सन्तुलित, भोजनको सेवनले तन्दुरुस्त व्यक्तिलाई प्रोस्टेट तथा अन्य रोगहरूको समेत कम जोखिम हुने भएकाले शारीरिक व्यायाम तथा सन्तुलित आहारको प्रयोग गर्नुपर्छ ।
प्रोस्टेट क्यान्सरमा विभिन्न क्यान्सरमध्ये दोस्रो उच्च जोखिम रहेको पाइएको छ । अमेरिकामा प्रत्येक नौ जना व्यक्तिमध्ये एक जना यो रोगबाट पीडित रहेको अनुसन्धानबाट पत्ता लागेको छ । नेपालमा पनि दिन–प्रतिदिन प्रोस्टेट क्यान्सरको संक्रमण बढ्दै गइरहेको छ । प्रोस्टेट क्यान्सर पुरुषहरूमा देखिने प्रमुख रोगहरूमध्ये एक हो । अहिले नेपालमा ६० वर्षमाथिका पुरुषमा प्रोस्टेट क्यान्सर बढी भएको पाइएको छ । अव्यवस्थित जीवनशैली, खानपान, रहनसहन, कम शारीरिक परिश्रम तथा उचित पोषणको कमीले गर्दा यो रोग लाग्ने गरेको पाइएको छ । धूमपान, मद्यपान, धेरै आरामदायी जीवन, बाहिरको खानाको अधिक प्रयोग, बट्टा बन्द गरिएका खाना, जंकफुड तथा मैदाजन्य खानाको उपयोगले पनि प्रोस्टेटको समस्यालाई बढावा दिन्छ । उचित मात्रामा स्वस्थकर र पोसिला खानेकुरा, शारीरिक व्यायाम, सन्तुलित भोजन, सकारात्मक सोचले यसको रोकथाम गर्न सकिन्छ ।
के खाने ?
राता फलफूल तथा तरकारी : अमेरिकन इन्स्टिच्युट अफ क्यान्सर रिसर्चले हालसालै गरेको अनुसन्धानअनुसार राता फलफूल तथा तरकारी जस्तै— गोलभेंडा, खरबुजा तथा राता प्रकारका खाद्य पदार्थमा रोग प्रतिरोधात्मक तत्त्व हुने भएकाले प्रोस्टेट क्यान्सरको उच्च जोखिमलाई कम गर्ने पुष्टि गरेको छ ।
फलफूल तथा हरिया सागपात : हरिया सागपात तथा फलफूलमा रोगसँग लड्ने क्षमताले भरिपूर्ण गुण हुन्छन् । यसले प्रोस्टेट क्यान्सर हुनबाट जोगाउन मद्दत गर्छ । फलफूलमा भएको यौगिक गुणले क्यान्सरसँग लड्ने क्षमता वृद्धि गर्छ । यसमा रहेका यौगिक गुणले प्रोस्टेट क्यान्सरको प्रतिरक्षा गर्छ । ब्रोकाउली, काउली, बन्दा, सलगममा सल्फोराफाइन नामको रसायन हुन्छ, जसले प्रास्टेट क्यान्सर हुनबाट जोगाउँछ ।
माछा तथा ओमेगा थ्री : ओमेगा थ्री फ्याटी एसिडले प्रोस्टेट क्यान्सरको विरुद्धमा मुख्य भूमिका निर्वाह गरेको पाइएको छ । यो वनस्पति तथा जनावर दुवै प्रकारका पदार्थमा र खास गरी माछामा पाइन्छ । आलस, ओखर, बदाम तिलमा पनि ओमेगा थ्री पाइन्छ । यी खाद्यपदार्थको प्रयोगले पनि प्रोस्टेट क्यान्सरको जोखिम न्यूनीकरण गर्छ ।
