साप्ताहिक संवाददाता
जुकरबर्गले १९ वर्षको उमेरमा अध्ययनको क्रममा बनाएको फेसबुक सबैभन्दा ठूलो सामाजिक मिडिया प्लेटफर्मको रूपमा चिनिन्छ । फेसबुकका कारणले नै उनले २३ वर्षको उमेरमा नै विश्वको सबैभन्दा कान्छो अर्बपतिका रूपमा परिचयसमेत बनाएका थिए ।
२१ औं शताब्दीलाई सूचना तथा प्रविधिको युगका रूपमा बुझिन्छ । जसलाई यो रूपमा बुझाउन सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने आइटी कम्पनीहरूले मुख्य भूमिका खेल्नुका साथै अतुलनीय योगदान दिएका छन् । आज संसारलाई ग्लोबल भिलेजका रूपमा प्रस्तुत गर्न यिनै आइटी कम्पनीहरूकै हात छ, जसलाई हाक्ने काम कम्पनीको सीईओहरूबाट हुन्छ । विश्वभर छाइरहेका आइटी कम्पनीका सीईओहरू कस्ता छन् त ? जानौ विश्वका टप आइटी कम्पनीका सीईओहरूका बारेमा :
सुन्दर पिचाइ (गुगल)
सुन्दर पिचाइ विश्वका प्रभावशाली आईटी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमध्ये एक हुन । ४७ वर्षीय पिचाइ सन् १९७२ मा भारतको तमिलनाडुमा जन्मिएका थिए । एमबीए सम्मको अध्ययन गरेका पिचाइ एक आईटी इन्जिनियर हुन् । सन् २००४ मा व्यवस्थापन कार्यकारी प्रमुखका रूपमा गुगलमा प्रवेश गरेका पिचाइ गुगलको प्रोडक्ट चिफ हुँदै सन् २०१५ मा गुगलको प्रमुख कार्यकारी अधिकृत बन्न सफल भए । पिचाइले गुगललाई माथि उठाउनका लागि कम्पनीको व्यवस्थापनका लागि परामर्शसम्बन्धी काम गरे । उनले गुगलको गुगल क्रोम, गुगल ड्राइभ, जिमेल तथा गुगल नक्सा क्रोम ओएसलगायत अन्य सफ्टवेयर उत्पादनका लागि मुख्य भूमिका खेलेका छन् । उनी सन् २०१९ को डिसेम्बरमा गुगलको अर्को कम्पनी अल्फाबेटको प्रमुख बने । अल्फाबेटको पनि प्रमुख बनेसँगै पिचाइको वार्षिक तलबमा २ मिलियन अमेरिकी डलर वृद्धि भएको छ । योसँगै हाल पिचाइको यी दुई कम्पनीको तलब जोडेर २ सय ४२ मिलियन अमेरिकी डलर पुगेको छ ।
मार्क जुकरबर्ग (फेसबुक)
जुकरबर्गले बनाएको फेसबुक सामाजिक सञ्जालको सबैभन्दा ठूलो कम्पनी हो । उनले १९ वर्षको उमेरमा सन् २००४ मा हार्वर्ड विश्वविद्यालयमा अध्ययनको क्रममा बनाएको फेसबुक एप्लिकेसन अहिले सामाजिक मिडिया प्लेटफर्मको रूपमा चिनिन्छ । ३५ वर्षीय यी अर्बपति सन् १९८४ मे १४ मा अमेरिकाको न्युयोर्कमा जन्मिएका थिए । जकरबर्गले सन् २०१२ मा आफ्नो बहुमत सेयरका साथ फेसबुकलाई नै कम्पनीका रूपमा सार्वजनिक गरेका थिए । फेसबुकका कारणले नै उनले २३ वर्षको उमेरमा नै विश्वको सबैभन्दा कान्छो अर्बपतिका रूपमा परिचयसमेत बनाएका थिए । अहिले संसारभर यसको प्रयोगकर्ता ५ अर्ब छन् । त्यस्तै सामाजिक सञ्जालका एप इन्टाग्राम र ह्वाट्स एप पनि फेसबुकको स्वामित्वमा छन् । सन् २०१९ को डिसेम्बर महिनामा गरिएको अनुमानअनुसार उनीसँग हाल ७४ बिलियन अमेरिकी डलरबराबरको सम्पति छ । यो सम्पत्तिसँगै उनी अहिले विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा ४ औं स्थानमा छन् ।
