‘एनआरएन कसैको स्वार्थपूर्तिको भर्‍याङ हुन सक्दैन’

- जनक तिमिल्सिना

माघ १९, २०७६

 

राजनीतिक सम्वद्धताका हिसाबले पनि गएको चुनावमा धेरै विकृति देखिए तर अब हामी यसलाई नियन्त्रण गर्छौं र यो संस्थालाई राजनीतिक संलग्नताबाट टाढा राख्छौं ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त एक उदीयमान नेपाली व्यवसायी हुन् । गोरखामा जन्मिएर सन् १९९७ मा पढाइका सिलसिलामा ग्रिस हँदै जर्मनी पुगेका उनको त्यहाँ राम्रो बन्द व्यापार छ । गत कात्तिकमा काठमाडौंमा सम्पन्न एनआरएनएको नवौं विश्व सम्मेलनबाट अध्यक्षमा चुनिएपछि उनको नेपाल आउने क्रम बाक्लिन थालेको छ । नेपाल आएको अवसर छोपेर हालैको एक दिन उनीसँग साप्ताहिकका जनक तिमिल्सिनाले नेपाली डायस्पोरा र एनआरएनका पछिल्ला गतिविधिका बारेमा गरेको कुराकानीको सम्पादित अंश :

संसारभर छरिएको नेपाली डायस्पोराको अवस्था के छ, यतिबेला ? 

२०४६ सालको परिवर्तनपछि नेपालीहरू बिदेसिने क्रम सुरु भएको हो । अहिले झन्डै ७० लाख नेपाली बाहिर बस्दै गर्दा आधाभन्दा बढी जनसंख्या खाडी र मलेसियालगायतका देशमा छन् । त्यहाँका साथीहरू श्रमिकका रूपमा हुनुहुन्छ । यससँगै युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका देशमा ठूलो संख्यामा नेपाली दक्ष जनशक्ति छ । जब गैरआवासीय नेपाली संघ स्थापना भयो, हामीले नेपालीहरूले सिकेको ज्ञान, सीप, प्रविधि अनि पुँजी नेपालको हित र समृद्धिका निम्ति लगाउने भनेर भनेका थियौं । अहिले पनि मुलुकको अर्थतन्त्रको ३५ प्रतिशत हिस्सा गैरआवासीय नेपालीहरूले पठाएको रेमिट्यान्सको पैसाले धानिरहेको छ । त्यसमा पनि रेमिट्यान्सको ठूलो हिस्सा मिडिल इष्ट र मलेसियाबाट नै छ । 

तर, तिनै श्रमिक एनआरएनका मुद्दा तपाईंहरूले उठाउनु भएन र एनआरएनलाई केही ‘एलिटहरूको क्लब’ बनाउनु भन्ने आरोप छ नि ? 

त्यो एकदमै जायज गुनासो हो । खाडीको ठूलो वर्गलाई जुन रूपमा चासो दिनुपर्ने हो, त्यो ढंगले चासो नदिएको एकदम सही कुरा हो । तर अब हाम्रा प्राथमिकता र सोच फेरिएका छन् । हामीले श्रमिक कल्याणकारी कोष भनेर सुरु गरेका थियौं त्यसमा न्यून रकम थियो, म आउनेबित्तिकै पहिलो बैठकबाटै १ करोड ९ लाख रूपैंयाँ त्यसमा थपेर अगाडि बढायौं । नेपाल राष्ट्र बैंकसँग पनि तीव्र लबिइङमा छौं । प्रधानमन्त्रीज्यूसँग पनि छुट्टै भेटेर रेमिट्यान्सले अर्थतन्त्र धानिएको भन्नुहुन्छ, यो वर्गका लागि केही काम गरिदिनुपर्‍यो, दैनिक साथीहरू घाइते, अंगभंग भइराख्नुभएको छ, मृत्यु भएका साथीहरूको लाश ल्याएर परिवारलाई बुझाउन सक्ने अवस्थामा समेत हामी छैनौ, यसका लागि राज्य र हामी मिलेर काम गर्नुपर्‍यो । त्यसले वैदेशिक रोजगारीमा जाने मान्छेलाई पैसा पठाउन र लिगल च्यानल प्रयोग गर्न उत्साहित गरोस् भनेर भनेको छु । प्रधानमन्त्रीज्यूले पनि यो ठीक कुरा हो भन्नुभएको छ । अब हामी वैदेशिक रोजगारीमा जाने विशेषगरी खाडी, मलेसियामा जाने साथीहरूको हितका निम्ति आकर्षक कार्यक्रम लिएर आउँछौं । 

