मैदानका दाजुभाइ

- हिमेशरत्न बज्राचार्य

माघ १४, २०७६

दाजुभाइको सम्बन्ध फुटबलमा कस्तो हुन्छ, आमदाजुभाइकै जस्तो हुन्छ कि फरक हुन्छ ? एक प्रकारले यो जटिल प्रश्न हो । फुटबल मैदानमा खेलिने बलसँग मात्र जोडिन्न । यसका धेरै फरक आयाम छन् । यसको एउटा उल्लेखनीय पक्ष त भावनात्मक नै भयो । खुबै भावनात्मक हुन्छन्, फुटबलसँग जोडिएका सम्बन्धहरू, विशेषत: दाजुभाइका सम्बन्धहरू । नेपालका लागि सबैभन्दा बढी खेलेको कीर्तिमान रहेको छ, विराज महर्जनको नाममा ।

उनी केही समयअघिसम्म नेपाली टिमका कप्तान पनि हुन् । उनले नेपालका लागि सर्वाधिक ७२ क्याप जितेका छन् । त्यो अर्थमा उनी निकै भाग्यमानी पनि छन्, अनि सफल पनि । तर उनले जुन दाजुको प्रेरणाले फुटबलमा प्रवेश गरे, तिनै दाजुले उत्तिकै अब्बल दर्जाको खेलाडी भएर पनि नेपालका लागि कहिले पनि खेल्न पाएनन् । र, उनी हुन्, विक्रम महर्जन । भन्नेहरू के पनि भन्छन् भने विराजको तुलनामा विक्रमको खेल कति राम्रो थियो, कति राम्रो । 

उनी एन्फा एकेडेमीको पहिलो ब्याचका सुरुवाती कप्तान थिए । तर उनले लामो समय खेल्न पाएनन्, शारीरिक कारणले । खालि उमेर समूहमै मात्र नेपालको प्रतिनिधित्वको अवसर पाए । अचेल प्रशिक्षकको भूमिकामा छन् । उनलाई सधैं दु:ख छ, नेपालका लागि खेल्न नपाएकोमा । तर, यो दु:ख त्यति बेला भुल्ने गर्छन्, जति बेला विराजले नेपालको जर्सी लगाएर खेल्छन् । यी प्रसंगमा यी दुई दाजुभाइसँग कुराकानी गर्नुपर्छ, दुवै भावुक हुन्छन् । 

विराज पनि एन्फा एकेडेमीकै उत्पादन हुन् । जुन दिन विराजले एकेडेमीका लागि ट्रायल दिएका थिए, त्यति बेला उनी विक्रमले लगाएर खेलेको जर्सीमा थिए । त्यसैले विराज बरोबर भन्ने गर्छन्, ‘म जे छु त्यसमा पूरा परिवारको ठूलो योगदान हुने भयो नै । त्यसमध्ये पनि दाजुका रूपमा विक्रमको ठूलो योगदान छ । नेपाली टिमका लागि खेल्दा खासमा म मात्र खेलिरहेको हुन्न, भावनात्मक रूपमा मसँग मेरो दाजु पनि हुने गर्छन् ।’

अब फेरि एकपल्ट प्रसंग सन्तोष साहुखलकै । जति बेला उनले ए डिभिजन फुटबलमा आफ्नो सय गोल पूरा गरे, उनको प्रतिक्रिया निकै भावशून्य थियो । त्यो ऐतिहासिक उपलब्धिमा न उनी खुसी नै देखिए, न त उनले हर्षले केही मीठा शब्द बोले । खासमा सन्तोष यस्तै छन्, चिसो मनका । उनी जापान बसेको केही वर्ष भयो, त्यसैले आमजापानीजस्तै उनको मन पनि केही कठोर भएकै हो त ? उनी नजिककाले नै ख्यालठट्टा गरे । च्यासलका प्रशिक्षक बालगोपाल साहुखल मान्छन्, सन्तोष सानैदेखि यस्तै छन् । 

‘सन्तोष आफ्नो खुसी देखाउन जाँन्दैनन्, यसको अर्थ उनी खुसी नै छैनन् भन्ने होइन । सय गोल गरेपछि उनी उत्तिकै खुसी थिए, तर देखाउन भने जानेनन्,’ बालगोपालले भने । अहिले चलिरहेको सहिद स्मारक लिग ए डिभिजनमा दाजु भाइबीचको सम्बन्धको एउटा विशिष्ट पक्ष यिनै सन्तोष र बालगोपालबाट देख्न पाइन्छ । यी दुईबीच बालगोपाल लगभग दुई वर्षभन्दा कम समयले जेठा छन् । दुवैले सँगै फुटबल खेल्न सिके । अझ भन्नौं भने सन्तोषका लागि दाजुले फुटबल खेल्न थाल्नु नै यो क्षेत्रमा प्रवेशको प्रेरणा भयो । 

