साप्ताहिक संवाददाता
सरकारले आवश्यकताअनुसार दरबन्दी नखुलाउँदा बरोजगारीको समस्या बढेको देखिन्छ । नर्सहरू विदेश पलायन हुने समस्या अहिलेको अवस्थामा विकराल बनेको छ । बिएस्सी, बिएन/बिएनएसका विद्यार्थीहरू विदेश नै जानका लागि पढिरहेका छन् ।
मनकुमारी राई, अध्यक्ष, नेपाल नर्सिङ संघ
एकातर्फ नर्सहरू बेरोजगार छन् अर्कोतर्फ स्वास्थ्य संस्थाहरूमा नर्सहरूको अभाव उत्तिकै छ । यस्तो किन भइरहेको छ ?
अस्पतालहरूमा रहेको बेडको संख्याको आधारमा दरबन्दी राख्नुपर्ने हो । बेड संख्याको आधारमा दरबन्दी छैन । जसले गर्दा नर्स–पेसेन्ट रेसियो मिलेको छैन । एक जना नर्सले तीन जनासम्म बिरामी हेर्नुपर्नेमा ५० जनासम्म हेर्नुपर्ने बाध्यता छ । यसले गर्दा एकातर्फ नर्सको कामको चाप बढेको छ भने अर्कोतर्फ उत्पादित नर्स बेरोजगार हुने अवस्था सिर्जना भएको छ । कुन खालको अस्पतालमा कति जना नर्स चाहिने हो, एउटा नर्सले कति जना बिरामीको सेवा गर्ने हो भन्ने विषयमा बनेका नीति–नियम जोडतोडका साथ कार्यान्वयनमा ल्याउनुपर्छ । यी सबै कुरा आर्थिक पक्षसँग नै जोडिन्छन् । सरकारले बजेटको अभावमा र निजी स्वास्थ्य संस्थाले धेरै आम्दानी गर्ने लोभमा कम नर्सहरूबाटै काम चलाइरहेका छन् ।
नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षामा पास हुने नर्सहरूको संख्या अत्यन्त न्यून छ । पछिल्लो समय ५२ प्रतिशत नर्समात्र पास भएका थिए । किन होला ?
यो गुणस्तरीयतामा भरपर्ने कुरा हो । विद्यार्थीले हासिल गरेको व्यावहारिक ज्ञान, पढाउने शिक्षकहरूको मार्गनिर्देशन, धेरै कलेजहरू तर प्रयोगात्मक शिक्षाका लागि उपलब्ध हुने थोरै स्थान आदिका कारण विद्यार्थीको गुणस्तर कम भएको हुनसक्छ । प्रश्नहरू प्रयोगात्मक शिक्षामा आधारित हुन्छन् । उदाहरणका लागि, सुई लगाउँदा के–कस्ता कुरामा ध्यान दिने भन्ने विषय पहिला सैद्धान्तिक रूपमा विद्यार्थीलाई पढाइन्छ र त्यस कुरालाई व्यावहारिक रूपमा पनि सिकाइन्छ । प्रश्न यसकै आधारमा बनाउने हो । विद्यार्थीले सैद्धान्तिक ज्ञान कत्तिको लियो र त्यसलाई व्यवहारमा उतार्न सक्यो कि सकेन भन्ने विषय यससँग जोडिन्छ भन्ने मलाई लाग्छ ।
वर्तमान अवस्थामा नर्सिङ क्षेत्रमा देखिएका मुख्य समस्याहरू के–के हुन् ?
