साप्ताहिक संवाददाता
अहिले झन्डै आधा दर्जन समूह नेपाली चलचित्र निर्माणमा क्रियाशील छन् । त्यस्ता समूहमा चलचित्रका निर्माता, निर्देशक, लेखक, छायाँकार, सम्पादकदेखि कलाकारहरूसमेत आबद्ध छन् । नेपाली चलचित्रमा डिजिटल प्रविधिको प्रवेशपछि समूहमा चलचित्र निर्माण गर्ने चलन बढ्दै गएको देखिन्छ । यी समूह खास गरी चलचित्रको सिरिज र सिक्वेल निर्माणमा सक्रिय छन् ।
हास्यकलाकारहरूको समूह बनाएर ‘६ एकान ६’ बाट निर्माण सुरु गरेका अभिनेता दीपकराज गिरी नेपाली चलचित्रमा स्टारडमको अभाव भएपछि नै समूहमा चलचित्र निर्माणको चेत आएको दाबी गर्छन् । ‘टिमवर्क भन्दै एकै जनाले मात्र काम गरिरहेको अवस्था थियो । हाम्रो बुझाइ पनि चलचित्र एक्लैले बनाउन सक्छ भन्नेमा थियो’, दीपकराज भन्छन्, ‘तर अवस्था त्यो होइन रहेछ । समूहमा जिम्मेवारी दिएर काम गराउन सके राम्रो उत्पादन सिर्जना गर्न सकिने रहेछ भन्ने उदाहरण हामीले ‘छ माया छपक्कै’सम्म आइपुग्दा देखाइसकेका छौं ।’
महसञ्चारबाट चलचित्र निर्माणमा सक्रिय अभिनेता हरिवंश आचार्य यतिखेर निर्देशक तथा लेखक प्रदीप भट्टराई तथा निर्माता रवीन्द्रसिंह बानियाँसँग मिलेर नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनी चलचित्र निर्माणको जिम्मेवारी एउटै मान्छले बोक्नु जोखिमपूर्ण हुने बताउँछन् । ‘एउटै मान्छेमा सबै भार थोपरियो भने उसको क्रिएटिभीटीमा असर पर्न सक्छ । समूहमा काम गर्दा त्यसको परिणाम जे–जस्तो आए पनि त्यसमा चित्त बुझाउन सकिन्छ’, हरिवंश भन्छन्, ‘समूहमा काम गर्दा पार्टनरसिपमा गर्न सजिलो हुन्छ, जसले गर्दा चलचित्रमा लगानी पनि कम हुने अवस्था आउँछ ।’
समूहमा काम गर्न रुचाउने निर्देशकमा प्रदीप भट्टराई पनि पर्छन् । मह सञ्चारमा रहेर लामो समय टेलिसिरियलको मुख्य सहायक निर्देशकको अनुभव सँगालिसकेका प्रदीपले चलचित्र ‘जात्रा’बाट चलचित्र निर्देशकीय यात्रा प्रारम्भ गरेका हुन् । त्यसयता उनले ‘शत्रुगते’ र ‘जात्रैजात्रा’ निर्देशन गरिसकेका छन् । समूहमा काम गर्दा त्यसमा आउने इनपुटले गर्दा राम्रो चलचित्र बन्ने बाटो खुला भएको उनी बताउँछन् । ‘नेपालमा समूहमा चलचित्र बनाउने संस्कार अझै बढ्दै जानुपर्छ । फरक–फरक सोच भएका मान्छे एकै ठाउँमा बस्यो भने गल्ती र कमजोरीलाई औंल्याएर त्यसलाई सुधार्न सकिन्छ’, उनी भन्छन् ।
गिरीका अनुसार औपचारिक रूपमा कुनै पनि चलचित्रकर्मीले समूह विभाजन गरेका छैनन् । ‘अनौपचारिक रूपमा भने स्वत: निर्माण भएका समूहका सदस्यमा जिम्मेवारी बाँडफाँड हुन्छ । पाँच जनाको समूहमा कसै न कसैको चित्त नबुझेको पनि हुनसक्छ । त्यसैले यसका सकारात्मक तथा नकारात्मक पक्ष उत्तिकै छन्,’ गिरी भन्छन् । भट्टराईको तर्क बेग्लै छ । उनी भन्छन्, ‘फरक–फरक सोच भएका मान्छे एकै ठाउँमा बस्यो भने गल्ती तथा कमजोरी औंल्याएर त्यसलाई सुधार्न सकिन्छ ।’ अभिनेता हरिवंश आचार्यको विचारमा समूहका सदस्यबीच कहिलेकाहीं राय नमिल्ने सम्भावनासमेत उत्तिकै रहन्छ । निर्देशक मिलन चाम्स पनि एउटै समूहमा आबद्ध भएर काम गर्दा जिम्मेवारी अलि कम हुने तर कहिलेकाहीं कुरा नमिल्दा केही समस्या आउन सक्ने बताउँछन् ।
प्रदीप भट्टराईको समूह
मह सञ्चारमा लामो समय आबद्ध भएका युवा निर्देशक हुन्— प्रदीप भट्टराई । महसञ्चार समूहबाट बाहिरिएर उनले निर्देशन गरेको पहिलो चलचित्र हो— जात्रा । २०७३ साल कात्तिक २६ गते प्रदर्शन भएको उक्त चलचित्र व्यावसायिक रूपमा सफल भयो ।
धुर्मुस–सुन्तलीको समूह
