साप्ताहिक संवाददाता
कमेडी शो मनोरञ्जन सँगसँगै व्यापार पनि हो भन्ने कुरालाई हामी नकार्न सक्दैनौं । पछिल्लो समय फिल्मभन्दा कमेडीको मार्केट राम्रो देखिएको छ । कमेडीमा युवाको आकर्षण पनि गज्जबले बढिरहेको छ ।
कमेडीप्रेमी विशाल भण्डारी नेपाल आइडलको पहिलो सिजनको निर्देशकीय समूहमा सामेल भए । त्यस बेला उनले दर्शकको मनोविज्ञान बुझ्ने राम्रो अवसर पाए । नेपाल आइडलमा जतिबेला हास्य विषय आउँथे, दर्शकहरूको संख्या ह्वात्तै बढ्थ्यो । युट्युबमा त्यसैको ‘भ्यूज’ अत्याधिक हुन्थ्यो । त्यसपछि उनले केकी अधिकारीसँग मिलेर हास्यप्रधान सिनेमा पनि बनाए– कोहलपुर एक्सप्रेस ।
त्यसपछि उनी अर्को रियालिटी शो ‘भ्वाइस अफ नेपाल’मा संलग्न भए । त्यसमा पनि दर्शकको मनोविज्ञान उस्तै थियो । उस्तै अर्थात् कमेडीप्रति क्रेज । त्यसले उनलाई कमेडी क्षेत्रमा थप काम गर्ने हुटहुटी जगाइरह्यो अनि भण्डारी राजधानीमा युवाहरूले विभिन्न समूह बनाएर गरिरहेका ‘स्ट्यान्ड अप’ कमेडी शो पछ्याउन थाले । त्यस क्रममा उनको ध्यान कमेडीको रियालिटी शो गर्नुपर्छ भन्नेमा केन्द्रित भइसकेको थियो । त्यसका लागि कस्ता सहभागी आउन सक्छन् भन्ने आँकलन गर्न उनलाई त्यस्ता शोहरू सहयोगी हुन्थे । निकैपटक त्यस्ता शोमा सहभागी भइसकेपछि उनी निष्कर्षमा पुगे, ‘यत्तिका सहभागीलाई ल्याउन सकियो भने राम्रो हुन्छ ।’ त्यसपछि उनले केकी अधिकारीसँग सल्लाह गरे ।
रिमा विश्वकर्मा पनि साथी भएकाले उनले अर्को ‘होस्ट’ खोज्ने मूर्खता गरेनन् । त्यसो त रिमा आफैंले पनि समूहको हिम्मतलाई साथ दिइन् र निर्माण समूहमै संलग्न भइन् । कमेडीको शक्ति बुझ्ने राज घिमिरे र रेशु तामाङ पनि समावेश भए । अब शोका लागि बलियो समूह निर्माण भएको उनीहरूको निष्कर्ष निस्कियो । त्यतिबेलासम्म पनि पूर्णरूपमा शो सफल हुन्छ भन्ने आँकलन गर्न गाह्रै थियो । त्यसैले पहिलो चरणमा अनलाइन अडिसन गरे र त्यसपछि ढुक्क भएर ‘शो’ सुरु गरे । ‘शो’ बारे कार्यकारी निर्माता केकी अधिकारीसँग गरिएको कुराकानी:
तपाईंको सुरुवाती रुचि हेर्दा कमेडीभन्दा फरक क्षेत्रमा थियो । एक्कासी कसरी कमेडीमा पुग्नुभयो ?
पछिल्लो समय हाम्रो समूहले कमेडी बेसमा कोहलपुर एक्सप्रेस फिल्म बनाएको थियो । कतिले मन पनि पराउनुभयो र कतिले आलोचना पनि गर्नुभयो । ती सबै प्रतिक्रिया हामीले स्वीकार्यौं । सोचे र चाहे जत्तिको राम्रो गर्न नसकिएको हो कि भन्ने पनि लाग्यो । अब केही नयाँ गर्नुपर्छ भन्ने लागिरहेको थियो । त्यति नै बेला रियालिटी शो र कमेडीको मार्केटका बारेमा हाम्रो कुरा भयो । स्ट्यान्ड अप कमेडीमा देखिएको युवा पुस्ताको आकर्षण विशेष थियो । तर, उनीहरूलाई समेट्ने खालका कामहरू केही पनि भएका थिएनन् । त्यसैले आँट गरेर कमेडी च्याम्पियनको सुरुवात गरेका हौं ।
नयाँ कुरामा हात हाल्ने आँट कसरी आयो ?
