बढ्दो आर्थिक क्रियाकलाप, बेरोजगारी तथा मानिसहरूमा विकसित असीमित लालसाका कारण पछिल्ला वर्षहरूमा अनेक बहानामा नेपालबाट हुने मानव तस्करीका घटना डरलाग्दो किसिमले बढिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षमा मात्रै मानव बेचबिखनसम्बन्धी १ हजार ५ मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
२९ मंसिरमा २२ वर्षीया पढेलेखेकी युवती रमिला (नाम परिवर्तन) लाई मोडलिङको अफर आयो । ५ फिट ११ इन्च हाइट भएकी रमिलाको भिडियो सुट गरेर लिइयो । सुरुमा २० हजार भनिएको पारिश्रमिक ४ दिनपछि ५० हजारसम्म पुर्याइयो । प्रस्ताव राम्रो देखेपछि युवतीले नकार्न सकिनन् । सुरुमा काठमाडौं गर्ने भनिएको कार्यक्रमपछि विराटनगर भनेर उनलाई टिकटसमेतको व्यवस्था गरेर उत्तै लगियो । समूहका व्यक्तिहरूले महिनावारी, मासु खाने/नखानेलगायतका अनौठा प्रश्न सोधेपछि रमिला पहिला आफैं प्रहरीकहाँ पुगेकी थिइन् । पछि कार्यक्रममा जाँदा उनले यो कुरा आफन्तमार्फत प्रहरीकहाँ पुर्याइन् । १० पुसमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ‘तान्त्रिक पूजा’का लागि भारत लैजाने तयारी गरिरहेको समूहका १ महिलासहित ७ जनालाई पक्राउ गर्दै विराटनगरबाट उनको उद्धार गर्यो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले मोटो रकम पाउने आशामा युवतीलाई विराटनगर हुँदै तान्त्रिक पूजाका लागि बोर्डर पार गराउने योजना प्रहरीले असफल पारेको बताए ।
१२ भदौमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले चीनमा विवाहको आडमा नेपाली महिलाको तस्करी गर्ने गिरोहलाई पक्राउ गर्यो । विवाह गरेर चीन जाने प्रक्रियामा रहेका चार जना पीडित युवतीको उद्धार गरेको टोलीले उक्त कार्यमा संलग्न दुई जना चिनियाँ नागरिक र चार जना नेपालीलाई पक्राउ गर्यो । नेपाली युवतीहरूलाई चिनियाँ युवकसँगको विवाहमा लोभ्याएर चीनमा ओसार–पसार गर्ने कार्यमा उक्त गिरोह सक्रिय रहेको अनुसन्धानबाट खुल्न आयो ।
अध्ययनका लागि अस्ट्रेलिया लैजाने भनेर इन्डोनेसिया पुर्याएर अलपत्र पारेको उजुरीका आधारमा गत भदौमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गर्यो । उक्त गिरोहले आकर्षक रोजगारी तथा अध्ययनको प्रलोभनमा पारी नेपालका विभिन्न स्थानबाट काठमाडौं ल्याउने साथै ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक प्रयोग गरेर अस्ट्रेलिया भिसा लगाउने भन्दै प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँ लिएर काठमाडौं, मलेसिया हुँदै इन्डोनेसियामा पुर्याउने, त्यहाँ उनीहरूका राहदानी, नगद तथा भिसासमेतका कागजातहरू नियन्त्रणमा लिएर भारतीय मूलका व्यक्तिहरूसँग मिलेर बन्धक बनाएर कुटपिट गर्ने तथा चरम आर्थिक, शारीरिक तथा मानसिक शोषण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको थियो ।