नेपालको विकास र समृद्धिमा लगानी गर्ने तपाईंहरूका नारा चाहिँ कता अलपत्र परे ? 

गैरआवासीय नेपालीहरूले व्यक्तिगत रूपमा अथवा सामूहिक रूपमा ठूला–ठूला लगानी नेपालमा ल्याउनुभएको छ, त्यसले लाखौं रोजगारीका अवसरहरू सिर्जना भइरहेका छन् । ठूला हस्पिटल, होटल, बैंक, हाइड्रोपावरलगायतमा गैरआवासीय नेपालीहरूको लगानी छ । साना लगानीकर्ता साथीहरूले पनि सामूहिक रूपमा थुप्रै लगानी ल्याइरहनुभएको छ । 

सन् २००३ मा एनआरएन गठन हुँदा यसमा निकै आकर्षण थियो, झन्डै १७ वर्षको अवधिमा त्यो अहिले देखिँदैन । एनआरएनले लगानीका ठूला सपना देखाएको तर पूरा नगरेको आरोप लाग्छ, के भन्नुहुन्छ ? 

गैरआवासीय नेपाली संघ सामाजिक संस्था भएकाले आफैंले लगानी ल्याउने काम गर्दैन । तर, यसले लगानीका लागि वातावरणको सिर्जना गर्ने, साथीहरूलाई उत्प्रेरित गर्ने, नेपालमा ऐन–कानुन लगानीमैत्री बनाउन सरकारसँग लबिइङ गर्ने काम गर्छ । सन् २००३ मा गैरआवासीय नेपाली संघ स्थापना भयो, नेपालमा चरम द्वन्द्वको स्थिति थियो । त्यस्तो बेलामा पनि नेपालमा लगानीको सम्भावना छ, यो द्वन्द्व लामो समय रहँदैन । नेपालमा लगानी गर्न थाल्नुपर्छ, नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हो भनेर हामीले त्यतिबेलै ठम्याएको हो । अहिले धेरै साथी आफ्नो उतातिरको बिजनेस हाउस बन्द गरेर यहाँ खोल्न थाल्नुभएको छ । थुप्रै साथीले होटलमा लगानी गर्नुभएको छ । बैंकहरूको कुरा गर्ने हो भने सानीमा बैंक, माछापुच्छ्रे बैंक एनआरएनका लगानीका बैंकहरू हुन्, इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंकमा पनि धेरै एनआरएन साथीहरूको लगानी छ । तमोर, सानीमामाई, दोर्दीखोला हाइड्रोपावरजस्ता धेरै ठाउँमा पनि लगानी छ । यसरी हेर्दा गैरआवासीय नेपालीहरूले नेपालमा लगानी नै ल्याएनन् भन्ने कुरा साँचो होइन । 

ज्ञान सीप भित्र्याउने कुरा चाहिँ कहाँ पुग्यो ? 

