आशिषले उपहारका रूपमा एलिसालाई अजिताको मोबाइल दिएका थिए । मोबाइल ‘अन’ भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।
ट्रकको क्याबिनमा चारै जनाले शारीरिक सम्पर्क गरेको र पैसामा कुरा नमिलेपछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
‘१४–१५ वर्षको उमेरसम्ममा त छोरा जस्तै थिइन्, उनी । १५ वर्ष कटेपछि एक्कासि छोरी जस्तो भइन् । हामी पनि छक्क पर्यौँ ,’ फुपाजु देवकुमार थापाले भने, ‘छोरा कसरी छोरी भइन् थाहा नै भएन ।’ उनलाई स्याहार सुसार गर्दै आएका हजुरबा र हजुरआमाले पनि तेस्रो लिङ्गी अजिता भुजेललाई गाली गरे । हजुरबा हजुरआमाले गाली गरेपछि ब्लू डाइमन्ड सोसाइटीका प्रतिनिधिहरू आएर हजुरबा, हजुरआमालाई सम्झाइ बुझाइ गरे । त्यसपछि उनीहरूले अजितालाई गाली गर्न छाडे । उनी तेस्रो लिङ्गीका अधिकारका लागि सक्रिय भएर खटिन् । लैंगिक अल्पसंख्यकको अधिकारका लागि समेत काम गर्दै आएकी भुजेलले करिब एक वर्ष अघिमात्र जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आफ्नो पहिचानसहितको नागरिकता लिएकी थिइन् ।
तेस्रो लिङ्गी भएर पहिचानसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरवाट नागरिकता लिने अजिता पहिलो हुन् । हजुरबा हजुरआमाको संरक्षणमा हुर्केकी उनी केही समयदेखि हेटौंडा उपमहानगरपालिका–१० टिसिएनमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनी बेला–बेलामा हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा बस्दै आएका हजुरबा र हजुरआमा कहाँ समेत जाने गर्थिन् । हत्या हुनुभन्दा एक साताअघि हजुरबा र हजुरआमालाई भेटेकी थिइन् ।
आफू जन्मिएको २ महिनामा नै आमाबावु गुमाएकी अजिताको २९ वर्षको उमेरमा माघ ४ गते हत्या भयो । हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा उनको हत्या भएको थियो र करिब ६ किलोमिटर टाढा क्याम्पाडाँडा सडक छेउमा लगेर शव फालिएको थियो । राति करिब १ बजे शारीरिक सम्बन्धपश्चात् पैसाको विषयमा विवाद हुँदा हत्या गरिएको प्रहरी उपरीक्षक सुशील सिंह राठौरले बताए । अभियुक्तहरूको बयानअनुसार पैसाको विषयमा कुरा नमिल्दा उनको हत्या गाडीभित्र नै भएको थियो ।
हत्या भएको १८ औं दिन मंगलबार हत्यामा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लियो । मृतकको मोबाइल ‘अन’ हुने बितिक्कै प्रहरीले हत्यामा संलग्नहरूलाई नियन्त्रणमा लिन सफल भएको हो । ‘हामी मोबाइल अन हुन्छ कि हुँदैन भनेर प्रतिक्षारत थियौ,’ प्रअरी उपरीक्षक राठौरले भने, ‘अरू माध्यमबाट पनि अपराधीको खोजी गरिरहेका थियौं । मोबाइल अन हुनसक्छ भनेर हेरिरहेका थियौं ।’ हत्या अभियोगमा प्रहरीले हेटौंडा–९ का १८ वर्षीय सिमोन परियार, हेटौंडा–४ का २५ वर्षीय सुशील थापा मगर, हेटौंडा–११ की २० वर्षीया एलिसा पाख्रिन, हेटौंडा–४ का २४ वर्षीय आशिष बल र हेटौंडा–४ का २१ वर्षीय बुद्ध लामालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ना.