यीतीन त मानवताविरुद्धकै अपराध मानिने मानव बेचबिखन फरक शैलीमा कसरी हुँदैछ भन्ने दृष्टान्त मात्रै हुन् । बढ्दो आर्थिक क्रियाकलाप, बेरोजगारी तथा मानिसहरूमा विकसित असीमित लालसाका कारण पछिल्ला वर्षहरूमा अनेक बहानामा नेपालबाट हुने मानव तस्करीका घटना डरलाग्दो किसिमले बढिरहेका छन् । नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार पछिल्ला चार आर्थिक वर्षमा मात्रै मानव बेचबिखनसम्बन्धी १ हजार ५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । ती घटनाहरूमा संलग्न १ हजार १ सय ७६ जना पक्राउ परेका छन्, जसमध्ये नेपाली ८ सय ११ जना पुरुष र ३ सय १९ जना महिला छन् । यस्तै, ४३ जना विदेशी पुरुष र ४ जना महिला पनि समातिएका छन् । प्रहरी तथ्यांकले ती घटनामा संलग्न स्वदेशी तथा विदेशी गरी १ हजार ९ सय १९ जना फरार रहेको देखाएको छ ।
चालू आर्थिक वर्षमा प्रहरीले उपत्यकासहित देशका विभिन्न ठाउँबाट मानव तस्करको चंगुलमा परेका २ हजार ३ सय ३४ जनालाई उद्धार गरेको छ भने विदेशका विभिन्न ठाउँबाट २ सय ५० जनाको उद्धार गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनले अझ गम्भीर तथ्य बाहिर ल्याएको छ । उक्त प्रतिवेदनमा नेपालमा गत वर्षमात्रै ३५ हजार व्यक्ति मानव बेचबिखनमा परेको उल्लेख छ ।
यो डरलाग्दो आँकडालाई निरुत्साहित गर्नकै लागि गत वैशाख अन्तिममा नेपाल प्रहरीले छुट्टै ‘मानव बेचबिखन अनुसन्धान ब्युरो’ नै स्थापना गर्यो । मानव तस्करीजस्तो अन्तर्राष्ट्रिय सन्जाल भएको संगठित अपराध नियन्त्रण गर्न विशेष जनशक्ति र स्रोत साधनसहित गठन भएको ब्युरोले ९ महिनामै मानव बेचबिखनका २३ मुद्दामाथि अनुसन्धान गर्यो । ती घटनाबाट मानव तस्करहरूको फन्दामा परेका २ सय ७२ जनालाई उद्धार गरिएको ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलिया बताउँछन् । ब्युरोले नेपालभित्रका साथै भारत, कुवेत, इराक, लिबिया, केन्या, ग्रिस, इन्डोनेसिया, मालवी, म्यानमारलगायतका देशहरूबाट मानव तस्करको चपेटामा परेकाहरूको उद्धार गरेको हो ।
प्रहरीको केन्द्रीय तथ्यांकले अझ डरलाग्दो आँकडा देखाउँछ । उक्त तथ्यांकअनुसार चालू आर्थिक वर्षमा मात्रै प्रहरीले स्वदेशका विभिन्न स्थानबाट २ हजार ३ सय २४ लाई मानव तस्करहरूको चंगुलबाट उद्धार गरेको देखाएको छ । एक वर्षमा यति धेरै मानिस मानव तस्कर र दलालहरूको फन्दामा पर्नुलाई स्वाभाविक मान्न सकिँदैन ।
पढेलेखेको आधुनिक समाजमा अवैध लागूऔषध र हातहतियारको कारोबारपछि संसारमै तेस्रो ठूलो संगठित अपराध मानिने मानव बेचबिखन तथा ओसार–पसार किन मौलाइरहेको छ त ? नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्री भौतिक सुविधाप्रतिको ‘लालसा’ नै मानव बेचबिखनको प्रमुख कारण रहेको बताउँछन् । ‘भौतिक सुविधाप्रतिको लालसा नै मानव बेचबिखनको प्रमुख कारण हो,’ उनी भन्छन्, ‘मानिसहरू अशिक्षा, जनचेतना अभावलाई कारण मान्छन्, त्योभन्दा हाम्रो समाज निकै अघि आइसक्यो ।’
