साप्ताहिक संवाददाता
बलिउड चलचित्र ‘कविर सिंह’ सर्वाधिक कमाई गर्ने बलिउड चलचित्र बन्यो । यो चलचित्रलाई बलिउड फ्यानहरुले निकै रुचाए । नेपालमा मात्रै यो चलचित्रले १५ करोडमाथीको कलेक्सन गरेको बुझिएको छ । संसारभर साढे ३ सय करोडको कमाई गर्न सफल भयो ।
दक्षिण भारतमा ‘अर्जुन रेड्डी’को नाममा बनेको चलचित्र बलिउडमा ‘कविर सिंह’को नाममा रिमेक गरिएको थियो । भारतभर तहल्का पिटेको यो चलचित्रमा अब नेपालमा पनि बन्ने भएको छ ।
नेपालको युवा फिल्मसले यो चलचित्र बनाउने प्रतिलिपि अधिकार लिएको छ । युवा फिल्मसले यसअघि अमेरिकामा बस्ने ३ युवाको जीवनमा आधारित चलचित्र ‘सफर’ बनाएको थियो । यतिबेला चलचित्र निर्माणको काम सुरु भइसकेको निर्माण पक्षले जानकारी दिएको छ । यो चलचित्रको नेपाली नाम के राख्ने ? कहिले देखि छायांकनमा जाने ? को–को कलाकारले काम गर्ने भन्ने विषयको जानकारी निर्माण टिमले दिएको छैन । तर, हालै एक अति गोप्य स्रोतले अभिनेता शाहिद कपुरको भुमिकामा अभिनेता आर्यन सिग्देल फाइनल भएको जनाएको छ । नाम नखुलाउने सर्तमा उनले भने, ‘यो चलचित्रका लागी आर्यन जस्तो भरपर्दो अभिनेता अरु कोहि छैन, सोहि कारण उनी फाइनल भएका हुन् ।’
चलचित्र बजारमा समेत आर्यनको नाम चर्चामा रहेकाले उनी नै मुख्य भुमिकामा काम गर्ने पक्का भएको महशुस गर्न सकिन्छ । तर, यस विषयमा अभिनेता आर्यनले केहि खुलाएका छैनन् ।
यसअघि यो चलचित्रमा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी काम गर्ने जानकारी आएको थियो । तर, अहिले हरिहर ज्योतिष पेशामै व्यस्त छन् । उनी निकट स्रोतले भने उनी एक चलचित्रको स्क्रिप्टको काममा व्यस्त भएको जनाएको छ ।