हामीले नेपालको आर्थिक समृद्धिका लागि गैरआवासीय नेपालीले पठाएको पुँजीले मात्र हुँदैन रहेछ भनेर ठम्यायौं । यत्रो ठूलो संख्यामा विदेशमा दक्ष जनशक्ति छ, ०४६ साल पछाडि धेरै देश–विदेश जान थालेका मान्छेहरूले सिकेको ज्ञान यति धेरै छ, त्यो ज्ञान नेपालको आर्थिक समृद्धिका लागि अझ महत्त्वपूर्ण हुन सक्छ भनेर डेढ वर्षअघि अक्टोबरमा हामीले काठमाडौंमा ‘नलेज कन्भेन्सन’ गरेका थियौं । पूर्वाधार, स्वास्थ्य, हाइड्रो पावर, कृषिलगायतका क्षेत्रमा काम गर्ने झन्डै ५ सय साथी संसारभरबाट आउनुभयो । त्यसपछि एउटा श्वेत्रपत्र जारी गरेर सम्माननीय प्रधानमन्त्रीलाई बुझाएका थियौं । अहिले योजना आयोगले त्यसको कार्यान्वयनका लागि संयुक्त कार्यदल बनाउनुपर्‍यो भनेको छ । हामी फेरि दोस्रो ‘नलेज कन्भेन्सन’ गर्न गइरहेका छौं । यत्रो ठूलो संख्यामा नलेज हासिल गरिरहेका साथीहरूलाई नेपालमा ल्याउन पाउँदा यसले मुलुकको समृद्धिलाई निकै राम्रो गर्छ ।

 

नेपाली डायस्पोरामा हामीसँग कस्ता ‘ब्रेन’हरू छन्, कसरी हामीले प्रयोग गर्न सक्छौं ? 

हामीसँग विज्ञान, पूर्वाधार, फिजिक्स, हेल्थ, टुरिज्म, हाइड्रोलगायतका क्षेत्रमा काम गर्ने नलेजको भण्डार छ । एक उदाहरण, म न्युजिल्यान्ड जाँदा एकपटक ३ जना स्याङ्जाका साथीहरू हुनुहुँदो रहेछ, एउटा गाई फार्ममा ११ सयवटा गाई थिए, ती गाई जम्मा तीन जना साथीले म्यानेज गर्नुभएको रहेछ । गाई दुहुने बेला दूधको खोलाजस्तो बग्दो रहेछ । अब हामी कृषिप्रधान मुलुक भन्छौं, हाम्रो अवस्था यस्तो छ । व्यावहारिक ज्ञान भएका साथीहरू पनि उत्तिकै छन् । इजरायलमा बसेर मरुभूमिमा तरकारी फलाउने साथीहरूको संख्या धेरै छ । 

पहिले हामीमाथि गैरआवासीय नेपाली संघ धनीहरूको संस्था हो, यसमा हाम्रो खासै भूमिका छैन भन्ने पनि साथीहरूलाई लागिरहेको रहेछ, जब हामीले नलेज कन्भेन्सन गर्‍यौं त्यसपछि धेरै विद्वान् साथीहरूले हामीलाई बल्ल गैरआवासीय नेपाली संघलाई तपाईंहरूले ठीक ठाउँमा ल्याउनुभयो, हामीले पनि नेपालको विकास र समृद्धिका लागि योगदान गर्न पाउने भयौं, तयार छौं भन्नुभयो । धेरै साथीहरू कुनै पनि शुल्क नलिई योगदान गर्न तयार हुनुहुन्छ । 

बाहिर आकर्षक सेवा–सुविधा पाएका विज्ञहरूलाई नेपाल ल्याउन कसरी मोटीभेट गर्नुहुन्छ ?

सबै साथीहरूलाई नेपालमा ल्याएर यही काम गराउने भन्ने कुरा तत्काललाई सम्भव छैन । किनभने, धेरै साथी त्यहाँ राम्रो तलब पाएर बसिरहनुभएको छ । हामीले देखेको कृषिमा धेरै विद्वान् साथीहरू विदेशमा हुनुहुन्छ, हामीले विभिन्न कन्भेन्सनमा आइडिया लिने, बैठक तथा कन्फ्रेन्सहरू गर्ने र उहाँहरूको आइडियालाई फ्लो गर्नका लागि केही निश्चित मान्छेहरू नेपालमा ल्याएर राख्ने भनेर सोचिरहेका छौं । हामीले अहिले कृषिलाई एकदमै प्राथमिकता दिइरहेका छौं । हाम्रै प्रविधि र हाम्रै लगानीसहित नेपालमा पुँजी र ज्ञानको कम्बिनेसन गर्ने गरी काम गरिराखेका छौं । साथीहरू बाध्यता र रोजगारीका कारणले उतै बस्न परे पनि केही साथी नेपालमा आएर काम गर्नका लागि पनि तयार हुनुहुन्छ । तर यसमा सरकारले पहलकदमी लिनुपर्छ । 

तपाईंहरू राजनीतिक रूपमा यतिधेरै धु्रवीकृत हुनुहुन्छ, सोचेअनुरूप काम गर्न सक्नु होला ? 