विशाल, रिमा र म ह्याङ आउट साथी पनि हौं । हामी एकअर्कामा रहेको आइडिया सेयर गथ्र्यौं । बेलाबेला कमेडीको विषयमा पनि कुरा गथ्र्यौं । साथीहरूले आँट्ने हो त भन्दा मैले आँट गर्न सकिरहेकी थिइन । लगानी, मेहनत र समयका हिसाबले रियालिटी शो धेरै ठूलो कुरा थियो । आफूले गरिरहेको काममा पनि परेन । निर्देशक विशाल भण्डारी भने निकै विश्वस्त हुनुहुन्थ्यो । उहाँले समूह बनाएर काम गरौं भनेपछि हामी त्यसको तयारीमा लाग्यौं । समूह बन्यो । मलाई यो काम हुन्छ भन्ने विश्वास नहुँदा नहुँदै पनि मैले आफ्नो जिम्मामा आएको काम गर्न थालेँ । स्पोन्सरहरूसँग मिटिङ गर्न थालेँ । स्पोन्सरहरूले हामीलाई विश्वास गर्नुभएन । किन भने फ्रेन्चाइज शोहरूको मार्केट थियो । उहाँहरू फ्रेन्चाइज हो भनेमात्र सहयोग गर्छौँ भन्न थाल्नुभयो । अब हामीसँग कमेडीको मार्केटलाई आफैं प्रमाणित गर्नुबाहेक अर्को उपाय थिएन । एउटा डिजिटल अडिसन गरेर हेरौं न त कस्तो रेस्पोन्स आउँछ भन्नेमा पुग्यौं । डिजिटल अडिसनमा यस्ता राम्रा–राम्रा प्रतिभाहरू आउनुभयो कि हामीले उहाँहरूबाटै हौसला पायौं । यसरी हामी अघि बढ्यौं ।
चलचित्रमा काम गरिरहेको मान्छे तपाईं । निर्माताका रूपमा रियालिटी शो, त्यसमाथि कमेडीमा अनुभव कस्तो रह्यो ?
चलचित्रमा त एक पटकमा एउटामात्र प्रोजेक्टमा काम गरेको जस्तो अनुभव हुन्थ्यो । यहाँ एकै पटक १० वटा प्रोजेक्टमा काम गरेको अनुभव हुँदोरहेछ । धेरै लगानी छ । फरक कुराको फरक–फरक डिपार्टमेन्टहरू छन् । सेट डिजाइनदेखि लिएर हरेक कुरा फरक छ । रियालिटी शोमा प्रिप्रोडक्सन भनेकै सेट डिजाइन हुँदोरहेछ । यो कुराले नै शोको रुप निर्धारण गर्दोरहेछ । अनुभव संगाल्ने क्रम अझै जारी छ ।
कमेडी शो मनोरञ्जन हो कि व्यापार ?
हामीले बिजनेसको दृष्टिकोणले पनि हेर्नुपर्छ । कमेडी शो मनोरञ्जन सँगसँगै व्यापार पनि हो भन्ने कुरालाई हामी नकार्न सक्दैनौं । पछिल्लो समय फिल्मभन्दा कमेडीको मार्केट राम्रो देखिएको छ । कमेडीमा युवाको आकर्षण पनि गज्जबले बढिरहेको छ । मूल समूह सानो भए पनि कमेडी शोसँग जोडिएर आउने मानिसहरू त धेरै छन् नि । मानिसहरूले भोट गर्ने कुरा भयो, शो हेरेपछि प्रतिक्रिया दिने र शोकै लागि भनेर समय खर्चने कुराहरू छँदैछन् । मानिसहरूको इन्भल्मेन्ट फराकिलो हुन्छ भन्ने अनुमान हामीले पहिल्यै गरेका थियौँ । सुरुवाती केही शोहरू सिक्ने रुपमा आएका थिए । यहाँसम्म आइपुग्दा हाम्रो अनुभव निखारिएको छ । कमेडियनहरूको प्रतिभा पनि निखारिएको छ । दर्शकले पनि रुचाउन थाल्नुभएको छ । हामी नेपाली कसैको न तारिफ गर्छौँ न कसैको आलोचना नै । मानिसहरू आफैंमा कुण्ठा पालेर बसिरहेका छन् । यस्ता कुराले मानिसलाई डिप्रेसनसम्म लान्छ । कमेडीमार्फत यी कुराहरू कम हुँदै गएका छन् । कमेडी होस् या फिल्महरू यी कुराले मानिसलाई आनन्द दिइरहेका छौं ।
पछिल्लो समय कमेडी फिल्मलाई दर्शकले विश्वास गरेको र राम्रो कमाई गरेको विधा कमेडी बनिरहेको अवस्थामा फिल्ममार्फत नै हामी दर्शकलाई हँसाउँछौं र व्यावसायिक बन्छौं भन्ने लागेन ?
