साप्ताहिक संवाददाता
२०६४ सालमा पहिलो पटक सुदूरपश्चिमको महिला भलिबल टिममा खेलाडी नपुगेपछि सरस्वती चौधरी गणतान्त्रिक राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न काठमाडौं आइन् । कैलाली धनगढी प्रगतिटोलकी सरस्वती त्यही प्रतियोगितामा भलिबल प्रशिक्षक बलराम क्षेत्रीको आँखामा परिन् । ६ फिट १ इन्च अग्ली सरस्वतीमा सम्भावना देखेपछि प्रशिक्षक क्षेत्रीले पोखराको फिस्टेल एकेडेमीमा पढ्ने र भलिबल खेल्ने व्यवस्था गरिदिए । फिस्टेलको टिमबाट उनले पाँच वर्ष भलिबल खेलिन्, पढाइ पनि सँगसँगै अगाडि बढाइन् । २०७० सालमा सरस्वतीमाथि एपीएफको विभागीय टिमको नजर पर्यो । त्यहीं उनको खेल कौशल तिखारियो । राष्ट्रिय महिला टिमबाट ओपन स्पाइकरको भूमिकामा खेल्ने २४ वर्षीया सरस्वती विभागीय टिम एपीएफबाट भलिबल खेल्छिन् । हालै सम्पन्न न्यू डायमण्ड महिला भलिबल प्रतियोगितामा एपीएफलाई च्याम्पियन बनाउन उनको महत्त्वपूर्ण भूमिका रह्यो । उनी सर्वोत्कृष्ट खेलाडीका साथै प्रतियोगिताको उत्कृष्ट सर्भर समेत घोषित भइन् । सरस्वतीसँग साप्ताहिकका जनक तिमिल्सिनाको जम्काभेटमा भएको कुराकानी :
न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुनुभयो, कस्तो अनुभव भइरहेको छ ?
एकदमै खुसी लाग्यो । पहिलो कुरा त व्यक्तिगत एवार्डभन्दा पनि टिम निरन्तर च्याम्पियन बन्न सफल रह्यो । बेस्ट प्लेयर र वेस्ट सर्भरको एवार्ड पाउँदा अझ धेरै खुसी लाग्यो ।
भलिबलमा कसरी आउनुभयो ?
पहिले खेलकुदमा रुचि थिएन । परिवारका कोही खेलकुदमा थिएनन् । ०६४ सालमा सुदूरपश्चिमाञ्चलबाट खेल्ने खेलाडी नपुगेपछि विष्णु चौधरी दाइले मेरो हाइट देख्नुभयो । उहाँले नै ‘तिमी भलिबल खेल, तिम्रो हाइट पनि राम्रो छ, राम्रो खेल्न सक्छौं’ भनेर ममा खेल्ने आँट भरिदिनुभयो । एक हप्ताको प्रशिक्षण गरेपछि म गणतान्त्रिक राष्ट्रिय खेलकुद खेल्न आएँ ।
भलिबल खेल्ने निर्णयमा परिवारको समर्थन थियो ?
सुरुमा भलिबल खेल्न मलाई नै रुचि थिएन । विष्णु दाइले नै मेरो परिवारलाई पनि कन्भिन्स गर्नुभएको हो । उहाँहरूले छोरीलाई राम्रो हुन्छ भने ठीकै छ भनेर पठाउनुभयो । बुवाआमाको त्यो निर्णयले अहिले म नेपालको राष्ट्रिय खेलाडी बन्न पाएँ, एकदमै खुसी लाग्छ । अहिले झन् राम्रो गर्नुपर्छ भन्ने लाग्न थालेको छ । बुवाआमा मेरो खेलबाट गौरव महसुस गर्नुहुन्छ ।
माल्दिभ्समा भलिबल लिग खेलेर आउनुभयो । त्यहाँको अनुभव कस्तो रह्यो ?