६ ख ६५२७ नम्बरको ट्रकका सह—चालक परियार र थापा मगरले भुजेलसँग हेटौंडा–११ थानाभर्याङमा ७ हजार रुपैयाँ दिने सर्तमा शारीरिक सम्बन्ध राखेका थिए । घटनामा संलग्न दुई जना फरार छन् । उनीहरूको अहिलेसम्म पहिचान हुन सकेको छैन । ‘शारीरिक सम्बन्धमा संलग्न चारै जनाले एउटै ट्रक प्रयोग गरेको अनुसन्धानको क्रममा देखिएको छ । अर्को दुईजना अर्कै ट्रकको रहेको र तिनीहरूको पहिचान अझै खुलेको छैन,’ राठौरले भने ।
सिमोन परियारले ल्याएको ट्रकको क्याबिनमा चारै जनाले शारीरिक सम्बन्ध राखेको र पैसामा कुरा नमिलेपछि चारै जना मिलेर ट्रकभित्रै अजिताको हत्या गरेको प्रहरीले जनाएको छ । अजिताले सहमतिअनुसारको पैसा मागेपछि विवाद भएको र ट्रकभित्रै बिजुलीको तारले घाँटी अठ्याएर मारेको अनुसन्धानबाट खुल्न आएको छ । घटना भएको स्थान सवारी चालक तथा सह–चालक रहने क्षेत्र हो ।
अजिताको मोबाइल भने बुद्ध लामाले लिएका थिए । उनले साथी आशिषलाई दिए । आशिषले आफ्नी पत्नी एलिसालाई दिए । आशिष र एलिसाको विवाह अघिल्लो दिनमात्र भएको थियो । आशिषले उपहारका रूपमा एलिसालाई अजिताको मोबाइल दिएका थिए । मोबाइल ‘अन’ भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो ।
‘अजिताको हराएको मोबाइलमा एलिसाले आफ्नो सिम हालेर प्रयोगमा ल्याएपछि हामी घटनामा संलग्नहरूलाई पक्राउ गर्न सफल भएका हौं,’ राठौरलेप्रहरीकाअनुसार एलिसाले माघ २० गते सोमबार मोबाइल प्रयोगमा ल्याएकी थिइन् । ‘मोबाइल प्रयोगमा आएपछि मकवानपुर प्रहरी र महानगरीय अपराध महाशाखा टेकुबाट आएको टोलीले अनुसन्धानलाई तीव्र पारेका थिए । हामीले घटनापश्चात् करिब दुईसय ५० जनासँग सोधपुछ गरेका थियौं,’ प्रहरी उपरीक्षक राठौरले बताए ।
घटनामा संलग्न मुख्य अभियुक्त तथा ट्रकका सह–चालक परियारले बयानको क्रममा आफूलाई दिउँसैबाट ट्रकका साहूले दु:ख दिएको बताएका छन् । ‘ट्रक कुनै स्थानमा लगेर पल्टाउने मनसायले सह–चालक हिँडेको देखिन्छ । उक्त क्रममा चिया खान हेटौंडा–१०, बसापार्कमा आएपछि साथी सुशीलसँग भेटभएपछि शारीरिक सम्बन्ध राख्ने योजनाका साथ घटनास्थलमा पुगेको देखिन्छ,’ प्रहरी उपरीक्षक सिंहले भने । उनका अनुसार सह–चालक परियारले साहूलाई समेत नसोधी राति १० बजेको समयमा ट्रक लिएर बसपार्क पुगेका थिए । ‘ट्रक पल्टाउने स्थान नभेट्दा चिया खानका लागि बसपार्क आएको देखिन्छ’, उनी भन्छन्, ‘सुशील चोरी मुद्दामा तीन वर्ष जेल बसेर भर्खरै निस्किएका हुन् ।’
घटनास्थलमा पुगेर मृतक भुजेलसँग पैसाको विषयमा सहमतिपश्चात् अर्को सवारीका दुईजना समेत गरी चारजनाले पालैपालो शारीरिक सम्बन्ध राखेका थिए । शारीरिक सम्बन्ध पश्चात् विवाद भएपछि उनको हत्या गरिएको थियो । हत्यामा संलग्न अर्को सवारीको नम्बर र चालक तथा सह–चालकको अझै नाम खुल्न सकेको छैन । ‘प्रहरीले शंका लागेको केही व्यक्तिमाथि निगरानी राखिरहेको छ,’ प्रहरी उपरीक्षक सिंहले भने ।