बुद्धको पालामा कति नै मान्छे थिए ? बुद्धको पालामा १० जना शिष्य थिए । अहिले चाहिँ २ अर्ब ३० करोड मान्छे लागेका छन् । जिससको समयमा १२ जना मान्छे जिससको पछाडि लागेका थिए ।
ओशो तपोवन नेपालका प्रमुख स्वामी आनन्द अरुण ‘स्वामी’ हुनुअघि उद्योगी खानदानका मानिस थिए । पेसाले इन्जिनियर उनी सन् १९७४ मा ओशोबाट दीक्षित भएका हुन् । स्वामीसँग साप्ताहिकका लागि दीपक सापकोटाले गरेको कुराकानी :
तपाईं पेसाले इन्जिनियर, चक्रवर्तीकै बाटो हिँड्न सक्नुहुन्थ्यो । जिन्दगीको त्यो बाटो छाडेर जोगीपथमा कसरी हिँड्नुभयो ?
इन्जिनियरिङ पढ्दैदेखि मेरो कोठामा धर्मका किताब हुन्थे । स्कुलदेखि नै विवेकानन्द, योगानन्द, महर्षी, रामकृष्ण परमहंसका किताब पढ्थेँ । इन्जिनियरको किताबमा त्यति ध्यान दिन्नथेँ म । पटनाको लाइब्रेरीमा पुराना किताब थिए । म बाल्यकादेखि नै किताब पढ्थेँ । पढ्ने ठूलो सोख थियो । लाइब्रेरीमा गएर किताब पढ्ने भनेको धार्मिक किताब हो ।
त्यो बेलामा पढेको कुनै किताब आजका पाठकलाई रिफर गर्नुहुन्छ ?
सुरुमा मैले योगी योगानन्दको आत्मकथा पढेँ । अनि त्यतिबेला खुब नाम चलेको शिवानन्द हुनुुहन्थ्यो, ऋषिकेशमा । उहाँको साहित्य, योग र ध्यानका किताब पढेँ । बिहारमा ‘मुंगेज स्कुल अफ योगा’ बनाउनुभएका सत्यानन्द सरस्वती हुनुुहुन्थ्यो । योगलाई भारतमा स्थापित गर्नमा उहाँको धेरै ठूलो हात छ । उहाँको सबै साहित्य पढेँ । उहाँको योग सिकेँ । शिविरहरूमा पनि पुगेँ । ध्यानहरू सिकेँ । त्यो बेला धेरै प्रभावित गरेको गुरुहरूमा स्वामी विवेकानन्द र रामकृष्णको साहित्य पनि हो । अहिलेको युवाहरूलाई विवेकानन्दले विशेष गरेर धेरै प्ररेणा दिएका छन् ।
इन्जिनियरिङ पढ्दा पनि ध्यानतिरै ध्यान जान्थ्यो भन्नुभयो । इन्जिनियरिङको कस्तो पढाइ थियो ?
मैले इन्जिनियरमा धेरै राम्रो अंक ल्याउन सकिनँ । कारण के थियो भने पास भए पुग्छ भन्ने थियो । बढीचाहिँ अध्यात्म पढ्थे । साहित्य पनि पढ्थेँ । गहिरो रुचि पढेँ । अप्राविधिक विषयमा मैले मानविकीका विषय पढेँ । त्यसमा धेरै नम्बर आउँथ्यो । नत्र इन्जिनियरमा भने पास भए पुग्थ्यो ।
तपाईंको आध्यात्मिक यात्राबारे भन्नुस् न । यस्ता केही मोड, जसले मानिसलाई एउटा बिन्दुमा पुर्याउँछ । त्यस्ता घटनाबारेमा भन्दिनु न ?