नेपाली फिल्मले दर्शकलाई इमोसनल बनाउन सक्दैनन् । गहिरो अध्ययन गरेर कन्टेन्ट तयार पारिएको हुँदैन । यो कुरा सबैलाई थाहा छ । तर, दर्शकहरू यिनीहरूले हँसाउन सक्छन् भन्ने कुरामा चाहिँ विश्वस्त हुनुहुन्छ । त्यसले गर्दा पनि हामीलाई अलि सहज भएको हो बजार थाहा पाउनका लागि । त्यसै कमेडीले आर्थिक र बौद्धिक दुवै रूपमा फाइदामा जान्छ भन्ने हामीलाई लागेको थियो । त्यसैले दर्शकले रुचाएको कुरालाई हामीले अघि बढाएका हौं । अर्को कुरा फिल्म त अरूले पनि गरिरहनुभएको छ नि । हामी अलि नयाँ र फरक गर्न चाहन्थ्यौं । फिल्ममार्फत एक पटकमा एक–दुई जनालाई अवसर दिन सकिन्छ । तर, शोमार्फत त एकै पटकमा धेरैले अवसर पाउने भए नि ।
कमेडी पनि एउटा आर्ट फर्म नै हो । तर, यो अलिकति भल्गर भइरहेको छ जस्तो लाग्दैन तपाईंलाई ?
रोस्टिङ, क्यारिकेचरदेखि लिएर हरेक कुरामार्फत आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने महत्वपूर्ण हुन्छ । एउटा बाउन्ड्रीमा बसेर पनि यो कुरालाई प्रस्तुत गर्न सकिन्छ भने यो त सुनमा सुगन्ध भयो नि । एकातर्फ टेलिभिजन १६ वर्षभन्दा माथिका लागि मात्र हो भन्ने मान्यता पनि छ । त्यसैले कन्टेन्टहरू धेरै एड्भान्स नहोस् र समाजले पचाउने खालकै होस् भन्ने कुरामा हामी ध्यान दिन्छौं । हामी यसलाई पारिवारिक शो बनाउनका लागि के–कस्ता कन्टेन्ट हाल्ने भन्ने कुरामा ध्यान दिन्छौं । अर्को कुरा जुन कुरालाई हामी कसैको चित्त दुखाउने रुपमा लिइरहेका छौं, त्यो चिजमा कमेडी गर्दा कतै उसलाई हर्ट गर्दैन कि भन्ने हिसाबले पनि हामी सोच्छौं । हामी आफै कला क्षेत्रमा भएकाले हामी कलाको कदर गर्छौं । कमेडी एउटा कला हो । कमेडियनहरू पनि कलाकार हुन् । कसैलाई लगातार पाँच, १० या २० मिनेटसम्म हँसाउनु भनेको सानो कुरा होइन । त्यति सहज पनि छैन ।
कलामार्फत हाँसोलाई व्यापारको पाटो बनाइरहनुभएको छ । यतिसम्म आम्दानी हुनुपर्छ भन्ने कुनै योजना थियो ?
