साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘बुलबुल’ले ‘साउथ एसियन फिल्म फेस्टिभल’मा पब्लिक च्वाइस एवार्ड जितेको छ । प्रतिष्ठित फिल्म फेष्टिभल मध्येको एक साउथ एसियन फिल्म फेस्टिभल’मा छनोट भएको ‘बुलबुल’ले पब्लिक च्वाइस एवार्ड जितेको निर्देशक विनोद पौडेलले जानकारी दिएका छन् ।
एवार्ड जितेपछि पौडेलले भनेका छन्– ‘यो एवार्डले आगामी चलचित्रमा थप मिहिनेत गर्ने उर्जा प्रप्त गरेको छु ।’ उनी अगाडी थप्छन– ‘यो एवार्ड बुलबुलले जित्नु भनेको समग्र नेपाली चलचित्र उद्योगले जित्नु हो ।’ फेष्टिभलमा नेपाली चलचित्रले एवार्ड जित्नु नेपाली चलचित्रको विदेशी बजारमा प्रचारप्रसार भएको पौडेलको बुझाई छ ।
‘साउथ एसियन फिल्म फेस्टिभल’ जनवरी २८ देखि फेब्रुअरी २ सम्म फ्रान्सको पेरिसमा भएको थियो । फेस्टिबलमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक विनोद सहभागी भएका थिए ।
साउथ एसियन फिल्म फेस्टिबल’मा यस अघि मीन भामको ‘कालो पोथी’ र दीपक रौनियारको ‘ह्वाइट सन’ पनि छनोट भएका थिए ।