टिनएजमा गएपछि एउटा सेक्सुअल म्याचुरिटी हुन्छ । १४/१५ वर्षको उमेरसम्म सेक्सबारे ज्ञान हुँदैन् । सेक्सुअल म्याचुरेट भएपछि मेरो शरीरमा खुब परिवर्तन र अनेक विचार आउन थाल्छ । त्यसले मलाई खुब दु:ख दिन्थ्यो । किन यस्ता विचार किन आउँछ होला ? मलाई लाग्थ्यो मेरो मनमा मात्रै आउँछ । अन्य युवाहरूको मनमा पनि आउँदो रहेछ । मै एउटा गलत मान्छे हुँ । यो त ठीक भएन । धर्मका किताब पढ्थँे । ब्रह्मचारी बन्छु भनेर सोचेको थिएँ । यस्ता कामवासनाको कुराहरू किन मनमा उठ्छ ? यसको उपचार गर्नुपर्यो, कसरी गर्ने ? अनि मैले जोगीहरूको किताब पढेँ । गान्धीजीको किताब पढेँ । गान्धीजी पढेपछि कामवासना नियन्त्रण र भोजनमा सुधार गर्नुपर्छ भन्ने भयो । स्कुल जीवनदेखि अथवा १४ वर्षदेखि भोजनमा निकै सुधार गरेँ । नेपालीको बानी मासु खुब खाने हुन्छ । मेरो परिवारमा पनि मासुु खुब खाइन्थ्यो । शाही परिवारबाट आएकाले मासु धेरै खान्थे । चिया धेरै पिउँथेँ । गान्धीजीले भनेका छन्– नुन खाएन भने कामवासनामा ध्यान जाँदो रहेनछ । साँच्चै त्यो हुँदो रहेछ । चिनी पनि खानु हुँदैन भनेर छाडिदिएँ । तेल–घ्यू पनि छोडँे । खानलाई केही बचेन । त्यो बेला १४–१५ वर्षको थिएँ । भोजनको सुधार गरेर कामवासनाको विचार हटाएँ । अतिमा गएँ । फलफूल खान थालेँ । दिनमा एउटा फल मात्रै खाएँ, चार–पाँच वर्ष कुनै अन्न खाइन । भोजनमा सुधार गरेर मैले योग गर्न थालेँ । भोजनमा सुधार गरेर यौगिक जीवन लिएपछि अहिले म ७६ वर्षभएँ । मेरो टाउको दुख्दैन । यतिसम्म कि ज्वरो आउँदा पनि टाउको दुखेन । अलिकति टेन्सन आए टाउको दुख्छ भन्छन् । मलाई ज्वरो पनि आउँदैन । शरीरलाई त फाइदा गर्यो ।
जीवनमा कहिल्यै रक्सी खानुभयो ?
रक्सी ? इन्जिनियरिङ कलेज जाँदा मेरो संगत बिग्रियो । स्कुलमा मैले अम्बा, गाजर, आँप, सुन्तला, स्याउजस्ता फलफूल खाएर हाइस्कुल पास गरेँ । चाट, आइसक्रिम, चकलेट खान्थे साथीहरू मचाहिँ फलफूल बोकेर हिँड्थे । पार्टीमा समेत मैले आफ्नो झोलाबाट फलफूल खान्थेँ । घरमा पुगेपछि दिक्क मान्नुहुन्थ्यो आमा । म घरमा पनि फलफूल खान्थेँ । घरमा दालभात पाक्थ्यो । घरमा पनि विवाद हुन्थ्यो । स्कुलमा पनि आफैं बनाएर खान पाइन्थ्यो । इन्जिनियिरिङ कलेजमा पुगेपछि करिकुलमअनुसार रातभरि पढ्ने गरियो । अनि मासु खाने, रक्सी खाने साथीहरू भए । पछि मेरो पनि बानी बिग्रियो । अनि मैले ६ महिनाजति रक्सी र चुरोट खाएँ । रक्सीको ब्रान्ड थियो–गोल्डेन इगल भन्ने बियर । पाँच रुपैयाँ पथ्र्यो । १० वटा बियरको बोतल सिसी फिर्ता गरे नयाँ बोतल पाइन्थ्यो । प्रतिबोतल ५० पैसा फिर्ता दिन्थ्यो ।
तपाईं आफूलाई आफैंले चिनाउँदा के भन्नुहुन्छ ?
म सत्यको मार्गको खोजी गरिरहेको जोगी हुँ । ओशोको शिष्य हुँ । म भाग्यमानी रहेछु कि ओशोजस्तो गुरु भेटेँ । ओशोजस्तो गुरु नभेटेको भए यो जन्ममा पनि एक्स्टि्रम (अतिवाद) मै बिताएको हुन्थें । अब मैले अर्को जन्म लिनु पर्दैन । किन लिनु पर्दैन भने मेरो इच्छा छैन । कामवासना बाँकी छ भने अर्को जन्म हुन्छ । गुरुले मलाई आशीर्वाद दिनुभएको थियो, साधना गर भन्नुभयो । बोधिसत्व पनि भन्नुभयो । यही जन्ममा निर्वाण प्राप्त हुन्छ भन्नुभयो । अर्को जन्म हुँदैन । यो पदवी उहाँले दिनुभएको हो । त्यो बेला मलाई विश्वास लागेको थिएन । अहिले पनि उहाँले भनेको हुनाले मात्रै विश्वास लागेको छ ।
संसार पुँजीवादमा प्रवेश गरिसकेको छ । सबैतिर कम्पिटिसन छ । यस्तो टप–कम्पिटिसनमा दिमाग झन् तिख्खर हुनुपर्नेछ । यस्तो समयमा सबै मान्छे जोगी नै बन्न लागे भने संसार रोकिन्न त ?
