साप्ताहिक संवाददाता
प्रदीप भट्टराई, निर्देशक
समूहमा काम गर्दा कस्तो अनुभव हुँदो रहेछ ?
चलचित्र भनेको एक्लै बनाउँछु भनेर हुँदैन । कसैले एक्लै चलचित्र बनाउँछु भन्यो भने सम्झनुहोस् कि त्यो मान्छे तपाईंसँग झूट बोलिरहेको छ । चलचित्र भनेको त टिमवर्क हो । चलचित्र बुझ्ने मान्छे मात्र प्राय: समूहको काममा बस्छन् । सबैको इनपुट आउने भएकाले पनि प्राय: चलचित्र सफल हुन्छन् ।
राम्रो र नराम्रो पक्ष के पाउनुभयो ?
मेरो बुझाइमा राम्रो र नराम्रो भनेको चलचित्रको आम्दानीमै जोडिन्छ । सानो केकलाई एक्लै खाने कि ठूलो केक धेरै भाग लगाउने भन्ने नै फाइदा–बेफाइदामा जोडिने कुरा हो । सानो केक एक्लै खाँदा मजा नआउन सक्छ, जति ठूलो केक भाग लगाएर खाइन्छ । धेरै मिलेर काम गर्दा पैसा कम आउने मात्र सम्भावना हुन्छ ।
चलचित्रमा सामूहिक सहकार्य बढेको हो ?
पक्कै पनि बढ्दै गएको छ । मलाई लाग्छ, यो संस्कार अझै बढ्नुपर्छ । तर जति बढ्नुपर्ने हो त्यति बढेको छैन । समूह छुट्टिँदा त्यसको असर चलचित्र क्षेत्रलाई पर्छ भन्ने उदाहरण हामीले देखिसकेका छौं । फरक–फरक सोच भएका मान्छे एकै ठाउँमा बस्यो भने गल्ती–कमजोरी औंल्याएर त्यसलाई सुधार्न सकिन्छ ।
समूहमा चलचित्र बन्नुपर्ने कारण के हो ?
यसका धेरै कारण छन्, तर मुख्य कुरा पछिल्लो समय चलचित्रमा बढेको महँगीले पनि हो । ‘छक्कापन्जा’ टिमले पारिश्रमिक नलिई काम गर्दा पनि चलचित्र निर्माण लागत झन्डै २ करोड छुन्छ । अब सेयर बेसिसमा काम गर्नुको विकल्प छैन । सबै चलेका कलाकारले आफ्नो दम्भ छाडेर सेयरमा काम गर्ने वातावरण बनाउनुपर्छ ।
समूहबाट के–के काम हुन्छ ?
समूहमा विभिन्न किसिमका विज्ञ होइन्छ । मार्केटिङ, क्रिएटिभ, प्रोडक्सन, थिएटर पुर्याउने, लेखक, कास्टिङलगायतका क्षेत्रमा विज्ञ व्यक्ति हुन्छन् । उनीहरूले आफ्नो आइडिया सार्वजनिक गरेर त्यसमा कन्भिन्स गराउन सक्छन् ।