साप्ताहिक संवाददाता
घोराही र तुलसीपुरमा शुक्रबारदेखि एकसाथ व्यापारिक तथा कृषि महोत्सव सुरु भएका छन् । महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी तथा कला प्रदर्शन गरिएको छ । तुलसीपुर महोत्सवमा नायक राजेश हमालसमेत नाचे ।
उनी मोडल तथा कलाकारहरूसँग नाचेका थिए । हमालको नाच हेर्दा दर्शकहरू निकै रमाएका थिए । गायक पशुपति शर्माको ‘मलाई अमेरिका यहीं, बेलायत नी यहीं’ गितले दर्शकहरूलाई धेरै नै नचायो । राधिका हमाल, टीका सानुलगायतका कलाकारले गाएका दोहोरीमा पनि दर्शकहरू झुमे । कमल गाउँलेको हास्यव्यंग्य प्रहसनले भरपुर मनोरञ्जन दिएको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघले निर्माणाधीन बहुउद्देश्यीय सभाहलको पूर्णता र टरिगाउँ विमानस्थल विस्तारका लागि महोत्सव आयोजना गरेको हो । २० गतेसम्म सञ्चालन हुने महोत्सवमा १ करोड बढी आम्दानी हुने र त्यसबाट सभाहललाई पूरा गर्नुका साथै विमानस्थलको विस्तारमा लगानी गरिने संघका अध्यक्ष बिरबहादुर रावतले बताए ।
महोत्सवमा स्थानीय उत्पादनका साथै कला, संस्कृति र पर्यटकीय स्थलहरूको प्रवद्र्धन गरिने संघका महासचिव रुकबहादुर खत्रीले बताए । माघ २२ सम्म चल्ने महोत्सवमा १० करोडको कारोबार हुने र ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको उनले बताए । महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्तकला र विभिन्न स्थानीय खानाका परिकारहरू राखिएको छ ।