सबै मान्छे जोगी भए पनि संसार स्वर्ग हुन्छ नै । तर, त्यस्तो कहिल्यै हुँदैन । बुद्धको पालामा कति नै मान्छे थिए ? बुद्धको पालामा १० जना शिष्य थिए । अहिले चाहिँ २ अर्ब ३० करोड मान्छे लागेका छन् । जिससको समयमा १२ जना मान्छे जिससको पछाडि लागेका थिए । धेरै मान्छे जोगी होलान् भन्ने हुँदैन् । हामीहरूको पनि आशा थियो— नेपालमा शान्ति ल्याउँला, नेपालमा जोगी बनाउँला । धार्मिक बनाउँला भन्ने थियो । नेपाल सुखी र स्वर्ग बनाउला भन्ने थियो । बिस्तारै त्यसको रियालिटी थाहा भो । मान्छे ‘अनकन्सस’ छन् । नेपाल स्वर्ग छ । मान्छेले ‘कन्सन्स’ भएपछि नेपालमा आजै समृद्धि आउँछ । आजै स्वर्ग हुन्छ । तर, मान्छे विश्वमा धनधान्य छ । सबै मान्छे खान लाउन सुखी जीवन बाँच्न सक्छन् । लडाइँ जरुरी नै छैन । जस्तै एकताबद्ध देश छ । त्यसले देशका सीमाहरू परिभाषित गरिनुपर्छ । अब सेनाका जरुरी छैन । संसारको ३० प्रतिशत धन खर्च भइरहेको छ, सेनाकै लागि । भारतले अर्बौंको मिसाइल किनेको छ । पाकिस्तानले पनि किनेको छ । ४०–५० प्रतिशत मान्छे अहिले पनि बाथरुममैदानमा गएर गर्छन् तर त्यस्ता देशहरूले पनि मिसाइल किनिरहेका छन् । किनभने मान्छे ‘अनकन्सस’ छन । मान्छे बहोस छन् । धेरै मान्छे बेहोस बन्दैनन् । त्यसको चिन्ताको कुरै होइन । धेरै मान्छे बेहोस बन्दै बन्दैनन् । कहिले भएका थिएनन् र कहिले हँुदैहुँदैनन् ।
जति जोगी छन्, तिनीहरू वास्तवमा एकदमै ढोंगी देखिन्छन् । भेष मात्रै जोगी । साँच्चै जोगीलाई कसरी चिन्ने ?
तपोवनमा डा. भगवान कोइराला आउनुभएको थियो । उहाँले मैलेजस्तो लुगा र माला लगाउनु हुन्न । उहाँलाई म जोगी होइन भन्न सक्दिन । उहाँ भूमिगत जोगी हो । कुलमान घिसिङजी हामीभन्दा धेरै ठूलो संन्यासी हुनुहुन्छ । उहाँहरू असली संन्यासी हुनुहुन्छ । उहाँहरूले आफ्नो ठाउँबाट सेवा गर्नुभएको छ । देशका लागि काम गर्नुभएको छ । यस्ता व्यक्ति धेरै छन् देशमा । समाजको सेवा गर्नुभएको छ । उनीहरू श्रद्धाका पात्र हुन् । उहाँहरूले कपडा लगाउनैपर्ने र आश्रम आउनैपर्ने छैन । तर, यस्ता धेरै ढोगी जोगी छन्, जो कपडामा फेरबदल गर्छन् तर विचारमा ढोंगी छन् । देखावटी छन् केही जोगीहरू ।
तपाईं अझै कति वर्ष सक्रिय हुन सक्छु भन्ने आत्मविश्वास छ ?
आइ ह्याब नो डिजायर । केही खाउँ, केही कमाउँ, नाम कमाउँ भन्ने इच्छा छैन । मलाई अब यो शरीरमा धेरै दिन बस्न मन छैन । शरीर बूढो हुँदैछ । शरीरमा धेरै कष्ट हुँदै छन् । भगवान्को दयाले स्वस्थ छु । कुनै ठूलो रोग लागेको छैन । अहिले पनि ६ महिना यात्रा गरिरहेको छु । शरीरले बुढेसकाल लागेको बताइरहेको छ । मलाई जोगी भएर मर्न मन छ, रोगी भएर मर्न मन छैन । जोगीको रूपमा हाँस्दै–खेल्दै–हिँड्दै मर्न पाइयोस् । हस्पिटलमा पुगेर आइसीयूमा गएर मर्न नपरोस् । भित्रबाट मलाई बस्न मन छैन, अब प्रभुको इच्छाले हो । अमेरिका २६ चोटी गएँ । रुस २० चोटी गएँ । सारा संसार गएँ । सबै कुरा भोग गरें । अब कुनै नयाँ इच्छा छैन । अब आश्रम अलिकति सुन्दर बनोस् भन्ने चाहना छ । ओशोको कामको विस्तार होस् भन्ने बाहेक केही इच्छा छैन । यहाँ ओशोको मन्दिर बन्ने छ । मेरो मनमा लालसा छ भने यही हो । भए पनि ठीक, नभए पनि ठीक । जति शरीर पुरानो हुँदै जान्छ, अरूको सहारा चाहिन्छ । शरीरमा धेरै बस्न मन छैन । शरीरमा रोग लाग्नुभन्दा अगाडि नै भगवान्ले लैजाऊन् ।