साप्ताहिक संवाददाता
चराहरूको राजधानी मानिने कोसीटप्पुमा भ्रमण वर्ष–२०२० लाई लक्षित गरी संघीय र प्रदेश सरकारको उद्देश्यअनुरूप पर्यटक भित्र्याउन कोसी पर्यटन महोत्सव आयोजना गरिएको छ । सुनसरीको कोसी गाउँपालिकाको आयोजनामा आइतबार सुरु भएको महोत्सव २९ गतेसम्म १० दिन सञ्चालन हुने जनाइएको छ । कोसीटप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्त्वका प्याकेज नै तयार गरेर महोत्सव आयोजना गरिएको छ । महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जंगल सफारीसम्मको यात्रा गर्न पाउनेछन् ।
आन्तरिक, ५० हजार भारतीय र तेस्रो मुलुकबाट समेत जोडिने गरी १ लाख पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ । कोसी टप्पु वन्यजन्तु आरक्ष कार्यालय आसपास भ्रमण वर्षलाई सहयोगका लागि महोत्सव आयोजना गरिएको हो । हात्तीमा चढेर कार्यक्रमस्थल पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महोत्सवको उद्घाटन गरेका थिए । महोत्सव आयोजना स्थल चराहरूको राजधानीका रूपमा समेत परिचित छ ।