यसपल्टको सहिद स्मारक लिग ए डिभिजनमा कोही खास खेलाडीको सबैभन्दा बढी चर्चा भएको छ भने त्यो सन्तोष साहुखलकै हो । उनको लगातार चर्चा चलिरहेको छ र यो लिग सकिएपछि मात्र सेलाउनेछ । लिगको छैटौं चरणमा उनको क्लब च्यासलले एपीएफको सामना गरेको थियो र त्यसको नतिजा रह्यो, गोलरहित बराबरी । खेलपछि सबैको प्रश्न थियो— किन सन्तोषले गोल गर्न सकेनन् त ? एपीएफले पनि एउटै रणनीति बुनेको थियो— सन्तोषलाई रोक्ने ।
त्यसै त खेलको दोस्रो हाफमा च्यासलले पनि सन्तोषलाई मिडफिल्डतिर झारेर अर्कै खेलाडीलाई अगाडि पठाएको थियो, किनभने एपीएफको डिफेन्सले पूर्णत: आफ्नो ध्यान सन्तोषमा केन्द्रित गरेको थियो । एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले के भने भने उनको टिम औसत खालको मात्र छ, त्यसैले यस्तो खेलमा सन्तोष निर्णायक हुन सक्छन् । कारण स्पष्ट छ, नेपाली फुटबलमा दुई दशकभन्दा केही कम समय बिताइसक्दा पनि सन्तोषको खेल अझै प्रतिद्वन्द्वी टिमका लागि भारी हुने गर्छ ।
त्यसैले त च्यासलले पनि उनलाई केन्द्रमा राखेर टिम बनाएको छ । संयोगले च्यासलका प्रशिक्षक बालगोपाल साहुखल सन्तोषका आफ्नै दाइ हुन् । बालगोपालको यो रणनीतिका कारण जति बेला सन्तोष चम्किने गर्छन्, टिम जित्छ । जति बेला सन्तोष गोल गर्न सक्दैनन्, टिम स्वत: दबाबमा आउने गर्छ । च्यासलले धेरैभन्दा धेरै एकै खेलाडीमा मात्र ध्यान केन्द्रित गरेको हुनाले पनि आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेको छैन । खासमा सन्तोष खेलाडी नै यस्तै हुन् ।
उनको उदय २०६० सालयता भएको हो, त्यसयता उनले लगातार खेलिरहेका छन् । चार वर्षदेखि उनी जापानमा छन्, तर लिग खेल्नका लागि दुई वर्षयता नेपाल आइरहेका छन् । पछिल्लो १८ वर्षमा उनी नेपाली घरेलु नेपाली फुटबलका सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनको समयमा नेपाली फुटबलमा तीन फरवार्डले नाम कमाए । एक हुन्— जुमनु राई । अर्का— अनिल गुरुङ । यो समयमा यिनै तीन फरवार्डको वर्चस्व रह्यो ।
जहाँ जुमनु र अनिलले नेपाली राष्ट्रिय टिमका लागि धेरै अवसर पाए, त्यहीं सन्तोषले भने पाएनन् । तर, एउटा तथ्य के निश्चित छ भने यिनै दुई खेलाडीको तुलनामा सन्तोष घरेलु फुटबलमा भने निकै प्रभावशाली रहे । हामीसँग ठ्याक्कै तथ्यांक छैन, किनभने नेपाली खेलकुदमा इतिहास राख्ने काम खासै हुँदैन । तर एउटा तथ्य के स्पष्टसँग दाबी गर्न सकिन्छ भने उनी घरेलु नेपाली फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पक्कै पनि सबैभन्दा अगाडि छन्, सम्भवत: उनले ३ सयको हाराहारीमा गोल गरिसकेका छन् ।
सके, त्योभन्दा पनि बढी । त्यसमध्ये एकतिहाइ त लिगमै भयो । यसपल्टको लिगमै हो, उनले आफ्नो सय गोल पूरा गरेको । उनले यो कोसेढुंगा के हात पारे, स्वाभाविक रूपमा सबैको ध्यान उनमै केन्द्रित भयो । पुलिसविरुद्धको खेलमा उनले दुई गोल गरे र यो पाँचौं चरणको खेल थियो । त्यसमध्ये पहिलो गोलसँगै उनले आफ्नो सय गोल पूरा गरे भने त्यसपछि आफ्नो गोल संख्यालाई १ सय १ पुर्याए । पुलिसविरुद्धको त्यो सयौं ऐतिहासिक गोल १८ औं मिनेटमा सम्भव भएको थियो ।
सन्तोषले आफ्नो खेलजीवनमा सबैभन्दा बढी थ्रीस्टारका लागि खेले, त्यसपछि च्यासल नै भयो । त्यसबाहेक उनले एपीएफ र मनाङ–मस्र्याङ्दीका लागि पनि खेले । संयोगले उनी आफ्नो प्रतिद्वन्द्वी पुलिस हुनुपर्छ, गोल गरिहाल्छन् । यसपल्ट पनि यस्तै भयो, लगातार दुई खेलमा गोल गर्न चुकेपछि पुलिसविरुद्ध सजिलै गोल गरे । पुलिसविरुद्ध सबैभन्दा बढी गोल गर्नेमा उनी नै अगाडि छन् । सन्तोषविरुद्ध खेलेका र अहिले पुलिसका प्रशिक्षक भइसकेका अनन्त थापाले पनि खेलपछि माने, सय गोलको उपलब्धि ख्याल–ठट्टा गर्न लायक होइन ।
