साप्ताहिक संवाददाता
हास्य अभिनेत्रीका रूपमा स्थापित कुञ्जना घिमिरे (सुन्तली) २८ वर्षको उमेरमा आएर चलचित्रको अभिनेत्री बन्ने सपना साकार भएकोमा दंग छिन् । हास्य श्रृंखला मेरी बास्सैमा विभिन्न चरित्र निर्वाह गरेर दर्शकको मन जिते पनि उनले चलचित्रमा भने हालसम्म अभिनेत्रीका रूपमा अभिनय गर्ने मौका पाएकी थिइनन् ।
यद्यपि, उनले अभिनय यात्रा प्रारम्भ गर्दा चलचित्रको अभिनेत्री बन्ने नै लक्ष्य लिएकी थिइन् । आफ्ना हास्य अभिनेता श्रीमान् सीताराम कट्टेलद्वारा निर्मित चलचित्र सेन्टी भाइरसमार्फत आफूलाई अभिनेत्री बन्ने सौभाग्य जुरेको कुञ्जनाको भनाइ छ ।
कुञ्जनाले बाल्यकालदेखि नै ऐनाअघि उभिएर अभिनेत्री बन्ने सपना देखेकी रहिछन्, जुन अहिले आएर पूरा भयो । सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्क हुने कुञ्जनाले अहिले आएर सपना साकार भएको बताए पनि सेन्टी भाइरसमा उनी अभिनेत्रीभन्दा पनि मुख्य चरित्रमा प्रस्तुत भएकी छिन् ।