साप्ताहिक संवाददाता
नयाँ पुस्ताका स्टन्ट वुमन पनि अभिनेता तथा अभिनेत्रीको स्टन्ट दृश्य देखाउन कम छैनन् । आशमा सेख पनि बलिउडमा चर्चामा आइरहने स्टन्ट वुमन हुन् ।
चलचित्र हेर्ने दर्शकले चलचित्रमा अभिनेता अभिनेत्रीको नृत्य, गीत, उनीहरूको रोमान्स, अभिनेता र भिलेनको द्वन्द्वलाई खुबै आनन्दपूर्वक हेर्ने गर्छन् । तर, उनीहरूलाई यो माहौल मिलाउन पर्दापछाडिका पात्रहरूका बारेमा उनीहरूलाई कमै थाहा हुन्छ । बलिउडमा हालका दिनमा महिलाप्रधान एक्सन चलचित्रको मात्रा बढ्दो छ । ऐतिहासिक भूमिका निर्वाह गर्दा पनि अभिनेत्रीको भागमा एउटा न एउटा द्वन्द्वको दृश्य परिरहेकै हुन्छ । बलिउडमा सन् १९६० देखि सन् २०२० सम्म अभिनेता र अभिनेत्रीलाई द्वन्द्वका स्टन्ट देखाउने काममा पुरुष मात्र होइन, महिला प्राविधिकहरू पनि उत्तिकै सक्रिय छन् ।
रेशमा पठान बलिउडकी मात्र होइन, भारतकै पहिलो स्टन्ट वुमन हुन् । उनले १४ वर्षको उमेरदेखि नै स्टन्ट यात्रा सुरु गरेकी थिइन् । स्टन्ट कलाकारका रूपमा उनले चलचित्र ‘एक खिलाडी ५२ पत्ती’बाट यात्रा सुरु गरेकी हुन् । चलचित्रमा उनले लक्ष्मी छायाको डुप्लिकेटको भूमिका निर्वाह गरेकी थिइन् । ‘शोले गर्ल’का रूपमा चिनिएकी रेश्माका बारेमा ‘शोले गर्ल’ नामक वृत्तचित्र नै बनेको छ । हाल उमेरले ६७ वर्षमा दौडिइरहेकी रेशमा अहिले पनि स्टन्ट गर्न डराउँदिनन् ।
उनले चलचित्र ‘मेरे अपने’मा राजेश खन्ना र शत्रुघ्न सिन्हाबीचको एक्सनमा झुपडीमाथि झर्ने सट दिएकी थिइन् । चलचित्र ‘शोले’को एक दृश्यमा अभिनेत्री हेमा मालिनी घोडाले तान्ने टाँगामा चढिरहँदा टाँगाको चक्का भाँचिन्छ र उनी लड्छिन् । पर्दामा हेमा लडेको देखिए पनि उनी हेमा नभई रेशमा नै हुन्छिन् । यही चलचित्रमा होली गीतपछि एउटा दृश्य छ, जहाँ हेमा बच्चालाई गब्बर सिंहबाट बचाउँछिन् । यी दुवै दृश्यमा हेमालाई दोहोरो भूमिकामा देखाइन्छ । त्यसमा एउटा भूमिका रेशमाले नै निर्वाह गरेकी छन् ।
चलचित्र ‘कर्जा’मा उनले सिम्मी अग्रवालको दोहोरो भूमिका निर्वाह गरेकी छन् । यो चलचित्रको एक दृश्यमा ट्रक पछाडि आएर हिर्काउँछ । यो एक्सन सिक्वेल गरिरहँदा रेश्माको कम्मरमा चोट लागेको थियो । यस्तै चलचित्र ‘कसमे वादे’मा उनी ४० फिट माथिबाट तल हामफालेकी छन् । जसकारण उनको खुट्टाको हड्डी फुटेको थियो । उनले चलचित्र ‘पाप पूण्य’ मा शर्मिलाको, चलचित्र ‘धर्म काँटा’ मा वहिदाको, चलचित्र ‘बगावत’ मा हेमा र रिया सेनको, ‘राज महल’ मा नीतु सिंहको दोहोरो भूमिका निर्वाह गरेकी छन् ।
