साप्ताहिक संवाददाता
सन् २०२० खेलकुदप्रेमी दर्शकका लागि निकै दिलचस्पी समय हुनेछ । बलिउडमा बनिरहेका खेलकुदप्रधान चलचित्रलाई विगतमा पनि दर्शकले निकै मन पराएका थिए, चाहे त्यो ‘एमएस धोनी’ जस्तो बायोपिक फिल्म होस् वा ‘चक दे इन्डिया’ जस्तो खेल समर्पित फिल्म होस् । यो वर्ष बक्सिङदेखि लिएर ब्याडमिन्टन, क्रिकेटजस्ता खेलमा बनेका ६ खेलसम्बन्धी चलचित्र थिएटरमा आउने तयारी गरिरहेका छन् ।
कंगना रणावत अभिनीत चलचित्र ‘पंगा’ वर्षको धमाकेदार सुरुवात गर्न थिएटरमा आइरहेको छ । यो चलचित्र राष्ट्रिय कबड्डी खेलाडीको कथामा आधारित छ, जसमा कंगना राष्ट्रिय कबड्डी खेलाडी जया निगमको भूमिकामा छिन् । यो चलचित्रलाई आश्विनी अय्यरले निर्देशन गरेका हुन् ।
कविर खान निर्देशित चलचित्र ‘८३’ पनि बायोपिक चलचित्र हो । भारतका महान् क्रिकेटर कपिल देवको जीवनकथामा आधारित यो चलचित्र अप्रिल ३० मा रिलिज हुँदैछ । चलचित्रले भारतले सन् १९८३ मा विश्वकप क्रिकेट जित्दा त्योसँग जोडिएका र बाहिर सार्वजनिक नभएका कुरालाई उठान गरेको छ । चलचित्रमा अभिनेता रणवीर सिंहले कपिल देवको भूमिका निर्वाह गरेका छन् । यो चलचित्रमा उनको रियल लाइफकी श्रीमती दीपिका पादुकोणले नै रिल लाइफकी श्रीमती रोमी भाटियाको भूमिका निर्वाह गरेकी छन् ।
अभिनेत्री परिणिति चोपडा स्टारर ‘साइना’ले ब्याडमिन्टर स्टार साइना नेहवालको जीवनलाई उतारेको छ । अमोल गुप्तको निर्देशनमा बनेको यो चलचित्र यसै वर्ष रिलिज हुँदैछ । यो चलचित्रमा परिणितिको स्थानमा श्रद्धा कपुरलाई लिइएको थियो, तर सुटिङको समय तालिका जुध्ने भएकाले श्रद्धाले यो चलचित्रमा काम गर्न सकिनन् । चलचित्रमा मानव कौल पनि प्रमुख भूमिकामा छन् । जो साइनाको कोच पुलेला गोपीचन्दको भूमिकामा देखिँदैछन् ।
चलचित्र ‘भाग मिल्खा भाग’ जस्तो ब्लक ब्लस्टर चलचित्रपछि राकेश ओमप्रकाश मेहरा र फरहान अख्तरको जोडी एकपटक पुन: बक्स अफिसमा धुम मच्चाउनका लागि चलचित्र ‘तुफान’ लिएर आउँदैछन् । ‘तुफान’ एक बक्सरको कथा हो, जहाँ प्रेमका कथा पनि जोडिएका छन् । चलचित्रमा परेश रावल र मृणाल ठाकुर पनि प्रमुख भूमिकामा छन् ।
आकर्ष खुरानाको निर्देशनमा बनेको चलचित्र ‘रश्मि रकेट’ गुजरातको एक एथलिटको फिक्सन कथा हो । यो चलचित्र पनि यसै वर्ष रिलिज हुँदैछ । सन् २०१९ अगस्ट ३० मा रिलिज भएको ‘रश्मि रकेट’को पोस्टर हेर्दा अभिनेत्री तापसी पन्नु प्रमुख भूमिकामा चलचित्रमा देखिँदैछिन् । यो चलचित्रको रिलिज जेट अहिलेसम्म सार्वजनिक भएको छैन । यो चलचित्र अघि नै तापसी ‘सुरमा और सांड की आँख’ जस्ता चलचित्रमा देखिइसकेकी छन् ।