साप्ताहिक संवाददाता
सभामुख बन्नुभएकोमा हार्दिक बधाई । सम्पूर्ण राजनीतिक दलहरूलाई एकतामा ल्याएर नेपालको अन्योलपूर्ण राजनीतिक अवस्थालाई सुधार ल्याउने काम गर्नुहोला । पार्टीहितभन्दा पनि देशहितका विषयवस्तुलाई प्राथमिकता दिई सोहीअनुसार सदन अघि बढाउनुहोला ।
हेमन्त शर्मा, गायक
आफ्नो छवि खस्किन नदिनुहोला । साथै, तपाईंमाथि लागेको आरोपलाई प्रक्रियागत ढंगले सल्ट्याउनुुहोला ।
प्रमोद अग्रहरी, अभिनेता
सुशासन र भ्रष्टाचारमुक्त देश निर्माणका लागि पहल गर्नुहोला ।
विपिन कार्की, अभिनेता
उहाँलाई सफल कार्यकालको शुभकामना । उहाँको काँधमा ठूलो जिम्मेवारी आएको छ । त्यसैले अब संसद्लाई जागरूक गराएर संसद् भरिभराउ बनाउने, संसद्को गरिमा जोगाउने, नियम पालना गर्ने र प्रतिपक्षका पनि कुरा सुन्दै राष्ट्रलाई हित हुने निर्णय गर्नुहोला ।
जितु नेपाल, हास्यकलाकार
सर्वप्रथम सभामुख बन्नुभएकोमा हार्दिक बधाई । सम्पूर्ण राजनीतिक दलहरूलाई एकतामा ल्याएर नेपालको अन्योलपूर्ण राजनीतिक अवस्थालाई सुधार ल्याउने काम गर्नुहोला ।
बादल घिमिरे, संगीतकार
उहाँ एउटा शिक्षक पनि हो, त्यसैले सदनमा सांसदहरूलाई मिलाएर पढाउन सक्ने क्षमता उहाँसँग धेरै छ । हामी कलाकारले के सुझाव दिनु र ? तर, एमसीसी पास नगराए चाहिँ कुनै काण्डमा जेल जाने सम्भावना देखिन्छ । सावधान रहनुहोला ।
दिनेश काफ्ले, हास्यकलाकार
सबै दलको भावना समेटेर कुनै दल विशेषभन्दा पनि राष्ट्रको हितमा काम गर्न सुझाव दिन्छु ।
दीपेन्द्र के खनाल, निर्देशक
काकालाई शुभकामना ! देश र जनताले सधै सम्झने काम गर्नुहोला ।
भोलाराज सापकोटा, कलाकार
राष्ट्रको हितमा आएको विषयमा मात्र निर्णय लिँदा राम्रो होला ।
टेकेन्द्र शाह, भिडियो एडिटर
सभामुख भएपछि मुख जोगाउनुहोला । मुखमा रक्सी थोपै नहाल्नुहोला, जथाभावी नबोल्नुहोला ।
राजा राजेन्द्र पोखरेल, हास्यकलाकार
कृपया अबदेखि संसद् भवनको कुर्सी टेबल भाँच्न हुँदैन भनेर सिकाउनुहोला है ।
शंकर बीसी, निर्देशक तथा मोडल
एउटा राजनीतिक दलको मात्र मुख नभएर सबैको राजनीतिक दलको मुख बन्न पर्छ कि ?
एकनारायण भण्डारी, गीतकार तथा संगीतकार
सदन राम्रोसँग चलाउन सक्नुहोस्, शुभकामना ।
राजनराज शिवाकोटी, गायक
प्रतिनिधिसभामा महिलाको हकमा आउने विषयवस्तुलाई चासो दिनुहोला ।
सुरक्षा पन्त, अभिनेत्री
नेतृत्वलाई सुझाव दिनु भनेको भगवान्लाई भेटी चढाउनु जस्तै हो, स्वीकार गर्छन् कि गर्दैनन् थाहै हुन्न । त्यसैले म सुझाव हैन, कामना मात्र गर्न सक्छु । सभामुख मामा (मेरा मावली सापकोटा हुन् क्या) । महराको जस्तो दुर्दशा, दुर्भाग्य र दुर्नाम नहोस् । हिसाब मिलाएर काम गर्नुहोला, शुभकामना ।
मनोज गजुरेल, हास्यकलाकार
सभामुख सदनको उच्चतम निर्णायक पद हो । त्यो पदको मर्यादा पनि उच्चतम हुने गर्छ । सभामुख आफ्नो दलप्रति बढी उत्तरदायी हुँदा या आफू आएको दलको दलगत स्वार्थबाट माथि उठ्न नसक्दा कतिपय राष्ट्रिय मुद्दामा पूर्वसभामुखहरू पूर्वाग्रही भएजस्तो देखिँदै आएको अवस्थामा अहिले सदनले नयाँ सभामुख पाएको छ । खास गरी प्रतिपक्षको आवाज दबाउने काममा कृष्णबहादुर महरा अगाडि देखिएजस्तै नयाँ सभामुखबाट त्यस्तो नहोस् भन्न चाहन्छु । दुईतिहाइ बहुमतको बलमा प्रतिपक्षलाई सरकारले ‘कुहिनाले ठेलेर’ निर्णय गर्न थालेको