फोलिट एसिडयुक्त खाना : अमेरिकन क्यान्सर समाजले सन् १९९० मा गरेको एक अनुसन्धानले शरीरमा फोलिट एसिडको कमी भएमा प्रोस्टेट क्यान्सरको खतरा बढी हुने देखाएको थियो । गेडागुडी, दाल, हरियो सागपात, ओट्समा फोलिट पाइने भएकाले यस्ता खानेकुराहरू खाने गर्नुपर्छ । सोयाबिन, तोफुमा पनि प्रोस्टेट क्यान्सरको जोखिम घटाउने तत्त्व हुन्छ ।
ग्रिन टीको सेवन : अन्य चिया, कफीको सट्टा ग्रिन टीको सेवन स्वस्थकर हुन्छ । सन् २०१४ मा गरिएको एउटा अध्ययनले ग्रिन टीको सेवन प्रोस्टेटको क्यान्सर न्यूनीकरण गर्न सफल भएको देखाएको थियो ।
फलफूल तथा यसबाट बनेको क्यान्डी ।
ताजा तरकारी तथा यसबाट प्रशोधित पदार्थ ।
बदाम, बीउ, ओखर, तील, आलस, काजु आदिमा खनिज तत्त्व, जिंक, प्रशस्त मात्रामा पाइने हुँदा यसको सेवन राम्रो मानिन्छ ।
के नखाने ?
अधिक तापक्रममा पकाएको मासु : मासुले यसै पनि प्रोस्टेटको क्यान्सरको खतरा बढाउँछ । त्यसमा पनि अधिक तापक्रममा पकाइएको मासुले यसको जोखिम अझ बढाउँछ ।
जनावरबाट प्राप्त चिल्लो पदार्थ : सन् २०१४ मा गरिएको एक अध्ययनले जनावरबाट उत्पादन गरिएको चिल्लो पदार्थको अत्यधिक प्रयोगले प्रोस्टेट क्यान्सरको उच्च जोखिम रहेको देखाएको छ । चिज, बटर, नौनी, रातो बोसोयुक्त मासुको प्रयोग सकेसम्म कम गर्नु उपयुक्त हुन्छ ।
दुग्ध पदार्थ : दुग्ध पदार्थको अत्यधिक प्रयोग पनि प्रोस्टेट क्यान्सरको कारक बन्न सक्छ ।
चुरोट, बिंडी, खैनी आदि : धूमपानले धेरै रोग निम्त्याउँछ । चुरोट, बिंडी, खैनीको सेवनले छाती तथा फोक्सोको रोगका साथै प्रोस्टेटको समस्यासमेत बढाउने भएकाले यसको सेवन गर्नु हँुदैन ।
अन्त्यमा, धेरै मोटोपना तथा धेरै कम तौल हुनु पनि प्रोस्टेटको समस्याको आधार हुन सक्छन् । त्यसैले आफ्नो तौल नियन्त्रणमा राख्नुपर्छ । सही तथा सन्तुलित, भोजनको सेवनले तन्दुरुस्त व्यक्तिलाई प्रोस्टेट तथा अन्य रोगहरूको समेत कम जोखिम हुने भएकाले शारीरिक व्यायाम तथा सन्तुलित आहारको प्रयोग गर्नुपर्छ । पौडी खेल्नु, योग गर्नु, फटाफट हिँड्नु, दौड्नु, साइकल चलाउनु, डोरी खेल्नु तन्दुरुस्त हुने सरल उपायहरू हुन् । यी उपायहरू अपनाएर प्रोस्टेट तथा अन्य रोगहरूबाट आफूलाई जोगाउन सकिन्छ । धेरै तारेको, फ्राइ, प्याकेटको सामान, मैदाको खानेकुरा, अत्याधिक चिल्लो पदार्थको उपभोग राम्रो मानिँदैन । सकारात्मक सोच, सक्रिय जीवनशैली, समयमा सुत्ने तथा उठ्ने गरेमा धेरै रोगबाट जोगिएर निरोगी बन्न सकिन्छ ।