थापा क्षेत्री स्वाभाविक प्रश्न गर्छन् ? त्यसो भए स्नातकोत्तर पढेको मानिस कसरी मानव तस्करहरूको फन्दामा परिरहेको छ त ? हुन पनि हो, घटनाक्रमहरूले स्नातकदेखि स्नातकोत्तरसम्म पढेका मानिसहरू तस्करको फन्दामा परिरहेका देखाउँछन् ।
थापा क्षेत्री थप्छन्, ‘यदाकदा अशिक्षा र जनचेतना अभावले गर्दा मानव बेचबिखनमा परेका घटना होलान् । तर, बढी बेस्ट अपच्र्युनिटीको खोजीका क्रममा मानव बेचबिखनमा परेको देखिन्छ ।’ प्रहरी प्रवक्ता थापा क्षेत्रीको तर्कसँग राष्ट्रिय मानव अधिकार आयोगकी उपनिर्देशक मन्जु खतिवडा पनि सहमत देखिन्छिन् । ‘मीठो खाने, राम्रो लाउने र फेसनप्रतिको आकर्षणले पनि मानव बेचबिखन बढाएको छ,’ खतिवडा भन्छिन्, ‘सबै जनालाई पैसा चाहिएको छ । त्यसैले वैदेशिक रोजगारी रोज्छन्, बेचबिखनमा परिएला भनेर ख्यालै गर्दैनन् ।’
प्रहरीको मानव बेचबिखनसम्बन्धी एक प्रतिवेदनले गरिबी, रोजगारीको अवसर पर्याप्त नहुनु, अनियन्त्रित सञ्चालनमा रहेका रोजगारदाता संस्था तथा दलालहरू, धन–सम्पत्ति कमाउने तीव्र चाहना र नेपाल भारतबीच खुला सिमानालाई मुख्य मानव तस्करीका कारण मानेको छ । रोजगारमा लगाउने, उच्च अध्ययन गर्ने, स्थायी आवासीय अनुमतिपत्र बनाइदिने, झूटा विवाह वा नाता सम्बन्ध तयार गरेर लैजाने, खेलकुद वा सांस्कृतिक वा सेमिनारमा भाग लिने, रोगको उपचार वा अन्य तरिकालगायतका बहानामा केही वर्षयता मानव तस्करी भइरहेको उक्त प्रहरी प्रतिवेदनको निष्कर्ष छ । ‘मानव तस्करीको अवस्थाको बयान गरेर साध्य छैन,’ ब्युरोका प्रवक्ता थपलिया भन्छन्, ‘मानव तस्करीका मुख्य कारणका रूपमा गरिबी र बेरोजगारी नै मुख्य हुन् । व्यक्तिगत रूपमा विदेश जाँदा ध्यान नदिने कारण धेरैजसो मानव बेचबिखनको सिकार भइरहेका छन् ।’ उनका अनुसार घरेलु हिंसा, पारिवारिक विखण्डनजस्ता कारण पनि महिलाहरू मानव बेचबिखनको सिकार भइरहेको घटनाक्रमहरूले देखाउँछ ।
यसमा धेरथोर पैसा कमाउने ध्याउन्न बोकेका रिक्रुटमेन्ट एजेन्सीहरू पनि दोषी रहेको प्रहरी अधिकारीहरू बताउँछन् । ‘इथिकल बिजनेसमा ध्यान नदिँदा पनि यस्ता समस्या बढिरहेका हुन्,’ थपलिया भन्छन् । खुला सीमा, अनअराइभल भिसा दिने देशहरूको भिसा पोलिसीजस्ता कारणले पनि मानव बेचबिखनका घटनामा बढोत्तरी भइरहेको छ । अनअराइभल भिसा पाइने देशहरूमा पुग्न सजिलो हुने भएकाले कतिपय मानव तस्करहरू त्यस्तो देशमा लगेर त्यहाँबाट अन्य देशहरूको भिसा लगाउने प्रयास गर्छन् ।