त्यसो त सीताराम कट्टेल घुर्मुस तथा कुञ्जना घिमिरे पनि सानो पर्दाकै जमेका कलाकारहरू हुन् । उनीहरूले हास्यश्रृंखला ‘मेरी बास्सै’ मार्फत दर्शकको मन जितेका थिए । स्टेज कार्यक्रममा समेत उत्तिकै सक्रिय हुने यो जोडी २०७२ सालको भूकम्पपछि भने कलाकारितामा भन्दा समाजसेवामा बढी सक्रिय रहँदै आएको छ । रंगमञ्चका कार्यक्रममा फाट्टफुट्ट प्रस्तुत हुने धुर्मुस–सुन्तलीको जोडी यतिबेला भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा सक्रिय छ । तर, यति नै बेला उनीहरूको समूहले चलचित्र निर्माणमा पनि हात हालेको छ । उनीहरूले निर्माण गरेको पहिलो चलचित्र हो— सेन्टी भाइरस । आफ्नो समूहको पहिलो चलचित्रमा धुर्मुस–सुन्तलीले रामबाबु गुरुङलाई निर्देशकका रूपमा लिएका छन् भने दुवैले चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका छन् । उनीहरूको चलचित्रमा दयाहाङ राई तथा विल्सनविक्रम राई पनि मुख्य भूमिकामा छन् । यो समूहमा धुर्मुसका भाइ कुमार कट्टेल लेखकका रूपमा आबद्ध भएका छन् भने कट्टेलकै समूहका दीपक आचार्य पनि लेखकका रूपमा आबद्ध छन् । उता हास्य श्रृंखला भद्रगोल निर्माण र निर्देशन गरेर चर्चामा आएका कुमार कट्टेल, दीपक आचार्य र अर्जुन घिमिरेको समूह यतिबेला ‘सक्किगो नि’ शीर्षकको हास्यश्रृंखला निर्माण गरिरहेका छन् । उनीहरूको समूहले पनि निकट भविष्यमै ‘फनफनी’ शीर्षकको चलचित्र निर्माण गर्ने घोषणा गरिसकेको छ ।
मिलन चाम्सको समूह
पाँच वर्षअघिदेखि चलचित्र निर्माण तथा निर्देशनमा आएका मिलन चाम्सले चलचित्र ‘हँसिया’ र ‘ब्लाइन्ड रक्स’मा निर्माता निकेश लिम्बूसँग सहकार्य गरे । त्यो चलचित्रपछि अहिले आएर उनले निकेशसँगै मिलेर तेस्रो चलचित्र ‘गोर्खा वारियर’ को काम गरिरहेका छन् । अभिनयका हिसाबमा मिलनले चलचित्र ‘वीरविक्रम’ र ‘ह्याप्पी डेज’मा अभिनेता दयाहाङ राईसँग सहकार्य गरे । उनले अभिनेता नाजिर हुसेनसँग पनि चलचित्र ‘वीरविक्रम’ र ‘वीरविक्रम–२’ मा सहकार्य गरेका छन् । उनैले निर्देशन गरेका दुई चलचित्र ‘लिलिबिली’ तथा ‘बोबी’ भने व्यावसायिक रूपमा समेत सफल भए । बोबीमा उनले उमेश थापा र कविता गुरुङको जीवनीलाई चित्रण गरेका थिए । पछिल्लो पटक उनले बोबीकै सिक्वेल निर्देशन गर्ने घोषणा गरेका थिए, यद्यपि चलचित्रको निर्माण प्रारम्भ भएको छैन ।
दिनेश राउतको समूह
युवा निर्देशक दिनेश राउत प्रेमकथामा आधारित चलचित्र निर्माण गर्न सिपालु छन् । उनले विगतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठदेखि पछिल्लो समयमा विपिन कार्कीसँग सहकार्य गरिसकेका छन् । आठ वर्षअघि चलचित्र ‘आई एम सरी’ मा आर्यन सिग्देल तथा केकी अधिकारीलाई लिएर चलचित्र निर्देशनको क्षेत्रमा पदार्पण गरेका राउतले दोस्रो चलचित्र ‘नोभेम्बर रेन’ बाट सफलता हासिल गरे, जसमा आर्यन सिग्देल र नम्रता श्रेष्ठ नै मुख्य भूमिका थिए । तेस्रो चलचित्र ‘क्लासिक’ मा पनि उनले आर्यन र नम्रतालाई नै दोहोर्याए । यही चलचित्रमार्फत उनले निर्माता सुवास गिरीसँग समेत सहकार्य गरे । निर्माता गिरीसँगै मिलेर उनले चलचित्र ‘पर्व’ समेत निर्देशन गरे, जसमा उनले नम्रता श्रेष्ठलाई पुन: मुख्य भूमिकामा लिए । अभिनेत्री नम्रता श्रेष्ठलाई आफ्नै समूहमा राख्न सफल निर्देशक राउतले अघिल्लो वर्ष निर्देशन गरेको चलचित्र ‘प्रसाद’ व्यावसायिक रूपमा समेत अत्यन्त सफल रह्यो । उक्त चलचित्रमा निर्देशक राउतलाई निर्माता सुवास थापाले साथ दिए । यतिबेला निर्देशक राउत निर्माता थापासँगै नयाँ चलचित्र ‘सेल्फी किङ’मा व्यस्त छन्, जसमा विपिन कार्की तथा लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् ।