साप्ताहिक संवाददाता
दीपकराज गिरी, अभिनेता
समूह बनाएर काम गर्ने सोच कसरी आयो ?
मैले चलचित्र ‘सुन्दर मेरो नाम’मा अभिनेताका रूपमा काम गरेको थिएँ । यो चलचित्र असफल भएपछि नेपाली चलचित्रमा स्टारडमको अभाव रहेछ भन्ने बुझें । चलचित्र निर्माण भनेको एक जनाको मात्र काम होइन, यो त टिमवर्क रहेछ । त्यो बेला हामी टिमवर्क भन्दै एकै जनाले मात्र काम गरिरहेका थियौं । सबैलाई जिम्मेवारी दिएर काम गर्न सके राम्रो उत्पादन दर्शकलाई दिन सकिन्छ भन्ने लागेर सामूहिक निर्माणको संस्कृति विकास गर्यौं । हामीले ट्रायलमा सुरु गरेको यो अभियानले सफलता पाएपछि अन्य चलचित्रकर्मीको पनि ध्यानाकर्षण गर्न सक्यौं ।
फाइदा र बेफाइदा के हुँदो रहेछ ?
सामूहिक कार्य भनेको एउटा दलजस्तै हो । एउटा परिवार हो । त्यो परिवारमा नयाँ–नयाँ सदस्य थपिन्छन्, जसले गर्दा सुनमा सुगन्ध हुन्छ । समूहका सदस्यमा जिम्मेवारी बाँडफाँड हुन्छ, तर कसैको मन दुख्छ कि भनेर केयरफुल पनि हुनुपर्छ । पाँच जनाको समूहमा कसै न कसैको चित्त नबुझेको हुन सक्छ । मैले एउटा कुरा के बुझें भने समूहमा नाच्नु र एक्लै नाच्नुचाहिँ अन्तर हुँदो रहेछ ।
समूहमा चलचित्र निर्माण गर्ने चलन अहिले बढेको हो ?
हामीले ‘६ एकान ६’बाट यस्तो अभियान सुरु गरेपछि पछिल्लो समयमा आएर उत्साहजनक रूपमा बढेको छ । यो राम्रो लक्षण हो ।
मेकिङ महँगो भएकाले हो कि ?
निश्चय नै मेकिङमा महँगीको अनुपात बढ्दो छ, तर महँगी बढ्यो भनेर आत्तिनुपर्ने अवस्था पनि छैन । समूहमा काम गरेर राम्रो उत्पादन दर्शकलाई दिन सक्यौं भने त्यसले राम्रो आम्दानी पनि दिनसक्छ ।
धेरै समूह हुँदा अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना पनि त हुन्छ ?
समूहको काम भनेको आफ्नो समूहलाई स्थापित गराउनु हो । यो बेला सदस्यले व्यक्तिगत स्वार्थ त्याग्न सक्नुपर्छ । कहिले करोड कमाइएला, कहिले लाख मात्र कमाइएला । यस्तो अवस्थामा उत्साहित र हतोत्साहित हुनु हुँदैन ।