सत्य नाडेला (माइक्रोसफ्ट)
नाडेला चर्चित सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी भारतीय अमेरिकी व्यापारिक कार्यकारी हुन् । नाडेला सन् १९६७ मा भारतको हैदराबादमा जन्मिएका थिए । नाडेला सन् २०१४ मा माइक्रोसफ्टको सीईओमा नियुक्त भएका थिए । त्यसबेलादेखि उनले कम्पनीको स्टक १ सय ८२ प्रतिशतले बढाएका छन् । माइक्रोसफ्टको मुख्य कार्यकारी अधिकृत हुनुपूर्व उनी माइक्रोसफ्टको क्लाउड एन्ड इन्टरप्राइज समूहमा कार्यकारी उपाध्यक्षका रूपमा काम गर्थे । उनी सन् १९९२ मा यसको टेक्नोलोजी स्टाफका रूपमा प्रवेश गरेका थिए । माइक्रोसफ्टका यी सीईओले आर्थिक वर्ष २०१९ मा ४२ दशमलव ९ अमेरिकी मिलियन डलर रुपैयाँ आम्दानी गरेका थिए । ५२ वर्षीय नाडेलासँग अहिले २ सय मिलियन अमेरिकी डलर सम्पत्ति छ । उनी वार्षिक ४० मिलियन अमेरिकी डलर तलब रहेको छ ।
ली कुन ही (सामसङ)
ली कुन ही दक्षिण कोरियाली व्यापारी तथा सामसङ गु्रपको अध्यक्ष हुन् । उनी सामसङका संस्थापक ली ब्युङ चुलका तेस्रो छोरा हुन् । अहिले ७८ वर्षमा हिँडिरहेका कुन ही २६ वर्षको उमेरमा सामसङको अध्यक्षको जिम्मेवारीका साथ प्रवेश गरेका थिए । लीले आफ्नो मार्गनिर्देशनमा यो कम्पनीलाई प्रमुख अन्तर्राष्ट्रिय क्षमता भएको आईटी कम्पनी तथा विश्वव्यापी रूपमा प्रख्यात ब्रान्ड भएको कम्पनीको रूपमा रूपान्तरण गरेका छन् । एन्ड्रोइड फोनहरूमध्ये अग्रणी कम्पनीका रूपमा रहेको यो कम्पनीमा विश्वभर ३ लाख ८ हजार ७ सय ४५ जना कामदार छन् । सामसङ कम्पनीले स्मार्टफोनसँगै अन्य इलोक्ट्रोनिक्स सामानहरू पनि निर्माण गर्दै आएको यो कम्पनीका अध्यक्षसँग फोब्स पत्रिकामा ली कोरियाको सबैभन्दा धनी व्यक्तिको रूपमा छन् भने विश्वभर सर्वाधिक धनी व्यक्तिहरूमध्ये ६५ औं स्थानमा छन् । त्यस्तै ली सन् २०१७ मा टेक्नोलोजी कम्पनीहरूका सञ्चालकहरूमध्ये विश्वभर गरिएको सर्भेमा १४ औं स्थानमा परेका थिए । स्नातकसम्म मात्र अध्ययन गरेको यी अर्बपतिसँग २० दशमलव ६ बिलियन अमेरिकी डलर सम्पत्ति छ ।
जेफ बेजोस (अमेजोन डटकम)
जेफ बेजोस अमेरिकी प्रविधि उद्यमी तथा ई–कमर्स अमेजोन डटकमका संस्थापक हुन् । यो अनलाइनबाट सपिङ गर्न मिल्ने कम्पनी हो । बेजोसले सुरुमा आफ्नो ग्यारेजबाट अनलाइन पुस्तकहरू बेचेर यो कामको थालनी गरेका थिए । यो कार्यले सफलता पाएसँगै बिस्तारै उनले आफ्नो अनलाइन पोर्टलमा कपडा, सिडी, खेलौना, गहना, घडीहरू, इलोक्ट्रोनिक्स समानहरू, जुत्तालगायत अन्य सामानहरू समावेश गर्दै गए । समय र प्रविधिसँगै आफ्ना सेवाहरूमा विस्तार गर्दै गएका कारण आज अमेजोन डटकम विश्वको नम्बर वान अनलाइन सपिङ पोर्टल बनेको छ । हाल ५६ वर्षमा हिँडिरहेका यी अर्बपतिसँग १ सय १६ बिलियन अमेरिकी डलरबराबरको सम्पत्ति भएको अनुमान गरिन्छ । बेजोस फोब्र्स पत्रिकाको सम्पत्ति सूचकांकमा पहिलो सेन्टी अर्बपतिका रूपमा परिचित छन् । बेजोसको सन् २०१८ मा कुल सम्पत्ति १ सय ५० बिलियन अमेरिकी डलर पुगेपछि उनी इतिहासको धनी मानिसका रूपमा पनि चिनिन्छन् ।
