन् ? कतिपय अवस्थामा यस्ता झगडाले दर्शकहरू र खेलाडीका फ्यानलाई समेत उत्तेजित गरेर ठूलै क्षतिसमेत निम्त्याएको पाइन्छ ।
खेल मैदानमा हुने झगडाबारे हाम्रो देशमा खासै शोध भएको छैन । अन्तर्राष्ट्रिय खेल मैदानमा हुने झगडालाई आधार बनाएर केही अनुसन्धान भने भएका छन् । अब्दल हकले सन् १९८९ मा प्रकाशित गरेको शोधअनुसार खेलकुदमा हिंसा हुनुका मुख्य कारण प्रस्तुत गरेका छन् । उनको शोधअनुसार पहिलो कारणमा खेलाडीहरू पराजयको अवस्थामा पुग्ने बेलामा उनीहरूको मानसिकतामा आउने बिभिन्न किसिमको बिद्रोहका कारण खेलाडीहरू प्रतिद्वन्द्वीप्रति आक्रमणमा उत्रन्छन् । अब्दलकै शोधको दोस्रो कारण, खेलका रेफ्रीले आफ्नो अनुकूल निर्णय नगरेको ठानेर निस्किने आवेशले गर्दा उनीहरूबीच झगडा गर्ने स्थिति पैदा गर्छ । तेस्रो कारण, खेलाडीहरू एक अर्कामा झगडा भएको ठानेर हौवामा विपक्षी खेलाडीहरूमाथि बिना शोधखोज आक्रमणमा उत्रिँदा पनि झडप हुने गर्छ ।
खेलकुद क्षेत्रमा सर्वाधिक झडप हुने खेलमा फुटबल, रग्वी फुटबल, आइस हक्की, अमेरिकन फुटबल, बक्सिङ, मार्सल आर्टका खेलहरू, कुस्ती र वाटर पोलोजस्ता खेलहरूमा हुन्छन् । यी खेलमा हुने झडप केबल खेलाडीहरूबीच मात्र नभएर प्रशिक्षक र दर्शकबीच पनि हुने गर्छ । मैदानभित्रको आक्रोशलाई लिएर दर्शकहरूबीच रंगशाला र रंगशाला बाहिर हुने भिडन्त भने सबैभन्दा हिंसात्मक हुन्छ । यही कारण फुटबलका बेलायती र रसियन दर्शकलाई सर्वाधिक हुल्याहा मानिन्छ । युरोपमा आयोजना हुने फुटबल प्रतियोगितामा यस्ता हुल्याहा दर्शकको पहिचान गरेर आयोजक देशमा प्रवेश गर्नसमेत निषेध गर्ने गर्छन् ।
खेलकुदमा हुने हिंसाको विषयमा युनिभर्सिटी प्रेस अफ अमेरिकाका फ्र्यांक सालामोनीले केही कारण खुलाउने प्रयास गरेका छन् । जसमा उनी भन्छन्– मानिसको विकास नै हिंसाबाट भएको हो । मानिसले सामाजिक परिवेशमा आफूलाई बलियो देखाउन हिंसाकै साहारा लिने गर्थे यही कारणले पनि खेलकुदमा आफ्नो अस्थित्व बलियो देखाउन हिंसाको साहारा लिने गर्छन् । अर्को कारणमा फ्र्यांक भन्छन्– खेलकुद भनेको एउटा नियम र अनुशासनमा बसेर आफ्नो अस्थित्व देखाउने माध्यम हो । कहिलेकाँही खेलाडीहरूले यो नियमको परिधि पार गर्दा हिंसा हुन्छ ।
केही खेलको प्रकृति नै हिंसा बढाउने खालको हुन्छ । यस्ता खेलमा बक्सिङ र मार्सल आर्ट आदिलाई लिन सकिन्छ । यी खेलमा खेलाडी खेलकै नियममा बसेर पनि हिंसात्मक हुनै पर्ने अवस्था हुन्छ । यस्तो बेलामा खेलाडीले आफूले पाउने अंकमा कमी भएमा वा आफूले कम आंकलन गरेका खेलाडीले खेल जितेमा उनीहरू हिंसात्मक हुने सम्भावना बढी हुन्छन् । खेलकुदलाई हिंसात्मक बनाउन दर्शकको पनि भूमिका हुन्छ । दर्शक मदिरासेवन गरेर दर्शकदीर्घामा बसेका छन् वा विपक्षी टिमका समर्थकहरू छन् भने उनीहरू हिंसात्मक घटना निम्त्याउन सधैं अग्रसर भइरहेका हुन्छन् । यो कुरालाई मध्यनजर गरेर आयोजकले सधैं समर्थक टिमका दर्शकलाई अलग अलग राख्ने ब्यवस्था मिलाए पनि रंगशाला बाहिर गएर भए पनि उनीहरू झगडामा उत्रिने गर्छन् ।
फुटबल होइन, मुक्कामुक्की