कम्तीमा सन्तोष के भन्छन् भने बालगोपाल नहुँदो हो त उनी नेपाली फुटबलमा हुने थिएनन् । अनि सन्तोषको प्रत्येक सफलतामा उत्तिकै खुसी, अझ सके, धेरै खुसी हुनेमा पर्छन्, बालगोपाल । ‘सन्तोषको प्रगतिमा हाम्रो पूरा परिवार खुसी छ, तर सबैभन्दा बढी खुसी म नै हुन्छु होला,’ बालगोपाल भन्छन् । नेपाली फुटबलमा यस्तो दाजुभाइबीचको अद्वितीय सम्बन्धका खास खास उदाहरण छन् । बालगोपाल र सन्तोषको सम्बन्ध अहिले मैदानामा प्रशिक्षक र खेलाडीको छ । 

खेलाडी भएर एउटै टिमबाट खेलिरहेको उदाहरण पनि यसपल्टको लिगमै छ । जस्तो, रञ्जन विष्ट र अञ्जन विष्ट । दुवै अहिले मनाङ मस्र्याङ्दीबाट खेलिरहेका छन् । अञ्जन त अहिले क्लबका उपकप्तान पनि हुन् । भर्खरै मात्र उनले मनाङका लागि केही खेल खेले, किनभने लिगका सुरुवाती चरणमा उनी प्रतिबन्धबाट गुज्रिरहेका थिए । भुटानमा कुवेतविरुद्धको विश्वकप छनोट खेल्न जानुअगाडि उनी डिस्को काण्डमा फसे र त्यसै कारणले केही समय प्रतिबन्धमा परे । 

त्यसैबारे भर्खर बोल्दै अञ्जनले भनेका छन्, ‘मेरो जीवनको एक मात्र उद्देश्य फुटबल खेल्नु हो, तर त्यो प्रतिबन्धको समय मैले फुटबल खेल्न पाइनँ, मलाई कति दु:ख लाग्यो होला, त्यो बयान गरेर साध्य छैन । यो प्रतिबन्धको समय मेरो जीवनका लागि ठूलो पाठ सावित भएको छ ।’ जति बेला यो घटना भर्खर–भर्खर बाहिर आएको थियो, त्यति बेला अञ्जनको बचाउ गर्ने काम गरेका थिए यिनकै दाजु रञ्जनले । रञ्जनको प्रेरणाले नै अञ्जनले पनि फुटबल खेल्न थाले । 

अनि जति बेला आफ्नो भाइ ठूलै समस्यामा परे, उनले अनौपचारिक रूपमै सही भनिरहेका थिए, ‘बाहिर जस्तो देखिएको छ, मेरो भाइ त्यस्तो होइन ।’ अझ उनको आसय हो, बाहिर देखिएजस्तै अञ्जन नेपाली फुटबलका खलनायक पात्र होइनन् । यी दुई दाजुभाइलाई नजिकबाट चिन्नेले भन्ने गर्छन्, उनीहरूबीच गज्जबको दोस्ती छ । त्यो डिस्को काण्डमा फसेका एउटा अर्को सोझो खेलाडी सन्तोष तामाङ पनि हुन् । सन्तोषकै शब्दमा उनी त्यो प्रतिबन्धको समय नरोएको दिन थिएन । 

अहिले उनी आर्मीबाट खेल्छन् र टिमका प्रमुख खेलाडी हुन् । उनकै आगमनपछि त हो, आर्मीले राम्रो खेल्न थालेको छ । अब त आर्मी लिग उपाधिको सबैभन्दा बलियो दावेदार समेत भएको छ । सन्तोष पनि आफ्नै दाजुको प्रेरणाबाट नेपाली फुटबलबाट आएका हुन्, अझ उनले घरेलु फुटबलमा आफ्नै दाइका कारण आर्मी रोजे । उनका दाइ हुन्, अर्का चर्चित खेलाडी, राजु तामाङ । अचेल राजुले खेल्न छाडिसके, तर अहिले सन्तोष नेपाली फुटबलको हुनुको एउटा कारण राजु नै हुन् ।

अहिले खेलिरहेका खेलाडीमध्ये विजय धिमाल र रञ्जित धिमाल पनि दाजुभाइ नै हुन् । नेपाली फुटबलमा यी दाजुभाइको उदाहरण पेस गर्दा सबैभन्दा चर्चित जोडी त वसन्त गौचन र विसन गौचनकै हुन्छ । सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबलमा उत्कृष्ट खेलाडी घोषित भएका थिए, वसन्त । त्यति बेला उनी भर्खरका थिए र नेपालले स्वर्ण पदक जित्न नसकेपछि मैदानमै घोप्टे परेर लामै समय रोए । त्यति बेला सबै भावुक भएका थिए, धेरैले आफूलाई रोक्न सकेनन् । 

यस्तोमा उत्तिकै भावुक हुने एकजनामा थिए, यिनै विसन । त्यसै कारण उनी पनि आफ्नो दाइजस्तै फुटबलमा लागे । दुवैले नेपाली टिमको प्रतिनिधित्व गर्दै खेल्न पाए । तर त्यो पक्कै पनि फरक कालखण्ड थियो । नेपाली महिला फुटबलमा भने दिदीबहिनीको प्रसंगमा सबैभन्दा अगाडि आउने एक मात्र दुर्लभ जोडीको नाम हो— गंगा र जमुना गुरुङको जोडी । उनीहरू त अझ जुम्ल्याहा हुन् । अनि दुई दिदीबहिनीमध्ये जमुना नेपाली महिला फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडीमध्ये एक हुन् । 

प्रकाशित :माघ १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×