गैरआवासीय नेपाली संघ स्थापना हुँदा सुरुमा २० लाख मानिस मात्र विदेशमा थिए । अहिले ७० लाख मानिस बाहिर बस्छन् । यो संस्था पनि ठूलो बन्दै गयो, त्यतिबेला जम्मा ८/१० वटा देशमा समन्वय परिषद्हरू बनाएका थियौं, अहिले ८२/८३ वटा देशमा हाम्रा राष्ट्रिय समन्वय परिषद्हरू छन् । संगठनको विस्तारसँगै समस्याहरू आएका छन् । राजनीतिक सम्वद्धताका हिसाबले पनि गएको चुनावमा धेरै विकृति देखिए तर अब हामी यसलाई नियन्त्रण गर्छौं र यो संस्थालाई राजनीतिक संलग्नताबाट टाढा राख्छौं । 

व्यक्तिगत रूपमा संस्थाको महासचिव हुँदा विभिन्न राजनीतिक नेतृत्वकहाँ गएर यो संस्थालाई विशुद्ध सामाजिक संस्थाका रूपमा रहन दिनुहोस्, यसलाई राजनीतिकरण नगरिदिनुहोस् भनेर आग्रह गरियो । नेताहरूले राजनीतिकरण नगर्ने र सामाजिक संस्थाकै रूपमा रहन दिने प्रतिबद्धता गर्नुभएको हो । त्यति हुँदाहुँदै पनि पछिल्लो निर्वाचनमा राजनीतिको प्रभाव देखियो । अब मैले जितेर आइसकेपछि त्यसलाई सुधार गर्न नेपालकै राजनीतिक दलहरूबाट एनआरएनलाई बचाउनुपर्छ भन्ने सोचेर आगामी निर्वाचन नेपालमै नगर्ने भनेर मैले घोषणा नै गरिसकेको छु । आगामी निर्वाचन हामी बाहिरै गर्छौं, अहिलेको टेक्नोलोजीको जमानामा घण्टौं लाइन लागेर काठमाडौंमा भोट हाल्नुपर्ने आवश्यकता छैन । प्रविधिमार्फत अनलाइन भोटिङ सिस्टम अपनाएर निर्वाचन गर्छौं । 

संस्थामा आर्थिक चलखेल पनि एकदमै धेरै देखिन थाल्यो । त्यसले गर्दा अबदेखि यो संस्थाको सदस्य बन्नका लागि शुल्क तिरिराख्न नपर्ने, नि:शुल्क पन्जीकरण गर्ने भनेर मैले भनेको छु । पैसा नै नतिर्नु परेपछि केका लागि पैसा खर्च गर्ने ? यसबाट संस्थामा हुने आर्थिक चलखेललाई मत्थर गर्न सकिन्छ । त्यसका लागि हामी विधान अधिवेशन गर्न लागिरहेका छौं । 

काठमाडौंमा हुने सम्मेलन केमा केन्द्रित हुन्छ ? 

काठमाडौंमा हुने सम्मेलनहरू विशुद्ध समृद्धि र विकासका एजेन्डामा केन्द्रित गरिनेछ । गैरआवासीय नेपालीहरूले आर्जन गरेको पुँजी कसरी नेपाल ल्याउने, उनीहरूले हासिल गरेको ज्ञान कसरी ल्याउने, नेपाल सरकार र गैरआवासीय नेपाली संघ मिलेर कसरी नेपालको आर्थिक समृद्धिको निम्ति काम गर्ने, विदेशमा रहेका गैरआवासीय नेपालीहरूका समस्या के छन् ? वैदेशिक रोजगारीमा खाडी मुलुकहरूमा जाने नेपालीहरूका धेरै समस्या छन्, ती समस्यालाई कसरी निराकरण गर्ने विषयमा छलफल गर्छौं । 

एनआरएनएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा पनि नेतृत्व चयनका बेला राजनीतिक विभाजन देखा पर्ने गर्छ, त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ? 

