साप्ताहिक संवाददाता
अभिनेत्री प्रियंका चोपडाका गायक श्रीमान् निक जोनास सामाजिक सञ्जालमा मजाकको पात्र बनेका छन् । अघिल्लो साता सम्पन्न ग्रामी एवार्डका क्रममा सांगीतिक प्रस्तुति दिएपछि उनलाई लिएर ट्रोलहरू बनेका छन् ।
वास्तवमा उक्त समारोहमा निकले आफ्ना भाइहरूसँग मिलेर स्टेज प्रस्तुति दिएका थिए । समारोहमा उनले फाइभ मोर मिनेट्स तथा ह्वाट अ म्यान गोटा डू जस्ता गीतहरू गाएका थिए । निकले त्यो बेला लाजमर्दो स्थितिको सामना गर्नुपर्यो, जब उनका प्रशंसकहरूले उनको दाँतमा केही अनौठो वस्तु देखे ।
उनको दाँतमा खानाको टुक्रा अड्किएको थियो, जुन क्यामेरामा स्पष्ट देखियो । त्यसपछि मानिसहरूले त्यसैलाई ट्रोल बनाउन थाले । रमाइलो कुरा के भयो भने निक आफैंले एउटा रमाइलो स्टाटस लेख्दै आफ्नो भूल स्वीकार गरेका छन् ।
उनले लेखेका थिए, ‘कम्तीमा अब सबैलाई थाहा भइसकेको हुन सक्छ, म हरिया साग–सब्जीहरू सेवन गर्छु ।’ उक्त समारोहमा जोनास ब्रदर्स उनीहरूको गीत ‘सकर’ का लागि बेस्ट पप डुओ/ग्रुप पर्फमेन्स विधामा मनोनीत भएका थिए ।