जिपलाइन समुद्र सतहको १३ सय मिटर उचाइमा टेक अफ भएर १२ सय मिटर उचाइमा ल्यान्डिङ हुन्छ । टेकअफ स्टेसन थाक्लेडाँडादेखि ल्यान्डिङ स्टेसन पाँचखालको खावासम्मको दूरी ११ सय मिटर छ ।
काठमाडौंदेखि ३५ किमि दूरीमा पर्ने धुलिखेल ‘जिपलाइन’ हब नै बनेको छ । अरनिको राजमार्गमै पर्ने भएकाले आउन–जान सहज छ । यसका लागि एक दिनमात्रै छुट्टयाए पुग्ने भएकाले पनि उपत्यकावासीहरूको गन्तव्यको रोजाइमा पर्छ । केही दिनको बिदा मनाउनेका लागि पर्यटनमा छुट्टै पहिचान बनाएको धुलिखेलको अर्को आकर्षण भन्नु नै जिपलाइन हो । नेपालमा जिपलाइनका लागि पोखरापछिको गन्तव्य हो— धुलिखेल ।
म पनि अंग्रेजी नयाँ वर्ष नजिकिँदै गर्दा (डिसेम्बर अन्तिम साता) छुट्टीको दिन पारेर जिपलाइन गर्न धुलिखेल पुगे । हुन त म घुमफिर गरेर मज्जा लिने सोखले पनि बिदाको समय यो व्यस्त सहरभन्दा टाढै जान रुचाउने गर्छु ।
बिहानको खाना खाएर जिपलाइन गर्न धुलिखेल पुग्दा मध्याह्न भइसकेको थियो । अरू दिनभन्दा बेग्लै रमाइलो । आकाश खुलेको । हिमाल सेताम्मे टल्केको । त्यसमाथि पारिलो घाम । हरियाली जंगल । शान्त गाउँ ।
जिपलाइन टेकअफ हुने धुलिखेलको थाक्लेडाँडामा थुप्रै युवायुवती भेला भएका थिए । उनीहरू एकपछि अर्को गर्दै डोरीजस्तै देखिने फलामको लठ्ठा हुँदै चिच्याउँदै, कराउँदै अघि बढ्थे । एकैछिनमा बिलाउँथे अर्थात् उनीहरू जिपलाइन गर्दै ल्यान्डिङ हुने धुलिखेलको खावा पुग्थे । म आफ्नो पालो आउन्जेल ती युवायुवतीले जिपलाइन गरेको हेर्दै रमाएँ ।
एक घण्टापछि मेरो पालो आयो । ‘जिपलाइन’ मास्टरले मेरो शरीरमा सेफ्टी बाँधिदिए । हेल्मेट लगाइदिए । म निर्धक्क भएर टेकअफ स्टेसन उक्लिएँ । मास्टरले जिपलाइन गर्दा पालना गर्नुपर्ने नियम बताए । मैले एक वर्षअघि पनि जिपलाइन गरिसकेको भएर होला, डर भने पटक्कै थिएन । पोहोरचाहिँ खुब डराएकै थिएँ ।
पोहोर कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी हार्नेसमा घोप्टो सुतेर दुवै हात फिँजाएर अघि बढ्नुपर्ने सुपरम्यानवाला जिपलाइन गरेको थिएँ । यो पाला बसेर अघि बढ्नुपर्ने साधारण अर्थात् क्लासिक । सुपरम्यानभन्दा अलि सजिलो र जो–कोहीले यो जिपलाइन गर्न सक्छन् । दुवैको नियमचाहिँ उस्तै–उस्तैजस्तो लागे पनि फरक हुँदो रै’छ ।
नियम बताइसकेपछि मास्टरले मलाई अग्लो टेबलमाथि उभिन लगाए । जिपलाइनको डोरीमा क्यारोबिनले झुन्ड्याइदिए । दाहिने हातमा गोप्रो लिएँ । देब्रे हातले जिपलाइनको डोरी समातें । मास्टरले म उभिएको छोडेर डोरीमा स्वतन्त्र रूपले झुन्डिन लगाए अनि पछाडिबाट तानेर एक, दुई, तीन भन्दै जिपलाइनको डोरीमा झुन्डिएको मेरो ज्यानलाई जोडले घचेटेर टेकअफ स्टेसनको बार कटाए । घचेटिएको ज्यान हावाको वेगसँगै अघिल्तिर नमज्जाले हुर्रियो । त्यतिबेला निकै डराए । देब्रे हातले समातेको डोरी बेस्मारी च्यापेको थिएँ । लगभग तीन सेकेन्डजतिको त्यो डर बिस्तारै कम हुदै गयो ।