प्रहरी तथा विभिन्न संघ–संस्थाको पहलका बाबजुद पनि नेपालमा मानव बेचबिखन किन नियन्त्रण नभएको हो त ? सुनिता फाउन्डेसनकी प्रमुख तथा चेलीबेटी बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवार यसका लागि युवाहरूलाई टार्गेट गरेर नीतिहरू ल्याउने र युवा इम्पावरमेन्ट गरेर उनीहरूलाई सीप तथा रोजगारी दिलाउनुपर्ने बताउँछिन् । भन्छिन्, ‘युवामैत्री नीति, उनीहरूको इम्पावरमेन्ट र सीप तथा रोजगारी दिलाउनु नै यसको न्यूनीकरणको उपाय हो ।’ मानव बेचबिखन वर्षैपिच्छे डरलाग्दो रूपमा बढिरहेको उल्लेख गर्दै उनी यसलाई राजनीतिक एजेन्डा बनाउनुपर्ने र पार्टीहरूले आफ्नो एजेन्डामा समेट्नुपर्नेमा जोड दिन्छिन् । उनी पीडितहरू समाजमा विस्थापित हुने र दलालहरूले राजनीति आडमा खुलेआम हिँड्ने अवस्थामा अन्त्य नभएसम्म मानव बेचबिखनविरुद्धको अभियान टुंगोमा पुग्न नसक्ने दाबी गर्छिन् ।
दनुवारजस्तै आयोगकी उपनिर्देशक खतिवडा पनि राजनीतिक संरक्षणले गर्दा मानव बेचबिखन न्यूनीकरणलाई समस्यामा पारेको बताउँछिन् । भन्छिन्, ‘आइडेन्टीफाई भएका पीडकहरू राजनीतिक संरक्षणका कारण सजिलै उम्कन्छन्, जसका कारण उनीहरू पुन: यही कार्यमा आउँछन् । मानवता विरुद्धको अपराध भएकाले पीडकहरूमाथि कडाभन्दा कडा कारबाही आवश्यक देखिन्छ ।’ राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा नेपालले मानव बेचबिखन अन्त्य तथा न्यूनीकरण गर्न पर्याप्त कदमहरू सञ्चालन गरेको भए तापनि बेचबिखनका सबै क्षेत्र र जोमिखतालाई सम्बोधन गर्न नसक्नु, कानुनी कारबाहीमा पर्याप्त सुधार हुन नसक्नु र प्रभावितहरूको उद्धार तथा संरक्षणमा रहेको कमजोर लगानीका कारण नेपाल मानव बेचबिखनविरुद्ध सक्रिय पहिलो राष्ट्र हुन नसकेको उल्लेख छ ।
त्यसो भए बेचबिखन न्यूनीकरणका लागि कस्ता प्रयास आवश्यक छन् त ? आयोगकी उपनिर्देशक खतिवडा बेचबिखनमा रहेका जोखिमहरू न्यूनीकरण गर्न जनचेतना अति आवश्यक र शिक्षा महत्त्वपूर्ण रहेको बताउँछिन् । ‘अहिले बेचबिखनमा संलग्नहरूले नयाँ–नयाँ शैलीहरू अपनाइरहेका छन्,’ उनी भन्छिन्, ‘किशोर–किशोरीलाई प्रलोभनमा पारेर फसाइरहेको देखिन्छ । त्यसैले उनीहरूमा सचेतना जगाउन जरुरी भइसकेको छ ।’
बेचबिखनका ट्रान्जिट
नेपालबाट हुने मानव बेचबिखनको पहिलो ट्रान्जिटका रूपमा भारतलाई दलालहरूले प्रयोग गरेको देखिन्छ । त्यसको प्रमुख कारण नेपाल–भारतबीचको निर्वाध खुला सीमा हो । त्यसबाहेक इन्डोनेसियालाई पनि उनीहरूले अर्को ट्रान्जिटका रूपमा प्रयोग गर्छन् । किनभने, इन्डोनेसियाले नेपालीलाई अनअराइभल भिसा दिन्छ । दलालहरू इन्डोनेसिया पुर्याएर त्यहाँबाट अस्ट्रेलिया, क्यानाडा र अमेरिकाजस्ता देशहरूमा अवैधानिक रूपमा पुर्याउने नाममा लाखौं रकम झ्वाम पार्छन् । त्यहाँ पुर्याइएका नेपालीमाथि चर्को आर्थिक, शारीरिक तथा मानसिक शोषणसमेत थोपर्छन् ।