मनाङ–मस्र्याङ्दी र मछिन्द्रबीच यसपल्टको सहिद स्मारक लिग ए डिभिजनमा भएको खेललाई धेरैले पछिसम्म पनि सम्झिनेछन् । पाँचौं चरणको यो खेल २–२ को बराबरीमा टुंगिएको थियो । खेलअगाडि नै प्रतिस्पर्धा तनावपूर्ण हुने अनुमान गर्न सकिन्थ्यो, किनभने मछिन्द्रले लिग जित्ने महत्त्वकाक्षांसहित मनाङका आधा दर्जनभन्दा बढी खेलाडी आफ्नोमा भित्र्याएको थियो, तर त्यति धेरै तनावपूर्ण हुने सोचिएको थिएन, जति आखिरमा दशरथ रंगशालामा देखियो ।
खेल सकिएलगत्तै दुवै टिमका खेलाडी मैदानमै भिड्न थालेका थिए । मुक्कामुक्कीको स्थिति तयार भएको थियो । धेरैले यसलाई निको मानेनन् । आखिरमा लिग आयोजना कमिटीले कारबाहीको ठूलै निर्णय पनि गर्यो । यो झगडामा मनाङकै खेलाडी बढी दोषी थिए, त्यसैले यही टिमका खेलाडी बढी कारबाहीमा परे । जगजित श्रेष्ठलाई ५ र अशोक बराललाई ६ खेलको प्रतिबन्ध लगाइयो । यस्तै रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरियो । मनाङकै किट्स म्यानेजर शिव लामा त पूरा लिगकै लागि निलम्बनमा परे ।
यस्तै मछिन्द्रका तर्फबाट दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल कारबाहीमा परे, दुई–दुई खेलको निलम्बनसहित । खेल सकिएलगत्तै जगजितले दीपकलाई कुहिनाले प्रहार गरेपछि झगडा सुरु भएको थियो ।
मध्यपुरले एकैपल्ट मात्र ए डिभिजनको लिग खेलेको छ र त्यो २०६९ सालमा हो । मध्यपुरले लिगमा राम्रो सुरुवात त लियो, तर लामो समय समान लयमा खेल्न सकेन र अन्तत: रेलिगेसनमा पर्यो । जुन दिन मध्यपुर रेलिगेसनमा परेको थियो, त्यस दिन त्यस क्लबका पदाधिकारीले निकै उपद्रो मच्चाए । अझ त्यसलाई मिल्दो हुने गरेर मध्यपुरका समर्थकले पूरा रंगशालामै कहालीलाग्दो स्थिति सिर्जना गरे ।
मध्यपुरका अध्यक्ष उपेन्द्रमान सिंहलाई सबै खाले फुटबल गतिविधिबाट एक वर्षका लागि प्रतिबन्ध लगाइयो ।
नेपाली लिग फुटबलमा सबैभन्दा सफल क्लब हो— मनाङ । यही क्लबसँग एउटा यस्तै ठूलो भिडन्तको इतिहास पनि जोडिएको छ । फ्रेन्ड्स युनियनले २०२४ सालमा ए डिभिजन लिग जितेको थियो । अहिले यसको अस्तित्व छैन, यसको नयाँ रूप थ्रीस्टार हो । त्यही बेला एउटा खेलमा फ्रेन्ड्स युनियन र ठमेल–११ भिडेका थिए । त्यसमा पनि यस्तै खेलाडीहरूबीच मुक्कामुक्की चलेको थियो । त्यस दिनको खेलमा खासमै के भएको थियो, त्यसबारे बताउने पनि धेरै अब रहेनन् ।
तर भनिन्छ, दुवै टिमका समर्थक र खेलाडीले आफ्ना प्रतिद्वन्द्वी खेलाडीलाई लखेटेर कुट्ने प्रयास गरेका थिए । त्यस घटनाबारे सुनेकाहरू केसम्म भन्छन् भने त्यति बेलाजस्तो भिडन्तको स्थिति दशरथ रंगशालाको इतिहासमै देखिएको थिएन । नतिजा, ठमेल–११ माथि प्रतिबन्ध नै लाग्यो र पछि जन्मियो— तिनै मनाङ मस्र्याङ्दी । त्यही कारणले गर्दा अहिलेसम्म पनि मनाङ र थ्रीस्टार भिड्नुपर्छ, खेल तनावपूर्ण हुन्छ नै ।
अन्तर्राष्ट्रिय फुटबलमा देखेको यस्तै तनावपूर्ण स्थिति भने सन् १९९७ को साफ च्याम्पियनसिपको बेला थियो, जति बेला माल्दिभ्स र श्रीलंका सेमिफाइनलमा भिडेका थिए । त्यो खेल माल्दिभ्सले २–१ ले जितेको थियो । सेप्टेम्बर १० मा भएको त्यस खेलमा माल्दिभ्सले ८९ औं मिनेटमा निर्णायक गोल गरेको थियो । खेल सकिएलगत्तै दुवै टिमका खेलाडी र पदाधिकारी तनावमा आए र एक–अर्काविरुद्ध झगडा गर्न थाले । निकै तनावको स्थिति बनेको थियो र दुवै टिमलाई छुट्टयाउन पनि लामै समय लागेको थियो ।