नयाँ पुस्ताका स्टन्ट वुमन पनि अभिनेता तथा अभिनेत्रीको स्टन्ट दृश्य देखाउन कम छैनन् । आशमा सेख पनि बलिउडमा चर्चामा आइरहने स्टन्ट वुमन हुन् । उनले दीपिका पादुकोण अभिनीत चलचित्र ‘छपाक’, कंगना रनावतको ‘मणिकर्णिका’मा आफ्नो स्टन्ट कला देखाइसकेकी छन् । चलचित्र ‘बाजीराव मस्तानी’मा मस्तानीको तलवारबाजी र घोड सवारी वा ‘फिलौरी’ मा अनुष्का शर्माका लागि लिइएको भूतिया एक्सनको स्टन्ट दिएकी छन् । अग्ली कदकी भएकै कारण पनि आशमालाई पछिल्लो समयमा अभिनेत्रीहरूलाई एक्सन दृश्यको स्टन्ट दिन सजिलो भएको छ । त्यसैले उनी निर्माता तथा निर्देशकको नजरमा पर्न थालेकी छन् ।
चलचित्र ‘छपाक’मा अनुहारमा एसिड लागेपछि दीपिका पादुकोण भुइँमा लडेको सट खिचिएको छ । यो टेक आशमाले नै लिएकी हुन् । यतिमात्र होइन, चलचित्र ‘मणिकर्णिका’मा राखिएको कैयौं घोडसवारीको दृश्य आशमाले नै गरेकी हुन् । चलचित्र ‘बाजीराव मस्तानी’मा देखाइएको दीपिकाको तलवारबाजी पनि आशमाले नै गरेकी हुन् । चलचित्र ‘परी’मा अभिनेत्री अनुष्का शर्मा जंगलमा भागेको, रुखको पछाडि लुकेको दृश्यको टेक आशमाले नै दिएकी हुन् । यस्तै चलचित्र ‘उड्ता पन्जाब’मा आलिया भट्टका धेरै दृश्य आशमाले नै दिएकी हुन् ।
कैयौं एवार्ड आफ्नो नाममा पारिसकेकी गीता टण्डनले कैयौं अभिनेत्रीका लागि स्टन्ट दिएकी छन् । करिना कपुर, आलिया भट्ट, दीपिका पादुकोण, नेहा धुपिया, दिव्या दत्ता र ऐश्वर्याको ‘जज्बा’मा यी सबै कलाकारको दोहोरो चरित्र निर्वाह गर्ने पात्र गीता नै हुन् । चलचित्र ‘चेन्नई एक्सप्रेस’मा पनि रातो साडीवाला दीपिकाको दृश्य गीताले नै सुट गरेकी हुन् ।
सन् १९६८ मा रेशमाले स्टन्ट वुमनको करियर सुरु गरे पनि सन् १९७४ मा यसले आधिकारिक मान्यता पाएपछि स्टन्टलाई करियर बनाउनेको एउटा लहर नै चल्यो । हालसम्म यो पेसा अँगाल्नेको संख्या झन्डै १५ सय आसपास छ । यसमा स्टन्ट वुमनको संख्या उल्लेख्य छ ।
स्टन्टमा संलग्न स्टन्ट वुमन घरायसी आर्थिक अवस्था कमजोर भएका कारण जोखिमपूर्ण काम अँगाल्नुपरेको बताउँछन् । जुनियर कलाकारको तुलनामा स्टन्ट आर्टिस्टको पारिश्रमिक केही बढी हुन्छ । उनीहरू चलचित्रको अभिनेत्रीलाई स्टन्ट दिइरहँदा कुनै असुरक्षा नहोस् भन्नेमा सचेत हुन्छन् ।
अभिनेता अक्षयकुमार आफूलाई बलिउडको पहिलो स्टन्ट कलाकार मान्छन् । मुभी स्टन्ट आर्टिस्ट एसोसिएसनमा आबद्ध भएकै कारण उनले आफूलाई यो दाबी गर्दै आएका छन् । २०१७ मा उनले सबै स्टन्ट कलाकारलाई मेडिकल इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स दिने पहल गरेका थिए । त्यो पहल लागू भएपछि अहिले बलिउडका सबै स्टन्ट आर्टिस्ट सुरक्षित छन् । फाइट मास्टर एजाजका अनुसार झन्डै ६ सय २५ स्टन्ट आर्टिस्टको इन्स्योरेन्सको खर्च अक्षयकुमारले नै तिरिदिएका छन् ।