माइकल डेल (डेल)
माइकल डेल एक अमेरिकी अर्बपति व्यवसायी हुन् । उनी डेल टेक्नोलोजीहरूको संस्थापक तथा सीईओसमेत हुन् । उनले १९ वर्षको उमेरमा सन् १९८४ यसको सुरुवात गरेका थिए । डेल एक अमेरिकी बहुराष्ट्रिय कम्प्युटर टेक्नोलोजी कम्पनी हो, जसले कम्प्युटर र यो सम्बन्धित उत्पादनहरू, सेवाहरूको विकास, बिक्री, मर्मत गर्ने काम गर्छ । यो कम्पनी विश्वको सबैभन्दा ठूला प्राविधिक कर्पोरेसनहरूमध्ये एक ठूलो कम्पनी हो । माइकल डेलको यो कम्पनीमा संयुक्त राज्य अमेरिका तथा विश्वभर गरेर १ लाख ४५ हजारभन्दा बढी मानिस कार्यरत छन् । अक्टोबर २०१९ मा फोब्र्सले डेललाई ३१ बिलियन अमेरिकी डलर बराबरको सम्पत्तिसहित विश्वको २७ औं धनी व्यक्तिको सूचीमा राखेको थियो । ५४ वर्षीय डेलको यो कम्पनी मुख्यत व्यक्तिगत कम्प्युटरहरू, सर्भरहरू, डाटा भण्डारण उपकरणहरू, नेटवर्क स्विचहरू, सफ्टवेयर, कम्प्युटर उपकरणहरू तथा प्रिन्टरहरूका लागि प्रख्यात छ ।
डेनियल झाङ (अलिबाबा ग्रुप)
डेनियल झाङ अलिबाबा ग्रुपका सीईओ हुन् । झाङ सन् २०१९ को सेप्टेम्बर महिनादेखि प्रमुख कार्यकारी अधिकृतका रूपमा अलिबाबा गु्रपमा कार्यरत छन् । सीईओ हुनुअघि उनी अलिबाबाको स्वामित्वमा रहेका झाङ ताओबाओ र टमल्ल संस्थामा अध्यक्षका रूपमा काम गर्थे । झाङले सन् २००७ मा पहिलो पटक अलिबाबाको सहायक कम्पनी ताओबाओमा मुख्य वित्तीय अधिकृतको रूपमा प्रवेश गरेका थिए । सन् २०११ मा उनी यसको प्रमुख अपरेटिङ अफिसर भए । सन् २०१३ मा पदोन्नति हुँदै उनी अलिबाबा समूहको चिफ अपरेटिङ अफिसरमा भए भने सन् २०१९ मा अलिबाबाको प्रमुख कार्यकारी अधिकृत बन्न सफल भए । झाङ अमेरिका र चीनबीचको व्यापार युद्ध र चिनियाँ ई–कमर्स उद्योगको मन्दीको चुनौतीलाई सामना गर्न सक्ने सीईओका रूपमा परिचित छन् । ४८ वर्षीय यी अर्बपति सन् १९७२ मा चीनको साङघाईमा जन्मिएका थिए ।
टिम कुक (एप्पल)
कुक चर्चित कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृत हुन् । ५९ वर्षीय कुक एक इन्जिनियर हुन् । एप्पलका पूर्वप्रमुख स्टिभ जब्सको मृत्युपश्चात् उनले सन् २०११ को अगस्टदेखि एप्पलको मुख्य कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएका छन् । कुकले एप्पलको खस्किँदो बजारलाई माथि उकास्नका लागि मुख्य भूमिका खेलेका छन् । विशेष गरी उनको कन्सेप्टअनुसार बनेका ठूला आकारका फोनहरू आइफोन ६, आइफोन ६ प्लस, फिटनेस र स्वास्थ्य अवस्थाबारे थाहा पाउन बनाएको एप्पल वाच तथा