हामी सबै कुरालाई केन्द्रीकरण गर्छौं । अहिले अमेरिकाले एउटा प्रविधिलाई अपनाएर चुनाव गर्छ, अस्ट्रेलियाले अर्को प्रविधि प्रयोग गर्छ । त्यसमा आर्थिक चलखेल हुन्छ । त्यसैले हामी सबैलाई डिजिटलाइज्ड गर्छौंै । त्यसको निर्वाचन पनि यहीँबाट गर्छौं । त्यसपछि स्वत:स्फूर्त सबै सदस्य बन्न पाउँछन् । त्यसको निगरानी हामी केन्द्रबाटै गर्छौं । 

अहिलेका मुख्य समस्या के–के हुन् ? 

अहिलेको एनआरएनको सबैभन्दा ठूलो समस्या भनेको वैदेशिक रोजगारीमा जाने साथीहरूको समस्या हो । हामीले राज्यसँग यसमा सहयोग मागिरहेको छौं । लगानी ल्याउन केही कानुनी अड्चनहरू नेपालमा छन्, जस्तो ल्याइसकेपछि लिएर जान नपाउने छ । नेपालमा लगानी गरेपछि अन्त लगेर चलाउनै पाइँदैन भनेपछि गाह्रो अवस्था सिर्जना हुन्छ, त्यसमा पनि हामीले सवालहरू उठाइरहेका छौं । दोहोरो करको समस्या पनि छ । दोहोरो कर तिर्नु नपर्ने सम्झौता राज्यले विभिन्न देशहरूसँग गर्नुपर्‍यो । गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न राज्यले सम्बोधन गर्नुपर्ने कुरा पनि धेरै छन् ।

सांगठनिक रूपमा गैरआवासीय नेपाली संघका चुनौती के छन् ? 

झन्डै ७० लाख मान्छे बाहिर बस्दै आए पनि हाम्रो संस्थामा १ लाख हाराहारी सदस्य छन् । यसलाई ७० लाख मान्छेहरूबीचमा पुर्‍याउनुपरेको छ । त्यो पुर्‍याउनका लागि सबैले विश्वास गर्ने संस्था बनाउनुपर्ने छ, त्यो हाम्रो चुनौती हो । यो संस्था साँच्चै नेपाल र नेपालीको हितका निम्ति काम गर्छ भनेर अझै पनि केही वर्गलाई बुझाउन बाँकी छ । त्यतातर्फ हामीले चासो दिइरहेको छौं । एउटा विद्वान्वर्ग हामीबाट बाहिर थियो त्यो वर्गलाई जोड्नका लागि हामीले काम नै सुरु गरिसकेका छौं । हामीसँग ठूलो नेटवर्क छ । यत्रो ठूलो नेटवर्कलाई देखाउन पाउने हो भने त ठूलो च्यारिटीका कामहरू नेपालमा हुन्छन् । त्यो नेटवर्क पूरै परिचालन गर्नका लागि हामीले योजना बनाइरहेका छौं ।सबैलाई डिजिटालाइज्ड गर्ने भनेर हामीले ‘स्मार्ट एनआरएनए’ सुरु गरेका छौं । 

कतिपयले अब एनआरएनएका धनीहरू सकिए, अब संस्था चलाउन गाह्रो छ भनेर पनि टिप्पणी गर्छन्, के भन्नुहुन्छ ? 