नेपालीहरूलाई दलालले पुर्याउने बेचबिखनका डेस्टिनेसनहरूमा भारत, खाडी मुलुक, अमेरिका, युरोप, माल्दिभ्सजस्ता देश हुन् । महिलाहरूलाई मनोरञ्जन र सेवा तथा सत्कारका क्षेत्रमा लगाउने भनेर अवैध रूपमा त्यहाँ पुर्याइन्छ । त्यहाँ पुर्याएपछि दलालहरूले रेस्टुराँमा नर्तकी बनाउनेदेखि यौनजन्य कार्यमा लगाउने काम गर्ने गरेको घटनाक्रमहरू देखाउँछन् । यसरी मनोरन्जनको क्षेत्रमा लगाउने भनेर दलालहरूले अफ्रिकन मुलुकमा पनि नेपाली चेलिबेटीहरूलाई पुर्याउने गरेको देखिन्छ । अफ्रिकन देशहरू केन्या, तान्जानिया, सुडान, लिबियादेखि द्वन्द्वग्रस्त इराकजस्ता देशहरूमा पनि नेपालीहरू पुर्याइएका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पछिल्ला ९ महिनामा भारत, कुवेत, इराक, लिबिया, केन्या, ग्रिस, इन्डोनेसिया, मालवी, म्यानमारलगायतका १० देशबाट मानव बेचबिखनका दलालहरूको पन्जामा परेका नेपालीहरूलाई उद्धार गरेको देखिन्छ ।
रोचक पक्ष त के भने कुनै समय नेपाली युवतीहरूलाई नक्कली विवाह गरेर दक्षिण कोरिया पुर्याइन्थ्यो । पछिल्लो समय दुलही बनाएर मानव तस्करी हुने देशमा चीन पनि थपिएको छ । ‘दुलही बनाएर मानव बेचबिखन हुने देशहरूमा त दक्षिण कोरिया र चीन नै देखिएका छन्,’ एसपी थपलिया भन्छन्, ‘अरू देशहरूमा यसरी हुने मानव तस्करीका घटना सतहमा आएका छैनन् ।’ उनका अनुसार यौनशोषण र यौन व्यवसायमा लगाउने, पैसा कमाउने कामका लागि महिलाहरूलाई दलालहरूले फन्दामा पारेर तस्करी गरेर लैजान्छन् भने पुरुषहरूलाई भने बाध्यकारी काममा लगाउन दलालहरूले तस्करीको चक्रमा पार्छन् ।
महिला र बालबालिका उच्च जोखिममा
मानव तस्करहरूको चपेटामा सबैभन्दा बढी महिला र बालबालिका रहेको देखिन्छ । प्रहरीबाट प्राप्त आँकडाहरूमा त्यसको स्पष्टै झलक देखिन्छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पछिल्ला ९ महिनामा उद्धार गरेका २ सय ७२ जनामध्ये २ सय ६ जना महिला छन् । जबकि पुरुषको संख्या ६६ छ ।
यस्तै, प्रहरीले चालू आर्थिक वर्षमा उपत्यकासहित देशका विभिन्न भागबाट उद्धार गरेका २ हजार ३ सय ३४ जनामध्ये महिलाको संख्या १ हजार ४ सय ६४ छ भने पुरुष ३ सय ४९ जना छन् । १८ वर्ष उमेर समूहसम्मका बालबालिकाको संख्या ५ सय २० छ, जसमध्ये ४ सय २५ बालिका छन् भने ९५ जना बालक छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको मानव बेचबिखन प्रतिवेदनमा १५ लाख मानिस बेचबिखनको जोखिममा रहेको उल्लेख छ, जसमध्ये १३ देखि १९ वर्षका १२ लाख ग्रामीण किशोरी, १ लाख बाल श्रमिक बेचबिखनको जोखिममा छन् । वयस्क मनोरन्जन व्यवसायमा रहेका श्रमिक २१ हजार, वैदेशिक रोजगारीमा रहेकाहरू १ लाख ८० हजार जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल प्रहरीका प्रवक्ता थापा क्षेत्री पनि तस्करीमा पर्नेमा अधिकांश महिलाहरू हुने बताउँछन् । भन्छन्, ‘तस्करीमा पर्ने ९० प्रतिशत महिला नै हुन्छन्,’ उनी भन्छन्, ‘१० प्रतिशत पुरुष होलान् ।’ त्यसो भए महिलाहरू किन दलालहरूको टार्गेटमा पर्छन् त ? सुनिता फाउन्डेसनकी अध्यक्ष दनुवार महिलाहरू बढी टार्गेटमा पर्नुका कारणका रूपमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्नु, लंैगिक विभेदका साथै आर्थिक अभावका कारण अवसरको खोजीका क्रममा दलालहरूको फन्दामा पर्ने गरेको बताउँछिन् । भन्छिन्, ‘सरकारी नीति महिलामैत्री भएन, दलालहरूले राजनीतिक संरक्षण पाए ।’ उनी बेचबिखनमा संलग्लन दलालहरू समाजमा खुला रूपमा हिँड्ने गरेको तर बेचबिखनमा परेकी महिला भने विस्थापित हुनुपर्ने दुर्भाग्य हाम्रो समाजमा रहेको गुनासो पोख्छिन् । आयोगकी उपनिर्देशक खतिवडा सामाजिक संरचनाका कारण किशोरीहरू सजिलै मानव तस्करहरूको फन्दामा पर्ने बताउँछिन् ।