अवस्थामा समेत सभामुख सरकार पक्षीय भएर नबसून् । सबैलाई समान अवसर प्रदान गरून् । नैतिक रूपमा समेत उच्च नैतिकता प्रदर्शन गरून् । निर्वाचित भएकै दिन उनलाई बधाई दिन आएका अन्य सांसदहरूले हात मिलाउन खोज्दा समेत वास्ता नगरेर शीर्षस्थ नेतालाई भेट्न देखाएको हतार हेर्दा खासै राम्रोसँग जिम्मेवारी बहन गर्लान् भन्नेमा शङ्का लाग्छ । फेरि पनि उनीमाथि लागेका मुद्दाहरूको छिटै न्यायिक निरूपण होस् र सफलतापूर्वक कार्यकाल पूरा गरून् ।
दुर्गा पंगेनी, गीतकार
नयाँ सभामुखलाई मेरो सुझाव : सहस्र विद्रोहबाट सत्तामा पुग्नुभएको तपाईंको पार्टीको छाप आज पनि उही छ, हिजोको दिनका मुद्दा अझै सम्बोधन हुन सकेका छैनन् । हिजो तपाईं जिद्रोही भइरहँदाका मुद्दा धेरै छन्, तैपनि सडकमा तपाईंविरुद्ध नाराबाजी भइरहँदा पनि सरकारले तपाईंलाई सभामुख बनाएको छ । तपाईंको सरकार सफल रहोस् ।
चन्द्रमणि गौतम, सञ्चारकर्मी
देश र जनताको हितको सवालमा उठेका कुरालाई राजनीतिक आँखाले नहेरी पारित गराउनुहोला ।
सुशीला गौतम, गायिका
संसद्ले तपाईंमा केही देखेरै तपाईंलाई सभामुखमा चयन गर्यो होला । त्यसैले आफ्नो कार्यकालमा राष्ट्रहितका लागि कदम चाल्नुहोला ।
पूर्णिमा लामा, अभिनेत्री
अग्नि परीक्षामा अग्नि सर ? म र मेरो मात्र नसोच्नु, ३ करोड नेपाली छन्, उनीहरूको पनि भनेर परीक्षा दिनु भन्छु ।
सुष्मा महरा, ब्युटिसियन
देश अहिले अलिक कठिनाइ अवस्थामा छ । किनभने धेरै युवा वैदेशिक रोजगारीका लागि बाहिरनुपर्ने अवस्था छ । हाम्रै देशमा नयाँ पुस्तालाई आकर्षण गरेर यही काम गर्ने वातावरण बनाइदिनुहोला । जति युवा बिदेसिन्छन्, त्यति नै देश पछाडि पर्दै गइरहेको छ । नयाँ सीप, नयाँ चुनौती र नयाँ अवसर पाएन भने हामीले कहिल्यै प्रगति गर्ने बाटो पाइँदैन । त्यसकारण प्रगतिका लागि हामी आफैं लागिपर्नुपर्छ र उहाँहरूले यस्तो प्लेटफर्म बनाइदिनुपर्यो कि युवाहरूले आफ्नो कुरा प्रस्ट राख्न पाउनुपर्यो ।
स्मृति पोखरेल, गायिका
सभामा मुख मात्र देखाउने होइन, मन पनि देखाउनु ।
रवीन्द्रसिंह बानियाँ, कलाकार
शरीर र नाकजस्तै काम पनि लामो समय सम्झिने गर्नुहोला ।
लोकेन्द्र लेखक, कलाकार
अपराध बोध गरेर कानुनसम्मत आफूलाई प्रहरीलाई सुम्पनुस् ।
भूपेन्द्र खड्का, गीतकार
सभामुखले जे भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका निष्पक्ष भएर निर्वाह गर्नुहोला ।
राम अविरल, गीतकार
पार्टीलाई भन्दा राष्ट्रलाई ध्यान दिन सक्नुहुन्छ कि हुन्न । जो अन्यायमा परेका छन्, तिनीहरूलाई न्याय दिलाउन के गर्न सक्नुहुन्छ ? न्यायलाई मार्नु हुँदैन ।
देवीराम पराजुली ‘भोकलाग्यो’, कलाकार
राज्यसत्ता सञ्चालन गर्ने सञ्चालकहरूले आफ्नो पदको महत्त्व बुझेनन् । आफ्नो पदको मर्यादाअनुसारको आचरण गरेनन् । नेताहरूमा पदअनुसारको आचरणका लागि शिक्षाकै कमी भएको महसुस सबै जनमानसमा भइरहेको परिप्रेक्ष्यमा वर्तमान सभामुखले पदीय मर्यादा कायम राख्दै, विधिको शासनले निर्दिष्ट काम–कर्तव्यलाई अक्षरश: पालना गर्न र संसद् तथा सांसदहरूलाई राजनीतिक मूल्य–मान्यतामा अगाडि बढाउन आग्रह गर्छु ।
सुमन दाहाल, निर्देशक
न्याय, समानता र कानुनी शासनसहितको समृद्ध र राष्ट्रिय हितका लागि इमानदार, समझदार र जिम्मेवार भएर लाग्नुहोस् ।
लक्ष्मण शेष, संगीतकार