साप्ताहिक संवाददाता
सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन भएको छ । मुटु सम्बन्धी समस्याले पीडित शर्माको राजधानीको मनमोहन कार्डियोथोरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा बुधबार बिहान ११ बजे निधन भएको हो । उनको २४ वर्ष अघि ओपन हार्ट सर्जरी गरिएको थियो ।
परिवारका अनुसार उनलाई बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पाँच दिन उपचार गरेपछि मनमोहन अस्पतालमा मंगलबार राती सिफ्ट गरिएको थियो । इलामको फिक्कलमा २००४ साल जेठ २४ गते बुबा प्रजापति उपाध्याय र आमा टीकादेवी शर्माका काइला सन्तानका रूपमा जन्मिएका शर्मा सात भाइमध्येका एक थिए । फिक्कलकै त्रिचन्द्र माध्यमिक विद्यालयबाट प्रारम्भिक विद्यालय शुरु गरेका दुर्गा तीन कक्षा पछि करफोक विद्या मन्दिरमा भर्ना भए । दाजु डा. तारानाथ शर्मा साहित्यकार भएकाले साहित्यिक माहौलमा हुर्किएका उनलाई साहित्य र नाटकमा रुची थियो । उनले ‘पूर्व स्मृतिमा लोलाएको रात’ शीर्षकमा पहिलोपटक कथा लेखनबाट कलम चलाउन थालेका थिए । उनले गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’ लाई स्कुलमा नाट्य रुपान्तरण गरेर महिलाको भूमिका निर्वाह गरेका थिए ।
दुर्गाबाहेक अन्य ६ दाजुभाई आ–आफ्नो क्षेत्रमा परिचित अनुहार हुन् । उनका जेठा दाइ डा. तारानाथ शर्मा साहित्यकार, माइला दाइ पुष्पनाथ शर्मा इन्जिनियर र साइँला दाइ लक्ष्मीनाथ शर्मा चलचित्र निर्देशक तथा लेखक हुन् । उनको परिवारमा चार दिदीबहिनी थिए ।
पत्रकारितामा आउनु अघि शर्माले २०२४ सालमा एक विज्ञापन एजेन्सीमा मासिक २ सय ५० तलब पाउने गरी काम सुरु गरे । त्यहा“ एक वर्ष काम गरेपछि गोरखापत्रमा विज्ञापन शाखामा जागीर खुल्यो । उनका दाइ तारानाथका साथी नवराज सुवेदी तत्कालीन समयमा मन्त्री भएकाले सुवेदीको सहयोगमा उनी गोरखापत्रको विज्ञापन शाखामा काम गर्न थाले । त्यहा“ ६ महिना काम गरेपछि उनी स्थायी भए । स्नातक पास गरेका दुर्गानाथलाई गोरखापत्रमै रहँदा विज्ञापन शाखा छोडेर समाचार शाखामा काम गर्ने रहर जाग्यो । गोपालप्रसाद भट्टराई सम्पादन विभागको प्रमुख भएकाले उनकै पहलमा परीक्षा दिएर विभागमा काम गर्न थाले ।
गोरखापत्रमा काम गरिरह“दा रेडियो नेपालमा समाचारवाचकको लागि ठाउँ खाली थियो । उनलाई समाचार वाचनका लागि प्रस्ताव आएपछि गोरखापत्रका सम्पादक भरतदत्त कोइरालाले शर्मालाई स्वर परीक्षण गराउन रेडियो नेपाल लिएर गए । रेडियोमा जागीर पक्का भएपछि रेडियो नेपालमा बिहान २ घण्टा र राति डेढ घण्टा काम गर्न थाले । दिउँसो को समय गोरखापत्रलाई दिन्थे ।
२०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि १७ वर्षको गोरखापत्रको जागिरलाई विश्राम दि“दै उनी टेलिभिजनतिर लागे । टेलिभिजनको प्रारम्भिककालमै टेलिभिजनबारे अध्ययन गर्न उनीसहित १८ जनाको टोली पा“च दिने तालिममा नेदरल्याण्ड पुगे । त्यहाँ उनले समाचार कसरी लेख्ने ? कसरी रिपोर्टिङ गर्ने ? क्यामेरा भनेको के हो ? यसबाट कसरी फोटो तथा भिडियो खिच्ने ? जस्ता कुरा सिके ।
दुर्गानाथले नेपाल टेलिभिजनमा चलाउने कार्यक्रम ‘विश्वघटना’ निकै चर्चित कार्यक्रम थियो । उनी कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका घटनालाई विस्तृत रूपमा पस्किन्थे भने कार्यक्रमको अन्त्यमा केही रोचक घटनालाई पनि समेट्थे । उनी नेपाल टेलिभिजनमा दुई पटक महाप्रबन्धक भए । पूर्व राजा ज्ञानेन्द्र शाह महेन्द्र प्रतिष्ठान संरक्षण कोषको अध्यक्ष रहँदा २०५७ सालमा चितवनमा वातावरण सम्बन्धी सम्मेलन हुँदा उनले ज्ञानेन्द्रको अन्तरवार्ता लिएका थिए । त्यसको एक वर्षपछि ज्ञानेन्द्र नेपालको राजा हुँदा पुनः दुर्गाले उनको अन्तरवार्ता लिए ।
२०६१ सालमा ४० वर्षको पत्रकारिता पूरा गरेर टेलिभिजनबाट बिदा भएपछि उनले उनले गोल्डेन गेट इन्टरनेसनल कलेजमा पत्रकारिता पढाए । उनी माउन्टेन टेलिभिजनको सीइओ पनि भए । उनी र नीर शाह मिलेर युनुस अन्सारीको लगानीमा रहेको नेसनल टिभीसमेत चलाए । उनको ‘बिना राहदानीको विदेश यात्रा’, ‘छाल’, ‘वर्ष आम सञ्चारमा’ र ‘ह्याण्डबुक अन ब्रोडकास्टिङ जर्नालिज्म’ पुस्तक पनि प्रकाशित छ । बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको परिवारमा श्रीमती र दुई छोरा छन् ।
नेपाली पत्रकारिताले उनलाई सम्झिरहनेछ ।