साप्ताहिक संवाददाता
निर्देशक दीपेन्द्र के खनालले आफू चलचित्र निर्माणको कुनै पनि समूहमा नभएको स्पष्ट पारेका छन् । खनालले व्यवहारमा भने पहिलो चलचित्र ‘द युगदेखि युगसम्म’देखि पछिल्लो चलचित्र ‘आमा’सम्म प्राय: उस्तै–उस्तै निर्माता, कलाकार तथा प्राविधिकसँग काम गर्दै आइरहेका छन् । ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारसँग खनालले ‘चपली हाइट’ तथा ‘चपली हाइट–२’ मा सहकार्य गरे ।
खनालले अत्यधिक चर्चा पाएको चलचित्र ‘पशुपतिप्रसाद’मा अभिनेता खगेन्द्र लामिछानेसँग सहकार्य गरेका थिए । उक्त चलचित्रमा निर्देशक खनाल स्वयं निर्माता पनि थिए । लामिछानेसँग उनले ‘धनपति’ चलचित्रमा पनि सहकार्यजारी राखे । ‘लभ लभ लभ’ चलचित्रपछि भने उनको सहकार्य निर्मात्री शर्मिला पाण्डेसँग भैरहेको छ ।
पाण्डेसँगै मिलेर उनले चलचित्र ‘घर’ निर्माण गरे, प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आमा’मा पनि यी दुईजनाको सहकार्य छ । निर्देशक खनालले अभिनेत्री सुरक्षा पन्तलाई पनि आफ्नै समूहका राखेका छन् । ‘धनपति’बाट अभिनेत्री पन्त निर्देशक खनालसँग जोडिएकी थिइन् । त्यसयता उनले ‘घर’ तथा ‘आमा’मा खनालसँगै काम गरिन् । ‘म राम्रो कलाकारको साथ छोड्दिनँ,’ निर्देशक खनाल भन्छन्, ‘स्वभाव मिल्ने साथी कलाकारहरूसँग काम गर्दा मज्जा आउँछ ।’
समूहमा चलचित्र बनाउने शैलीलाई कसरी लिनुहुन्छ ? भन्ने साप्ताहिकको जिज्ञासामा निर्देशक खनाल भन्छन्– ‘म नितान्त कम्पनीसँग सहकार्य गरेर काम गरिरहेको छु । मेरो समूह छैन । कथाअनुसार कस्तो टिम बन्छ, त्यसै अनुसार काम गर्छु । अहिलेसम्म त्यसरी समूह बनाएरै काम गरेको छैन । अहिलेसम्मको अवस्था हेर्दा नेपालमा सिक्वेल र सिरिज बनाइरहनुभएका निर्माताहरूले समूहमा काम गरेको देखेको छु ।’
समूहमा काम गर्दा गाह्रो केही देख्नुभएको छ ? भन्ने अर्को एउटा जिज्ञासामा निर्देशक खनालको जवाफ छ– ‘नेपालमा त अहिले ट्रेन्ड नै छ, तर समूहमा मोनोटोनस हुन्छ कि जस्तो लाग्छ । जस्तो कि म नयाँ पात्र लिएर काम गर्न रुचाउँछु । समूहमा चाहिँ एउटै मान्छे दोहोरिरहने सम्भावना बढी हुन्छ, जसले गर्दा कथाको चरित्रअनुसार कलाकार फिट नहोला कि भन्ने जोखिम बढ्छ ।’