अनन्तकै भाषामा यो अद्वितीय छ । सन्तोषको यो उपलब्धिलाई हेर्ने दुई दृष्टिकोण छन् । पहिलो त भयो, उनको खेलप्रतिको लगाव र त्यसका लागि उनले गरेको मेहनत । जति बेला उनले भर्खर–भर्खर फुटबल खेल्न सुरु गरेका थिए, त्यति बेला उनी ‘टिनएज’ को मध्य समयबाट गुज्रिरहेका थिए । स्कुल सकेर ड्ेरसमै दशरथ रंगशालामा आउने गर्थे र थ्रीस्टारका लागि मैदानमा उत्रन्थे । त्यो समय नेपाली घरेलु फुटबलमा थ्रीस्टारको पुनरोदयको काल थियो र यसमा सन्तोषको राम्रै योगदान छ ।
सुरेन्द्र तामाङ र सन्तोषको फरवार्ड जोडी खुबै घातक सावित भएको समय थियो । त्यसयता उनले लगातार खेलिरहे । एक प्रकारले जुमनु हराइसके, अनिल पनि सुस्ताइसके, तर सन्तोषको प्रभाव अझै उत्तिकै छ । अझ सन्तोषकै भनाइ मान्ने भने हो त उनी आजभोलि पहिलेको तुलनामा बढी फिट छन्, उत्तिकै अनुशासित जीवन पनि बिताइरहेका छन् । भनिन्छ, सुरुवाती दिनमा उनी आफ्नो खेललाई लिएर खुबै हेलचेक्र्याइँ गर्थे ।
आफूलाई चित्त बुझेन भने जानाजान राम्रो खेल्न छाड्थे । उनको व्यक्तिगत जीवन पनि व्यवस्थित थिएन, के खानुपर्छ र खेलाडीले के गर्नुपर्छ र के गर्नु हुँदैन, त्यो उनलाई हेक्का थिएन् । त्यही बेला उनी आफ्नो खेल जीवनलाई लिएर गम्भीर र व्यवस्थित हुन्थे त उनको नाममा अझ बढी गोल हुन्थ्यो, त्यो निश्चितजस्तै छ । जापान गएयता भने उनले एउटा फुटबल खेलाडीको जीवन कस्तो हुनुपर्छ, त्यो सबै बुझे र त्यसअनुसार काम पनि गरे ।
उनी जापानमा काम पनि गर्छन्, फुटबल पनि खेल्छन् । अचेल उनी खालि फुटबलमा मात्र ध्यान दिन्छन् । उनलाई आजभोलि यी सबै तथ्यको राम्रो हेक्का छ, कति बेला उठ्ने र सुत्ने, कस्तो खाने र कस्तो नखाने । खाने पनि कति खाने र कस्तो सम्मिश्रण बनाएर खाने । यसलाई डाइट प्लान भनौं अनि समयमै अभ्यासका लागि मैदान पुग्ने । मैदानमा पुग्न ढिला गरेर कुनै बहाना पनि नबनाउने । अब त उनको योजना नै छ, यी सबै आफूले सिकेका पाठ आफूभन्दा जुनियर र नयाँ खेलाडी भाइहरूलाई सिकाउने ।
सन्तोष अचेल हाकाहाकी भन्छन्, ‘फुटबल खेलाडी हुने हो भने यसमा गम्भीर बन, होइन भने अरू नै पेसा रोजे राम्रो । यसपल्टको लिगमा सबैभन्दा बढी अनुभव गरिएको तथ्य के हो भने नेपाली खेलकुदमा स्ट्राइकरको ठूलो अभाव छ । लिगमा गोल नै भइरहेका छैनन् र गोल गर्ने सक्ने खेलाडीको ठ्याक्कै अभाव देखिन्छ । यसलाई नेपाली फुटबलले सामना गरेको सबैभन्दा ठूलो समस्या WW भने हुन्छ ।
यसै पृष्ठभूमिमा यसपल्टको लिगमा अहिलेसम्म सबैभन्दा सफल स्ट्राइकर अरू कोही होइन, यिनै सन्तोष हुन् । उनले ५ गोल गरिसके । सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा छन् । एक त सन्तोषको खेलजीवन अन्त्यतिर पुगिसकेको छ, उनी जापानमा काम पनि गर्छन् र फुटबल खेल्छन्, त्यो पनि निकै तल्लो डिभिजनमा ।
यिनै खेलाडी फरवार्डमा खेल्नेमध्ये सबैभन्दा राम्रा देखिएका छन् । यसमा दु:ख मान्ने कि सन्तोषलाई प्रशंसा मात्र गरिरहने ? सन्तोष पनि भन्छन्, यो त राम्रो होइन, उनलाई पनि खुसी हुनेछ, यदि नेपाली फुटबलमा राम्रा–राम्रा फरवार्ड निस्कने हो भने । अनि सन्तोष के पनि मान्छन् भने नयाँ र युवा खेलाडीले उनको सय गोलको उपलब्धिलाई उछिन्न प्रयास गर्छ भने त्यसले पनि अन्तत: नेपाली फुटबललाई फाइदा गर्नेछ । सन्तोषले नेपाली फुटबलमा कोरेको चुनौती यही हो ।