साप्ताहिक संवाददाता
प्रा. डा. बालकृष्ण बल / प्रमुख, कम्प्युटर साइन्स र इन्जिनियरिङ विभाग
काठमाडौं विश्वविद्यालय
एआईलाई नेपालीमा ‘कृत्रिम बौद्धिकता’ पनि भनिँदो रहेछ । यो सही हो ?
अनुवाद गर्दा कृत्रिम बौद्धिकता होला । तर, यसलाई आर्टिफिसियल इन्टेलिजेन्स नै भन्दा न्याय हुन्छ जस्तो लाग्छ । किनकि यसको ठेट अर्थ कृत्रिम बौद्धिकता होइन ।
नेपालमा एआईको सम्भावना के–कस्तो छ ?
नेपालमा यसको प्रचुर सम्भावना छ । पहिला–पहिला स्रोतहरू विकसित राष्ट्रमा मात्र सीमित हुन्थे । अहिले इन्टरनेटले गर्दा स्रोतहरू सबैको पहुँचमा छन् । नेपाल पनि विश्वकै गतिमा अघि बढिरहेको छ । विश्वविद्यालयमा एआईसम्बन्धी अनुसन्धान गरिरहेका छौँ, ‘कोर्स’ त पहिलेदेखि नै थियो । इन्फर्मेसन ल्याङ्ग्वेज प्रोसेसिङ रिसर्च ल्याबमा भाषा प्रविधिसम्बन्धी अनुसन्धान गराइरहेका छौँ । नदेखे पनि सुँघेरै थाहा पाउने सफ्टवेयर बनाइरहेका छौँ । यान्त्रिक अनुवाद (जस्तै : नेपालीबाट अंग्रेजी, अंग्रेजीबाट नेपाली) मा पनि काम गरिरहेकै छौँ । यसबारे मास्टर्समा थेसिसहरू भइरहेका छन् । अहिले अंग्रेजी, नेपाली र तामाङ भाषामा यान्त्रिक अनुवादका काम भइरहेका छन् ।
एआईमाथि विश्वको सन्दर्भमा के भइरहेको छ, नेपाल त्यसमा कसरी जोडिएको छ ?
ड्राइभरबिनै चल्ने कार, समाचार पढ्ने रोबर्ट यसका पछिल्ला उपलब्धि हुन् । एआई विकासमा नेपालको चासो सोफिया यहाँ ल्याउनुबाट पनि देखिन्छ, तर हामी पछाडि नै छौं । त्यसको कारण हामीसँग पर्याप्त डाटा नहुनु नै हो । यसमा सरकार, विश्वविद्यालय र रिसर्च गर्ने संस्थाहरू लाग्नुपर्छ । सरकारले जुलाईमा सम्मेलन गर्दैछ । एआईमा नेपालको स्थिति कस्तो छ भन्ने थप जानकारी त्यसबेला आउला ।
एआईको विकाससँगै यसले मानव जनशक्तिमा पार्ने असर पनि त होलान् नि ?
आम जनमानसमा एआईले हाम्रो जागिर नै खाइदिने हो कि, विस्थापित गरिदिने हो कि भन्ने त्रास छ । तर मानिसले गर्ने काम एआईले गर्ने समयमा पुग्दा हामी अन्य काम गर्ने भइसकेका हुन्छौँ । अर्को कुरा, यो मान्छेले नै बनाउने हो । त्यसैले मान्छेको भूमिका अपरिहार्य नै हुन्छ । एकोहोरो गरिरहनुपर्ने काम मेसिनहरूलाई लगाउने हो । मान्छे अझै इन्टेलिजेन्स र वैकल्पिक काममा लाग्ने हो ।
एआईको पहुँच पुँजीपति वर्गहरूमा हुने र श्रमिकवर्ग जोखिममा पर्ने हुँदैन ?
‘ल्याङ्वेज टेक्नोलोजी फर अल’ भन्ने अहिलेको नारा नै हो । एआईको लोकतान्त्रीकरणबारे पनि विश्वमा छलफल भइरहेको छ । कसरी हुन्छ सर्वसाधारणलाई फाइदा पुगोस् भन्नेमा चासो देखिन्छ । मजदुर वर्गमा एआई पुर्याउने प्रयास जारी रहन्छ । ‘एआई फर अल’ भन्ने भोलिको नारा हुनेछ । सबैको पहुँचमा भएपछि झन् राम्रो हुन्छ कि †
शारीरिक कम र मानसिक श्रम बढी हुने भयो, चुनौती भएन यो ?
समस्या ननिम्त्याउला भन्न सकिन्न, यो विषयमा पनि सोच्नुपर्छ । तर, अहिल्यै त्यहाँसम्म पुग्ने बेला भएको छैन ।