साप्ताहिक संवाददाता
चलचित्र ‘परदेशी २’को मुख्य भुमिकामा चर्चित गायक प्रकाश सपुत इन्ट्रि भएपछि यो चलचित्रको चर्चा बढेको थियो । चलचित्र निर्माण कम्पनी केही दिनमै फ्लोरमा जाने तयारीमा छ ।
यसै क्रममा चलचित्रका निर्देशक नारायण रायमाझीले लिड रोलमा अभिनेत्री वर्षा सिवाकोटीलाई फाइनल गरेका छन् । फागुनको दोस्रो सातादेखि छायांकन थाल्ने तयारीमा रहेको निर्माण टिमले अहिलेकी चर्चित अभिनेत्री सिवाकोटीलाई फाइनल गरेको छ ।
हालै, ‘चालबाज’को छायांकन सकाएकी वर्षाले रमेश वुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’मा पनि काम गर्नेछिन् । तर, यो चलचित्रको छायांकन सुरु हुन अझै केहि महिना लाग्ने बुझिएको छ । सोहि कारण वर्षाले यो बिचको समय चलचित्र परदेशी २ लाई दिन लागेको चर्चा छ ।
अभिनेत्री सिवाकोटीले आफु परदेशी २ सँग जोडिएको सुनाइन् । उनले भनिन्, ‘र, चलचित्रको कथा अनि यसको टिम मन परेपछि काम गर्न राजी भएकी हुँ ।’
चलचित्र ‘परदेशी २’ले वैदेशिक रोजगारीमा जाने नेपालीको पीडा बोल्नेछ । चलचित्रमा अर्की एक जना अभिनेत्री समेत हुनेछिन् । अहिले उनको खोजी भैरहेको स्रोतले जनाएको छ । चलचित्र ‘परदेशी’मा प्रशान्त तामाङ, रजनी केसी लगायतका कलाकार थिए । यो चलचित्र निकै हिट भएको थियो । यो चलचित्र प्रदर्शन भएको धेरै बर्षपछि सिक्वेल आउन थालेको हो ।