कार्यान्वयन गर्ने निकायबीच द्विविधा
मानव बेचबिखन तथा ओसारपसार जघन्य एवं क्रूर अपराध हो । यो अपराधबाट विश्वमै सबैभन्दा बढी महिला र बालबालिकाहरू पीडित छन् । तर, वयस्क पुरुषहरूसमेत विभिन्न दलालको चंगुलमा फसेका छन् । अन्तरदेशीय श्रम प्रवासनको युगमा सुरक्षित माइग्रेसनको अभावका कारण विश्वमा दैनिक रूपमा लाखौं व्यक्ति मानव तस्करीको सिकार भइरहेका छन् ।
मानव बेचविखनसम्बन्धी आधुनिक प्रवृत्तिलाई हेर्दा बाध्यकारी श्रम यौनशोषण, मानव अंग व्यापार, कोख भाडा, अश्लील सामग्री, उत्पादन तथा व्यापार, आतंकवादी गतिविधिमा प्रयोग, बालसैनिकलगायत जोखिमयुक्त काममा प्रयोग गर्ने गरेको पाइन्छ । सुरुमा पीडितलाई राम्रो जागिर, स्थायी निवासी अनुमतिपत्र, उच्च शिक्षालगायत आकर्षक प्रलोभन देखाई आफ्नो बासस्थानबाट अन्यत्र लैजाने गरिन्छ । खासगरी आफैंले पैसा खर्च गरेर सहमतिमै बेचिन पुगेको अवस्था पनि छ । झट्ट हेर्दा यो असम्भव वा अस्वभाविकजस्तो लागे पनि अहिलेको मानव बेचबिखनको मुख्य प्रवृत्ति भनेको यही नै हो ।
झूटा विवाह, नक्कली धर्मपुत्र/पुत्री स्वीकार, झूटा कागजपत्र निर्माण, भ्रमण प्रवेशाज्ञा, आश्रित प्रवेशाज्ञा इत्यादिजस्ता उपायहरूको प्रयोग गरी व्यक्तिलाई विदेश पुर्याउने र त्यसपछि आफू अनुकूल पारी यौन व्यवसायमा लगाउने, बाध्यकारी श्रमलगायत श्रम शोषण गर्ने, मानवअंग बेचबिखन गर्ने तथा अन्य आपराधिक वा गैरकानुनी कार्य गर्न बाध्य पारी प्रयोग गरेको पाइन्छ । मानव बेचबिखन तथा ओसारपसारका प्रमुख कारणमा गरिबी, बेरोजगारी, व्यक्तिमा छिटो धनसम्पत्ति कमाउने चाहना, खुला सीमा, विभिन्न देशमा फरक–फरक भिसा नीतिजस्ता रहेका छन् ।
मानव बेचबिखन तथा मानव तस्करीका विद्यमान प्रवृत्ति र शैलीका सबै कुरालाई समेटेर त्यस्ता कार्यहरूलाई स्पष्ट रूपमा अपराधका रूपमा परिभाषित गरी दण्ड–सजायको व्यवस्था नभएकाले परिवर्तित अपराधका प्रवृत्तिहरू पूर्ण रूपमा निरुत्साहित हुन सकेका छैनन् । त्यसैगरी मानव बेचबिखन तथा ओसारपसारका पीडितलाई क्षतिपूर्ति तथा सामाजिक पुनस्र्थापना सम्बन्धमा पर्याप्त व्यवस्था हुन सकेको छैन । मानव बेचबिखन, वैदेशिक रोजगार र श्रमसम्बन्धी कानुन एकआपसमा बाझिएका कारण पनि कार्यान्वयन गर्ने निकायबीच द्विविधा सिर्जना भई अपराध अनुसन्धान तथा नियन्त्रण एवं कानुन कार्यान्वयनमा प्रभावकारिता आउन सकेको छैन ।
(थपलिया मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता हुन् ।)