मैले देब्रे हात डोरीबाट छोडिदिए । ज्यान लत्रियो । डोरीमा लत्रिएको ज्यान हावाको वेगसँगै स्वतन्त्र रूपले अघि बढिरहेको थियो । २ सय ४० फिटको झुकावमा हावाको औसत गति ७० किलोमिटर प्रतिघण्टा थियो ।
मेरो डर हटिसकेको थियो । दिन खुलेकाले गोप्रोलाई हिमालतिर देखाउँदै आफ्नो अनुकूल भिडियो र तस्बिर लिँदै रमाउदै अघि बढें । हावाको गति र वेगले गर्दा लत्रिएको मेरो ज्यान दायाँबायाँ घुमाउन थाल्यो । एक–दुई पल्टसम्म त मज्जा नै भयो । डोरीमा लत्रिएको ज्यान घरीघरीको चर्को हावा चाँडो–चाँडो घुमाइदिँदा भने डराएँ । ४० सेकेन्डजति पार गर्दासम्म लत्रिएको ज्यानलाई थकान महसुस भयो । मैले क्यारोविनवाला डोरी समाएँ ।
आफ्नो अनुकूलमा फोटो, भिडियो लिँदै, रमाइलो गर्दै अघि बढे । हरियाली जंगललाई झुन्डिएर माथिबाट हेर्दाको आनन्द बेग्लै थियो । टाढा–टाढासम्मका गाउँ हेर्दा डाँडामा बसेर गाउँघर नियालेको याद भयो । कतै डर, कतै आनन्द । झुन्डिदिदै/उड्दै प्रकृति नियाल्दा निकै रमाएँ ।
अघि बढ्दै गरेको म अचानक अड्किएँ । ल्यान्डिङ हुने बेला भइसकेको रहेछ । म केही आत्तिएँ । त्यतिन्जेलमा ल्यान्डिङ स्टेसनका मास्टर मलाई रेस्क्यु गर्न आइसकेका थिए, तर मलाई अड्किएपछि मनमा खटपट सुरु भइसकेको थियो । तल हेर्यो, जमिन निकै गहिराइमा देखिन्छ । रेस्क्यु गर्ने मास्टर आउँदैछन् भनूँ, म झन् पछाडितिर धकेलिँदैछु । मास्टर कतिबेला आइपुग्लान् र रेस्क्यु गर्लान् भन्ने पिरले पसिना छुटाइसकेको थियो । बल्ल उनी आइपुगे । मलाई रेस्क्यु गरेर ल्यान्डिङ स्टेसन पुर्याए । ल्यान्डिङ हुनेबेलाको डोरी केही उकालो रहेछ । हावाको वेग कम हुँदा बीचैमा अड्किएको रहेछु । ल्यान्डिङ भएपछि मास्टरले सुनाए । मास्टरले मलाई जिपलाइनको डोरीबाट छुटाए र म स्टेसनबाट ओर्लिए । फलामको डोरीमा घिर्नीको सहायताले विशेष प्रकारको फित्तामा झुन्डिएर अघि बढ्दा वा उड्दाको डर, भय र आनन्दको सम्मिश्रणले आफूलाई साहसिक अनुभूति भयो ।
जिपलाइन समुद्र सतहको १३ सय मिटर उचाइमा टेक अफ भएर १२ सय मिटर उचाइमा ल्यान्डिङ हुन्छ । टेकअफ स्टेसन थाक्लेडाँडादेखि ल्यान्डिङ स्टेसन पाँचखालको खावासम्मको दूरी ११ सय मिटर छ । यो दूरी पार गर्न १ मिनेट २० सेकेन्ड लाग्छ । जिपलाइनमा साधारण, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । क्लासिक (साधारण) जिपलाइन गर्न नेपाली नागरिकका लागि २ हजार ५ सय, सुपरम्यानका लागि ३ हजार ५ सय र टेन्डमका लागि ४ हजार ५ सय रुपैयाँ लाग्छ ।
‘जिपलाइन’को अनुभव लिन यहाँ नेपालसहित चीन, कोरिया, हङकङ, अमेरिका र स्वीजरल्यान्डबाट आएका पर्यटकको दैनिक भिड लाग्ने गर्छ । दैनिक २५ देखि ६० जनाले जिपलाइन गर्छन् । मौसम सफा भएका बेला १ सय ८० डिग्री कोणमा अन्नपूर्ण, गणेश हिमाल, लाङटाङ, गौरीशंकर, ल्होत्से, फूर्बीच्याचूलगायत हिमशृंखलाका पानारोमा दृश्य हेर्न सकिन्छ ।