अन्य आइफोनका नयाँ सिरिजहरू बजारमा लोकप्रिय बनेका छन् । कुक सन् २०११ मा फोब्र्स पत्रिकामा विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक भनेर घोषितसमेत भएका थिए । त्यस्तै सन् २०१२ मा द न्युयोर्क टाइम्सको एक लेखमा सबैभन्दा बढी तलब हुने सीईओका रूपमा समेत उनको चर्चा गरिएको थियो । गत वर्षको तुलनामा यो वर्ष एप्पलको बजार राम्रो नभएका कारण यो वर्ष कुकको आम्दानी खस्केको छ । उनले यो वर्ष १ सय २५ मिलियन अमेरिकी डलर बुझेका छन् ।
गिन्नी रोमेटी (आईबीएम)
इन्टरनेसनल बिजनेस मेसिन (आईबीएम) को प्रमुख कार्यकारी अधिकृत हुन् गिन्नी रोमेटी । रोमेटी एक संसारभर एक प्रतिभाशाली महिलाका साथै चर्चित सीईओका रूपमा प्रख्यात छिन् । उनीले आईबीएममा सन् १९८१ मा सिस्टम इन्जिनिएरका रुपमा प्रवेश गरेकी थिइन् । उनी सन् २०१२ को जनवरीमा सीईओ बनिन् । सीईओ बनेपछि उनले आईबीएमलाई परिवर्तन गर्दै यसको उद्यम शक्ति क्लाउड प्लेटफर्ममा वितरित एआई, ब्लाकचेन, साइबर सुरक्षा र क्वान्टम टेक्नोलोजीमा विकास गरिन् । आईबीएमले कम्प्युटर हार्डवेयर, मिडवेयर र सफ्टवेयर उत्पादन गरी बिक्री गर्ने काम गर्छ । यसले मुख्य फ्रेम कम्प्युटरदेखि नानो टेक्नोलजीसम्मका क्षेत्रहरूमा होस्टिङ र परामर्श सेवाहरू प्रदान गर्छ । आईबीएम एक प्रमुख अनुसन्धान संगठन हो जसले आईबीएमका आविष्कारहरूमा स्वचालित टेलर मेसिन (एटीएम), फ्लिपी डिस्क, हार्ड डिस्क ड्राइभ, यूपीसी, बारकोडलाई गतिशील बनाउने काम गर्छ । ६२ वर्षीया यी महिलासँग ९० मिलियन अमेरिकी डलर सम्पत्ति छ । सन् २०१९ मा उनको ३३ मिलियन अमेरिकी डलर तलब थियो ।
ल्यारी एलिसन (ओराकल)
ल्यारी एलिसन लरेन्स अमेरिकी व्यापारी, उद्यमी तथा समाजसेवी हुन् । उनी ओराकल कर्पोरेसनको कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकृत हुन् । ओराकल कर्पोरेसन एक अमेरिकी बहुराष्ट्रिय कम्प्युटर टेक्नोलोजी कर्पोरेसन हो । यो कम्पनीले डाटाबेस सफ्टवेयर टेक्नोलोजी, क्लाउड इन्जिनियर गरिएको प्रणाली, तथा उद्यमका लागि सफ्टवेयर निर्माण गरेर बेच्ने काम गर्छ । ओराकलले विशेष गरी आफ्नै ब्रान्डका डाटा प्रणालीलाई प्रबन्ध गरेर बिक्री गर्ने काम गर्छ । राजस्व तथा बजार पुँजीकरणका काम गर्ने यो विश्वकै दोस्रो ठूलो सफ्टवेयर कम्पनी हो । एलिसनलाई फोब्र्स पत्रिकाले सन् २०१९ मा संयुक्त राज्य अमेरिकाको चौथो धनी व्यक्तिको रूपमा र विश्वभर छैटौं धनीका रूपमा सूचीबद्ध गरेको थियो । ७५ वर्षीय एलिसनसँग हाल ६९ दशमलव १ बिलियन सम्पत्ति छ । सन् २०१८ मा ५४ दशमलव ४ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको ल्यारीको कम्पनीले राम्रो नाफा गरेपछि १ वर्षमा नै १५ बिलियन रूपैयाँ बढेपछि उनको कुल सम्पत्ति ६९ दशमलव १ बिलियन अमेरिकी डलर पुगेको हो ।