साप्ताहिक संवाददाता
पप स्टार जस्टिन बिबर आफ्नो लुक्स तथा व्यक्तिगत जीवनका कारण प्राय: चर्चामा आइरहन्छन् । यद्यपि, पछिल्लो पटक जस्टिन आफ्नो स्वास्थ्यका कारण चर्चामा आएका छन् । हालै मात्र यी गायकले सामाजिक सञ्जालमा आफ्नो रोगका बारेमा खुलासा गरेका छन् ।
उनको बिरामीको खबरले प्रशंसकहरू स्तब्ध भएका छन् । वास्तवमा जस्टिन बिबर कुनै सामान्य रोगबाट होइन, ‘लाइभ डिजिज’ नामको एउटा दुर्लभ रोगको सिकार भएका छन् । उपचारै नहुने उक्त रोगका कारण उनी अहिले दु:खीसमेत भएका छन् ।
जस्टिनले इन्स्टाग्राममार्फत उक्त रोगका बारेमा खुलासा गर्दै भनेका छन्, ‘धेरै जना मानिसले जस्टिन बिबर निकै फोहोरी देखिएका छन् भनिरहेका थिए, यद्यपि उनीहरूलाई म बिरामी छु भन्ने थाहै छैन । हालै मात्र मेरो शरीरमा लाइम डिजिज भएको पत्ता लागेको छ । यति मात्र होइन, क्रोनिक मोनाको पनि गम्भीर समस्या थियो, जसका कारण मेरो छाला, दिमाग, शरीरमा एलर्जी भयो भने सम्पूर्ण स्वास्थ्य नै प्रभावित भयो ।’
जस्टिनले आफूलाई लागेको रोगका बारेमा एउटा वृत्तचित्रमार्फत सम्झाउने आश्वासनसमेत दिएका छन्, जुन युट्युबमा अपलोड हुनेछ । ‘तपाईंहरूले पनि थाहा पाउनुहुनेछ, म कुन कुरासँग जुधिरहेको थिएँ, उनले भनेका छन्, ‘पछिल्ला केही वर्ष मेरा लागि अप्ठयारा थिए । यद्यपि एउटा राम्रो उपचार पाएर म चाँडै नै यो बिरामीबाट मुक्त हुनेछु । त्यसबाट छुट्कारा पाएपछि म चाँडै नै फर्किनेछु ।’