सबैभन्दा महत्वपूर्ण त नर्सहरूको पारिश्रमिक नै हो । निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पाइरहेका छैनन् । धेरै नर्सहरूको गुनासोहरू पनि आएका छन् । पाँच हजारसम्म पारिश्रमिक लिएर काम गरिरहेको अवस्थाबारे पनि सुनिएको छ । नर्सहरूबाट कम्प्लेन आएर नर्सिङ संघको टोली भिजिटमा जाँदा धेरै रकम लिएको कागजमा सही गरेको तर त्योभन्दा धेरै कम पाएको अवस्था पनि भेटिएको थियो । अर्को समस्या भनेको बेरोजगारी हो । सरकारले आवश्यकताअनुसार दरबन्दी नखुलाउँदा यो समस्या बढेको देखिन्छ । नर्सहरू विदेश पलायन हुने समस्या अहिलेको अवस्थामा विकराल बनेको छ । बिएस्सी, बिएन/बिएनएसका विद्यार्थीहरू विदेश नै जानका लागि पढिरहेका छन् । नर्सहरूको विदेशप्रतिको मोह र देशमा अवसरको कमीका कारण भविष्यमा हामीसामु ठूलै चुनौती आउने हो कि भन्ने प्रश्न पनि खडा भएको छ ।
कहिले नर्सहरूले आत्मदाह गर्ने चेतावनी दिनुपर्ने त कहिले आमरण अनशनमा बस्नुपर्ने बाध्यता छ । यसको मुख्य कारण के होला ?
सामान्य रूपमा हेर्दा यो विरोधको एउटा शैली हो । तर, विरोध त्यत्तिकै गरिएको भने होइन । नर्सहरूले नैतिकताको लडाइँ लडेर हारिसकेपछि यस्तो समस्या आएको हो भन्ने मलाई लाग्छ । नर्सहरूसँग सम्बन्धित निकायहरू शिक्षा, स्वास्थ्य र श्रम मन्त्रालयले नर्सहरूको सवालमा देखिएका समस्याहरूको गहिरो अध्ययन गरेर त्यसको समाधानका लागि पहल गर्ने हो भने यस्तो अवस्था आउने थिएन । कहिलेकाहीँ समस्या गहिरिँदै जाने तर समस्या राख्ने व्यक्ति र समाधान गर्ने व्यक्ति दुवै बीचमा समझदारी हुन नसक्दा पनि यस्तो अवस्था आउँछ । समस्याको सम्बोधन गरेर तत्कालै समाधानको बाटोमा जाने हो भने यस्तो समस्या आउँदैन भन्ने मलाई लाग्छ ।
मेडिकल कलेजका विद्यार्थीले शुल्कको विषयलाई लिएर पटक–पटक आन्दोलन गर्दे आइरहेका छन् नि ?
यसै कात्तिकमा शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले संयुक्त विज्ञप्ति निकालेर शुल्क निर्धारण गरेको छ । तर, विद्यार्थीहरूले बढी शुल्क लिएको कुरा पटक–पटक उठी नै रहेको छ । मेडिकल कलेजहरूपिच्छे एउटै विषयमा लिइने शुल्क पनि फरक–फरक छ । यसमा एकरूपता हुन आवश्यक छ । अर्को कुरा आफ्नै अस्पताल भएका मेडिकल कलेज र नभएका मेडिकल कलेजले लिने शुल्क एउटै छ । अस्पताल हुनेहरूलाई त आर्थिक भार कम पर्छ नि । यो विषयलाई सम्बन्धित निकायहरूबीच समझदारी कायम गर्ने र सरकारले निर्धारण गरेको शुल्कको आधारमा मेडिकल कलेजहरू सञ्चालित छन् वा छैनन् भन्नेबारे निरीक्षण गरेर नियमभन्दा बाहिर जानेलाई कारबाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।
डाक्टरहरूबाट नर्स यौन शोषणमा परेका घटनाहरू बाहिर आउँदा–आउँदै पनि दबाइन्छन् । नर्सहरू शोषणका विषयमा खुल्न किन चाहँदैनन् ?
यस्तो शोषण सधैं हुने कुरा होइन । कहिलेकाहीँ हुन्छ । शोषण हरेक क्षेत्रमा हुन्छ । सबै डाक्टर एउटै हुँदैनन् । कहिलेकाहीँ डाक्टरबाट गल्ती भइहाले पनि नर्सहरू खुलेर आवाज उठाउँदैनन् । सकेसम्म नर्सहरू आफू नै सुरक्षित हुनुपर्छ । यति हुँदाहुँदै यदि कसैले शोषण गरेको छ भने त्यसविरुद्ध आवाज उठाउनुपर्छ । मिडियामा या बाहिर कुरा ल्याउन गाह्रो भएको खण्डमा साथीहरू, आफूभन्दा सिनियरहरूसँग सेयर गर्दा पनि हुन्छ ।