एनआरएनएमा काम गर्न भनेर तयार भएको युवापुस्ता लामबद्ध छ । त्यसैले धनी मान्छे हाम्रो संस्थामा आउँदैन कि भन्ने कुनै समस्या छैन । अर्को कुरा धन भएर मात्र नेतृत्वमा आउने होइन, बुद्धि भएको मान्छेले पनि संस्था चलाउन सक्छ । हामीले संस्थालाई कसरी आर्थिक रूपमा सम्पन्न बनाउने भनेर कोषाध्यक्षको अध्यक्षतामा एउटा टिम बनाएर कहाँबाट स्रोत जम्मा गर्ने र स्रोतलाई कसरी मोबिलाइज गर्ने भन्ने काम सुरु भइसकेको छ । जसले गर्दा मनग्य पैसा भएका साथीहरू पनि यो संस्थामा आएर योगदान गर्न तयार हुनुुहुन्छ र पैसा नहुने साथीहरूलाई पनि संस्थाको नेतृत्वमा ल्याउने योजना बन्दैछन् । 

सञ्चारमाध्यममा एनआरएनएको ढुकुटी खाली भयो भन्ने खालको समाचार पनि आएको थियो नि ? 

हामीले ठूला–ठूला तीनवटा प्रोजेक्ट एकैपटक गरेका थियौं । गोरखा लाप्राकको नमुना बस्ती, एनआरएनएको भवन, शंखमूल पार्क । शंखमूल पार्क बनाउन हामीलाई ठूलो बजेटको आवश्यकता थियो, भएको बजेट सबै त्यहाँ खर्च भैसकेपछि नयाँ बजेट जम्मा गर्नुपर्छ । फेरि हामीले नयाँ प्रोजेक्टहरू पनि ल्याइरहेका छौं । जस्तै, काठमाडौंका सार्वजनिक ठाउँहरूमा शौचालय बनाउने भनेर ४–५ वटा ठाउँमा महानगरपालिकासँग सम्झौता गर्दैछौं । साथै, आर्थिक पाटोलाई मजबुत बनाउने गरी कार्ययोजनाहरू बनिरहेका छन् ।

एनआरएनका आर्थिक स्रोतहरू के–के हुन् ? 

फाउन्डेसन भइसकेपछि च्यारिटीका लागि ठूलो रकम बाहिरबाट आउँछ । अहिले पनि ८ सय वटा कर्पोरेट हाउसहरूसँग हामीले सम्झौता गरिसकेका छौं । हामीलाई स्पोन्सर गर्न चाहने संस्थाहरू पनि धेरै छन् । 

संसारभर रहेका दोस्रो पुस्ताका नेपालीलाई मातृभूमितिर आकर्षित गर्ने योजना के छ ? 

हामी त यहीं जन्म्यौं, यहीं हुर्कियौं । नेपालसँग छुट्टै सम्बन्ध छ । दोस्रो पुस्तालाई नेपालसँग कसरी जोड्ने भन्ने अहम् सवाल हो । पहिले हामीले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गथ्र्यौं, त्यो त्यति प्रभावकारी भएन । कतिपय बच्चा त नेपाल घुम्न जाने भनेपछि अरुतिर जान पाए हुन्थ्यो, रमाइला ठाउहरू अन्त छन्, दुबई जाने भन्छन्, थाइल्यान्डतिर जाने भन्छन् । यो परिवर्तनका लागि हामी र राज्य मिलेर काम गर्नुपर्छ । अहिले हामी संसारका विभिन्न देशहरूमा नेपाली भाषाका कक्षाहरू सञ्चालन गरिरहेका छौं । नेपालसँग जोड्ने अर्को ठूलो कुरा खेल रहेछ, बच्चाहरूले खेल्ने फुटबललगायतका खेलहरूमार्फत दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानमा जोड्ने र त्यसलाई नेपालसँग जोड्ने भनेर हामीले एन्फासँग पनि कुरा गरिरहेका छौं । खेल क्षेत्रमा प्रतिस्पर्धा गराउने, नृत्य प्रतिस्पर्धा गराउने, भाषा अनिवार्य सिकाउनेजस्ता काम गर्नुपर्छ । बच्चाहरूको मनोरञ्जन लिने भौतिक पूर्वाधारहरू पनि छैनन् । चिल्ड्रेन पार्क, वाटर पार्कतिर पनि अब लगानी गर्नुपर्छ ।

 

दोहोरो नागरिकता पाइहाल्ने हुनुभो अब के छन् अरू माग ? 

आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था सरकारले गरिदिएको छ, त्यो ठीक छ । हामीले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, हामीसँग भएको नागरिकता किन खोसिदिनुपर्‍यो । जबकि हामी विदेशमा गएका छौं, ३, ४, ५ वर्ष बसेपछि त्यहाँको राज्यले ल तिमी यहाँको नागरिकता लेऊ भनेर भन्छ भने हामी त यही देशमा जन्मेको, हुर्केको, यही देशको मान्छे, बावुआमा यहीं भएका मान्छेको नागरिकता किन खोसिदिनुपर्‍यो ? अहिले राजनीतिक अधिकारबाहेकको नागरिकता हामीलाई दिने भन्ने छ, यसलाई हामी स्विकार्छौं । तर, राजनीतिक अधिकार दिँदा पनि राज्यलाई केही फरक पर्दैन भन्ने हाम्रो भनाइ यथावत् नै छ । त्यो नागरिकताको निरन्तरताले पनि दोस्रो पुस्तालाई नेपालसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्छ । 

एनआरएनमा अगाडि सार्दै आएको भिजन–२०२० मा कसरी काम भइरहेको छ ? 

भिजन २०२० मा भएको कुरा भनेको पोलिसि इन्स्टिच्युट बनाएर जसमा गैरआवासीय नेपालीहरूलाई परिचालन गर्ने भन्ने छ । त्यो काम सुरु भइसकेको छ । विशेषगरी बाहिर बसेर काम गर्दै गर्दा राम्रो आयस्रोत भएका नेपाली बाहिर छन् । सुरुमा गैरआवासीय नेपाली संघ स्थापना हुँदा त्यस्तो अवस्था थिएन, तर अहिले मनग्य पैसा कमाउने साथीहरू बाहिर हुनुहुन्छ । त्यहाँ पैसा कमाइसकेपछि स्वाभाविक रूपमा कर तिर्नुपर्छ । त्यसैले कुनै एउटा फाउन्डेसनमार्फत च्यारिटी गरेर नेपालमा परोपकारी क्षेत्रमा काम गर्न पाइयो भने राम्रो हुन्थ्यो, तर फाउन्डेसनको अभावमा नेपालमा च्यारिटीका कामहरू कम आइरहेका छन् । त्यसैले अहिले हामीले संसारका विभिन्न ठाउँहरूमा फाउन्डेसन दर्ता गरेर नेपालमा च्यारिटीका कामहरू उत्प्रेरित गर्ने भनी सुरु गरिसकेका छौं । यसबाहेक संगठनका आन्तरिक कुराहरूमा पनि सम्बन्धित छन् । त्यसमध्ये ५ जना उपाध्यक्षलाई विभिन्न जिम्मेवारी दिने भनिएको थियो त्यो पनि सुरु भइसकेको छ । भिजन–२०२० को कार्यान्वयन गर्ने भनेर एउटा छुट्टै कमिटी बनाएर उपाध्यक्षको नेतृत्वमा एउटा टिम बनाएर काम सुरु गरिएको छ ।

 

एनआरएन केही टाठाबाठाले ‘पोलिटिकल नेक्सस’ का लागि मात्र बनाएका हुन् भन्ने आरोप तपाईंको कार्यकालले मेटाउँछ ? 

अब हामीलाई त्यस्तो खाले चार्ज लाग्दैन । यसलाई हामी सुन्दर प्लेटफर्म बनाउन चाहन्छौं । यो प्लेटफर्मबाट राज्यले पनि आफूलाई चाहिएको कुरा लेओस् । साथै, गैरआवासीय नेपाली, श्रमिक साथीहरूले पनि आफूलाई चाहिएको कुरा मात्र लिऊन् । त्यसैले यो एउटा सुन्दर प्लेटफर्म बनाउने हो । अब यसलाई भर्‍याङ बनाएर कसैले आफ्नो स्वार्थपूर्ति गर्न खोजेको छ भने अब नसोचे हुन्छ ।

प्रकाशित :माघ १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×