पहिलेदेखि नै माल्दिभ्समा लिग खेल्न मलाई बोलाउनुहुन्थ्यो । तर, कहिले परीक्षा पथ्र्यो, कहिले नेपालमै आन्तरिक टुर्नामेन्टहरूमा व्यस्त भइरहेकी हुन्थें । त्यही कारण जान पाएकी थिइनँ, यस पटक पहिलो पटक माल्दिभ्समा लिग खेल्ने अवसर जुर्यो । हाम्रो टिम लिगमा तेस्रो भए पनि त्यहाँ मैले व्यक्तिगत रूपमा राम्रो अनुभव बटुल्ने अवसर पाए ।
विदेशी लिगहरूमा के फरक हुँदो रहेछ ?
राष्ट्रिय टिमहरूको तुलना गर्ने हो भने माल्दिभ्सको भन्दा नेपालको टिम बलियो छ । लिगमा विदेशी खेलाडीहरू एक–दुई जनाले खेलिरहेका हुन्छन् । त्यसैले उनीहरूको स्पाइक, डिफेन्सका साथै टेक्निकहरू पनि फरक हुन्छ । बाहिर गएर खेल्दा त्यहाँबाट राम्रो प्लेयरहरूको टेक्निक सिक्ने अवसर मिल्छ । हामी थाइल्यान्डमा खेलेर फर्कियौं, माल्दिभ्समा लिग पनि खेलेर आएँ । त्यहाँको राम्रो पक्ष स्कुलको जुनियर तहदेखि भलिबल खेलाइन्छ, सिकाइन्छ । त्यसैले उनीहरू सेकेन्डरी लेभलमै राम्रो भइसकेका हुन्छन् । प्राय: त्यहाँ इन्डोर मात्रै भलिबल खेलिन्छ । तर, हामी बाहिरै प्रशिक्षण गर्छौं, त्यसैले अन्तर्राष्ट्रिय प्रतियोगिता इन्डोरमा खेल्दा कहिलेकाहीं गाह्रो पर्छ ।
साग महिला भलिबलमा रजत पदक जित्नुभयो । दोस्रो हुनेलाई पुरस्कार घोषणा भएको छैन । कसरी हेरिरहनुभएको छ ?
पुरस्कार घोषणा हुँदा हामीलाई ठूलो आशा थियो । हामीले के प्राइज पाउँला भनेर उत्साहित थियौं । अहिले पनि हामीलाई दिने प्राइजको अन्योलता नै छ । तर, सिंगल गेम्सका खेलाडीहरूलाई दिइएजस्तै हामी सामूहिक गेम्सका खेलाडीलाई पनि पुरस्कार दिए अझ राम्रो हुन्थ्यो । किनभने खेलाडीहरूको उस्तै इफोर्ट हुन्छ, भलिबल खेल्दा ६ जनाकै बराबर इफोर्ट हुन्छ । सिंगल र टिम गेम्सको पुरस्कार राशि बराबर गरिदिए हुन्थ्यो ।
भलिबलको विकासका लागि भएका सरकारी प्रयास पर्याप्त छन् ?
पहिलाको तुलनामा हाम्रो भलिबलको स्तर इम्प्रुभ भएको छ । भलिबलमा राम्रो इम्प्रुभमेन्ट देखिन थालेको छ । सागलाई हामीले म्याच एक्स्पोजरका लागि थाइल्यान्ड गएर प्रशिक्षण गर्यौ । बंगलादेशमा भएको सेन्ट्रल जोन जितेपछि हामीमा झन आत्मविश्वास बढ्यो । अबका दिनमा अझै धेरै फ्रेन्ड्ली म्याच खेल्न पाए भारतलाई पनि जित्छौं जस्तो लाग्छ । भारतलाई हराउने मात्र होइन, एसियन गेम्समा पनि हामी राम्रो नतिजा ल्याउँथ्यौं । अब राम्रा खेलाडीहरू राइज गर्नका लागि राज्यले स्कुल तहदेखि नै भलिबललाई प्राथमिकतामा राखेर योजनाहरू बनाउनुपर्छ ।
क्रिकेटमा अहिले धेरै लिगहरू भइरहेका हुन्छन्, तर भलिबलमा त्यति धेरै देखिँदैन् नि ?