चलिरहेको कुराभन्दा फरक कुरा गर्दा या आउँदा त्यसलाई स्वीकार्न गाह्रो हुन्छ । स्वीकारिसकेपछि त्यसका आयामहरूमा विस्तारै परिवर्तन हुँदै जालान् । हिजो यही कुरालाई अस्वीकार गर्नुभएका स्पोन्सरहरूले आज यसलाई स्वीकार्नु नै सबैभन्दा ठूलो कुरा हो । जब उसलाई त्यस कुराले मनिटरिङ भ्यालुमा केही रिटर्न दिँदैन भने उसलाई आफ्नो खल्तीको पैसा सित्तैमै किन दिने ? सुरुवाती क्षणमा हामीले पाएको रेस्पोन्स हेर्दा स्पोन्सरहरूले एकदमै सकारात्मक रूपमा लिइरहनुभएको छ । समूह, ब्रान्ड र कमेडी आफैं एउटा तहमा पुगिसकेको छ । यी चिजहरूबाट एउटा सिस्टम नै दौडिरहेको हुन्छ । जब कुनै मानिसले कुनै कुरामा इन्भेस्ट गर्छ भने उसको दुई वटा उद्देश्य हुन्छ । एउटा पैसा कमाउने, अर्को समाजलाई केही योगदान पुर्याउने । हामीले कमेडी च्याम्पियन एउटा प्रोजेक्टको रूपमा सुरु गरेको हो । तर, हाम्रा माथिका दुवै उद्देश्य छन् । हामी अरूको फिल्म खेल्दा निर्मातालाई बचाउन लागिरहेका हुन्छौं भने आफंै लगानी गरेको चीजको महत्व नहुने कुरै भएन । तर, पहिलो सिजन भएकाले हामीलाई नाफाको त्यति धेरै लोभ थिएन । घाटा हुनुहुन्न भन्नेमा थियौं ।
तपाईंहरू अहिले जसरी प्रस्तुत भइरहनुभएको छ । यो स्ट्यान्ड अप कमेडीको एउटा बृहत् रूप हो भन्ने धेरैलाई लाग्छ । भविष्यमा यसलाई स्टयान्ड अप कमेडीभन्दा फरक देखाउने कुनै योजना छ ?
हाम्रो विधा कमेडी हो । हामीले अर्को जेनेरेसनलाई तयार पारेका हौं । अहिलेको जमाना भनेको मल्डिमिडियाको हो । अर्को जेनेरेसन अझ निखारिएर आउँछ । त्यसैले उहाँहरू एउटै कुरामा रुमलिनुहुन्न । समयसँगै यसका आयामहरू परिवर्तन हुँदै जान्छन् । हामी हाँस्ने र हँसाउने कुरामा मात्र पनि सीमित छैनौं । भविष्यमा यही धारमा कमेडी शो चल्नुपर्छ भन्नेमा पनि हामी दृढ छैनौं । समय, परिवेश र अवस्थाअनुसार परिवर्तन हुँदै जाला । अहिले हामी सिक्ने फेजमा छौँ । सिकेका अनुभवका आधारलाई लागू गर्दै जान्छौं ।
कमेडी शो र फिल्ममा के फरक रहेछ त ?
कमेडियन आफैं हिरो हो । फिल्ममा एउटा हिरो हुन्छ भने यहाँ धेरै हिरोहरू हुन्छन् । फिल्म कसैले बनाउने हो । कमेडीमा व्यक्ति आफैं हाबी हुन्छ । फिल्म रिलिज भएपछि त्यो अडियन्सको हातमा जान्छ । हामीले केही गर्न सक्दैनौँ । तर, रियालिटी शोमा पहिलो र दोस्रो एपिसोडमा आफ्नो कमजोरी पत्ता लगाउनुभयो भने तेस्रो एपिसोडमा त्यसलाई सुधार गर्न सक्नुहुन्छ । आफूलाई सुधार गर्दै झन्पछि झन् राम्रो गर्ने अवसर तपाईंले पाउनुहुन्छ । पहिला नाटक र फिल्ममा यस्तै फरक हुन्थ्यो । अहिले फिल्म र रियालिटी शोमा त्यो फरक देखिएको छ । हामी कमेडीमा हरेक हप्ता नयाँ कन्टेन्टमा काम गर्ने हुँदा कसरी आजभन्दा भोलि राम्रो गर्ने भन्ने हुन्छ । फिल्मले नेपाली मार्केटलाई टार्गेट गरेको हुन्छ भने कमेडी विश्वव्यापी रूपमा अगाडि आउँछ ।
कमेडी च्याम्पियनलाई पनि सबैले सकारात्मक रूपमा मात्र लिएका छैनन् । नकारात्मक कमेन्टहरू पनि आइरहेका छन् । यस्ता कमेन्टले कस्तो खाले चुनौती महसुस गरिरहनुभएको ?
गलत कुरालाई हामीले सहजै स्वीकार्न सक्नुपर्छ । सही कुरालाई पनि कसैले गलत भनिरहेको छ भने त्यो गलत हो । आफूले गरिरहेको कुरामा कुनै तुक छैन भने ऊ थाक्छ । तुक छ भने प्रयास गरिरहन्छ । सबैभन्दा पहिले आफू राम्रो हुनुपर्छ । त्यसपछि अरुको प्रतिक्रिया लिने या नलिने भन्ने दोस्रो पाटो हो । आजका अडिएन्स नै चेतनशील हुनुहुन्छ । उहाँहरू राम्रो र नराम्रो कुरालाई छुट्याउन सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।