अमेरिकी गायिका तथा गीतकार बिली इलिसका लागि यो वर्षको ‘ग्रामी एवार्ड’ विशेष रह्यो । उमेरले १८ वर्षमा पाइला टेक्दै गरेकी यी गायिकाले गत सोमबार राति अमेरिकामा सम्पन्न एवार्डमा सर्वाधिक पाँच एवार्ड जितिन् । गायिका बिलीको एल्बम ‘ह्वेन वी अल फल एस्लिप, ह्वेर डु वी गो’ले ‘एल्बम अफ द इयर’को एवार्ड जित्दा उनले ‘ब्याड गाई’बाट ‘रिकर्ड अफ द इयर’ र ‘सङ अफ द इयर’को एवार्ड पनि पोल्टामा पारिन् । उनले ‘बेस्ट न्यू आर्टिस्ट’ र ‘बेस्ट पप भोकल एल्बम’को एवार्ड पनि जितिन् । यसअघि गायिका टेलर स्विफ्टले राखेको सर्वाधिक कम उमेरमा एवार्ड लिने गायिकाको रेकर्डलाई बिलीले तोडिन् ।
ग्रामीको इतिहास हेर्ने हो भने सन् १९८१ मा अमेरिकी गायक क्रिस्टोफर क्रसले पनि पाँच ग्रामी एवार्ड जितेका थिए । एवार्डमा बिलीका दाइ फिनिस ओकोनेलले बिलीको एल्बमका लागि ‘प्रोड्युसर अफ द इयर’को एवार्ड उचाले । ‘मैले यो एल्बम रेकर्डको काम घरमै गरेको थिएँ । म जहाँ आफूलाई सहज मान्छु, त्यहाँ म सिर्जनात्मक हुन्छु’, एवार्ड पाएपछि फिनिसले भने, ‘घरमा रेकर्ड गरिएको सिर्जनाले या एवार्ड पाउनु हाम्रा लागि ठूलो सम्मान हो । हामीले ग्रामी नै जित्छौं भनेर एल्बम बनाएका थिएनौं । हामीले डिप्रेसन र आत्महत्याको सोचसँगै जलवायु परिवर्तनका बारेमा चेतना फैलाउन एल्बम निकालेका थियौं ।’
एवार्डमा लिल नास एक्सले ‘ओल्ड टाउन रोड’ का लागि ‘भिडियो अफ द इयर’को एवार्ड जित्दा लिजोले ‘बेस्ट पप सोलो परफर्मेन्स’ सहित तीन एवार्ड पोल्टामा पारिन् । गायिका लिजोले एलिसिया किजसँगको सहकार्यमा एवार्डको शुभारम्भ गर्दा उनीहरूले सोमबार बिहान हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका बास्केटबल स्टार कोब ब्रायन्टलाई सम्झिए । ‘यो रात कोबका लागि समर्पित गर्न चाहन्छौं’, लिजोले भनिन्, ‘म रुन चाहन्छु, किनकि म तिमीलाई माया गर्छु ।’ आफ्नो प्रस्तुतिपछि स्टेजमा आएकी कीले कोबको परिवारलाई सम्झना दर्शकमाझ आग्रह गरिन् ।
अमेरिकाकी पूर्व प्रथम महिला मिसेल ओबामालाई ग्रामीको प्रिशोमा उनको बेस्ट सेलर संस्मरण ‘बिकमिङ’का लागि ग्रामी एवार्ड दिइएको थियो । ‘बिकमिङ’ एक अडियो बुक हो, जसमा ओबामाले नै आवाज दिएकी छन् । ओबामालाई पहिलो पटक ग्रामी एवार्ड मिलेको हो । यसभन्दा अघि उनी सन् २०१३ मा ‘अमेरिकन ग्रान : द स्टोरी अफ द ह्वाइट हाउस किचन गार्डन एन्ड गर्डन एक्रोस अमेरिका’को मनोनयनमा परेकी थिइन् । मिसेल ग्रामीको विधामा राजनीतिक विजेताको सूचीमा समावेश भएकी छन् । यो सूचीमा हिलारी क्लिन्टन, तीन अमेरिकी राष्ट्रपति जिमी कार्टर, बिल क्लिन्टन र बराक ओबामा सामेल छन् ।
स्रोत : एजेन्सी