नेपालीहरुको बाक्लो उपस्थिती रहेको हङकङमा पछिल्लो समय हप्तैपिच्छे कार्यक्रम हुन थालेका छन् । नेपालबाट ख्यातीप्राप्त कलाकार त्यहाँ पुग्छन्, दर्शक ओइरिएका हुन्छन् । हालै अर्को साँगितिक कार्यक्रम सम्पन्न भयो, जहाँ दर्शकको बाक्लो उपस्थिती थियो ।
एलजी नाईटको १५ औं संस्करणमा दर्जन बढि कलाकारहरु हङकङ आएका थिए । उनीहरुले विभिन्न प्रस्तुतीमार्फत हङकङेली दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । कार्यक्रममा मुन्द्रे कमेडी क्लबका जितु नेपाल, उमेश राई (फुलेन्देको आमा), राजेन्द्र नेपाली, दि भ्वाईस अफ नेपालका राम लिम्बु, सनिष श्रेष्ठ, आरिफ रौफ, याङ्की याल्मो, अञ्जु राना मगर, गायक प्रकाश सपुत, शान्तिश्री परियार, डान्सर कविता नेपाली, नायीका अञ्जली अधिकारी लगायतका कलाकारले बेजोड प्रस्तुती दिए ।
मुन्द्रे (जितु नेपाल) र प्रस्तोता शुशिल नेपालले रमाईलो पारामा कार्यक्रम संञ्चालन गरेका थिए । दि भ्वाईस अफ नेपालका राम, सनिष, आरिफ, याङ्की र अन्जुको क्रेज गज्जवको देखियो । आरिफ र सनिषले स्टेजमा गीत प्रस्तुत गर्दा युवतीहरुले एकतमासले साथ दिईरहेका थिए ।
‘मुन्द्रेको कमेडी क्लब’का टिमले हङकङमा भाईरल बनिरहेको कोरोना भाईरस र नेपालमा चलिरहेको रियालिटी शोे को शन्दर्भमा प्रस्तुत गरेको प्रहसनले हल गुन्जियो ।
आम्दानीका लागी विदेश गएका आफन्तको शव वाकसमा प्याक भएर आउँदाको पिडा मिश्रित गीत ‘बोल माया’ गाउँदै गायीका शान्तीश्री परियारले दर्शकहरुलाई भावुक बनाइन् । गायक प्रकाश सपुतले आफ्नो देश सम्झाउँदै प्रस्तुत गरेका लोकगीतहरुले वातावरण रोमाञ्चक बनायो । प्रकाश र शान्तीको युगल गायन रहेको ‘गलबन्दी च्यातियो’ गीतमा दर्शकहरु छमछमी नृत्य गरे ।
प्रथम डान्स रियालिटी शो वुगीवुगी डान्सकी विजेता कविता नेपाली र मोडल अञ्जली अधिकारीको नृत्यले दर्शकहरुको पर्याप्त ताली पायो ।
लाँलीगुरास साँझ (एलजी नाईट) हङकङमा स्थापित मनोरञ्जनात्मक कार्यक्रमको ब्राण्ड हो । विशाल गुरुङको प्रस्तुतीमा चेतन गुरुङ र हिमाल राना कार्यक्रमका आयोजक हुन् । ‘१५ औ संस्करणसम्म हामी निरन्तर हङकङेली दर्शकहरुलाई मनोरञ्जन दिईरहेका छौ । भुगोल, जात, समुदाय भन्दा नेपाली कला र प्रतिभालाई स्टेज दिदै विशुद्ध मनोरञ्जन प्रदान गर्ने हाम्रो लक्ष्य हो’ आयोजक चेतन गुरुङ बताउँछन् ।
सामाजिक सहयोग सँगै दर्जन बढि उत्कृष्ट कलाकारहरुलाई एउटै स्टेजमा प्रस्तुत गर्ने एलजी नाईट हङकङमा आयोजना हुने कार्यक्रमहरु मध्ये उत्कृष्टताको कोटीमा पर्दछ ।