हो, त्यस्ता घरेलु लिगहरू भएका भए नयाँ खेलाडीहरू अझ धेरै जन्मिन्थे । भलिबलको क्रेज पनि बढ्थ्यो । यसबाहेक फुटबल र क्रिकेटमा राष्ट्रिय खेलाडीहरूको निश्चित तलबको व्यवस्था छ । भलिबलमा राष्ट्रिय खेलाडीहरूको हकमा पनि त्यो गरेको भए हुन्थ्यो । अहिले नेपालमा भलिबल खेलाडीहरू करिअरका हिसाबले पनि विभागीय क्लबहरूलाई रोज्छन् । बाहिरका क्लबहरूबाट खेल्दा भलिबल खेललाई नै करिअरका रूपमा अगाडि बढाउन गाह्रो छ । त्यसको असर खेलाडीको प्रशिक्षण र डाइटजस्ता कुराहरूमा पर्छ, जसको अभावमा राम्रो सम्भावना भएका प्लेयर पनि हराउँदै जान्छन् । त्यसैले भलिबलमा पनि राष्ट्रिय खेलाडीलाई तलबको व्यवस्था गरेमा त्यसले परिणाम राम्रो ल्याउन टेवा पुर्याउँछ ।
भलिबल राष्ट्रिय खेल पनि हो । यसले आफ्नो गौरव जोगाइरहेको देख्नुहुन्छ ?
भलिबललाई राष्ट्रिय खेल बनाएदेखि सबै भलिबल खेलाडी खुसी भएका छन् । राष्ट्रिय खेललाई कसरी अगाडि बढाउने भन्ने विषयमा संघले पनि सोचिरहेको छ । खेलाडीहरूमा पनि यसले छुट्टै जोस थपेको छ । सेन्ट्रल जोनमा च्याम्पियन भयौं, सागमा रजत जित्यौं । दर्शकको पोजेटिभ प्रतिक्रिया र साथले थप उत्साहित बनाएको छ ।
राष्ट्रिय भलिबल टिमलाई सुन्दरीहरूको टिम पनि भनिन्छ नि ?
यसोभन्दा एकदमै खुसी लाग्छ । भलिबल खेलाडीसँगै सौन्दर्यको पनि प्रशंसा गर्नुहुन्छ, त्यसले खेलाडीका रूपमा भन्दा हामीमा थप उत्साह भर्ने काम गर्छ ।
तपाईंलाई खेल्न मन पर्ने भूमिकाचाहिँ के हो ?
मलाई ब्लक गर्न एकदमै मन पर्छ । पहिले आफ्नो क्विक स्पाइकिङ एकदमै मन पथ्र्यो । त्यसपछि अहिलेसम्म मलाई आफूले हानेको केही पनि मन पर्दैन । हाइटका कारणले पनि होला, ब्लक गर्न भने एकदमै रमाइलो लाग्छ ।
सामाजिक सन्जालतिर फ्यानहरूले कत्तिको पछ्याउँछन् ?
फेसबुकतिर उत्साह भर्ने खालका कमेन्टहरू आइरहेका हुन्छन् । त्यसले प्रेरणा भर्ने काम गरिरहेको हुन्छ, खुसी हुन्छु ।
भलिबल खेलाडीहरूका समस्या के देख्नुहुन्छ ?
हामीले अन्तर्राष्ट्रिय टुर्नामेन्टका लागि वर्षभरि नै प्रशिक्षण गरिरहेका हुन्छौं । अस्ति–अस्तिसम्म अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेल्न पाइँदैन्थ्यो । पछिल्लो केही समय हामीले दुईवटा अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेल्न पायौं । यस्तै अझै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर जुराइदिएमा हाम्रो एक्स्पोजर पनि राम्रो हुन्थ्यो जस्तो लाग्छ । सधैं क्लबबाट मात्रै खेलेर हुँदैन, अन्तर्राष्ट्रिय स्तरमा पनि देशको राम्रो छाप बनाउनुपर्छ ।
अब के गर्ने योजनामा हुनुहुन्छ ?
खेल्न सकुन्जेल राम्रो खेल्ने योजनामा छु । पढाइलाई पनि सँगसँगै अगाडि बढाइरहेकी छु ।