लभ विद्आउट बोर्डर

  • ‘हजुरआमाको औँठी दिएर याकपले बिहेको प्रस्ताव गर्नुभयो’

- कृष्ण आचार्य

माघ २८, २०७६

छ वर्षअघि यूएसएडको कार्यशालामा पत्रकारको एउटा टोली नेपालगन्ज गयो । कार्यशालाअघि त्यहाँस्थित यूएसएडको कार्यालयमा छलफल चल्यो । एक व्यक्तिले अंग्रेजी भाषामा आगन्तुकलाई कार्यक्रमबारे जानकारी दिन थाले । सहभागी धेरै पत्रकारहरू नेपालीभाषी थिए । त्यहीँ रहेका एक विदेशीले वक्तालाई रोकेर नेपालीमै बोल्न लगाए । ‘नेपालीमै बोलिदिनुस्’ भनेर नेपाली भाषामै आग्रह गर्नेती विदेशीले निशा राईको पहिलोपटक ध्यान खिचेका थिए । त्यतिबेला निशा एन्टेना फाउन्डेसन नेपालमा काम गर्थिन् । 

ती विदेशी थिए,  ‘हेल्प फर लाइफ’ कार्यक्रमका कम्युनिकेसन स्पेसलिस्ट याकप कसेल । निशाले पछिमात्र उनको परिचय थाहा पाइन् । जानकारीमूलक सत्र सकिएपछि टोली फिल्ड भिजिटमा लाग्यो ।

फिल्डमा याकपले निशाको फोटो धेरै खिचे । निशाले अनुमतिबिना फोटो खिचेको भनेर याकपलाई गाली गरिन् । दोस्रो दिन टोली बर्दिया गयो । बाल मृत्युदर घटाउन स्थानीय स्वास्थ्यकर्मीले गरेको प्राकृतिक उपचारबारे अध्ययन गर्नु थियो । मानिसहरूसँग प्रश्न गर्ने, दोहोरो संवाद गर्ने निशाको व्यवहारबाट याकप आकर्षित भए । दोस्रो दिन पनि उनले निशाका तस्बिर खिचे, तर निशाको मौन सहमतिमा । 

फिल्ड भिजिट एक साताको थियो । याकप भने तेस्रो दिनमै फर्किए, निशाको हातमा भिजिटिङ कार्ड थमाएर । त्यतिबेलासम्म उनीहरू सामाजिक सञ्जाल फेसबुकमा समेत जोडिइसकेका थिए । निशा काठमाडौं फर्किएपछि उनीहरूको फेसबुकमा कुराकानी हुन थाल्यो । सम्बन्ध फेसबुक हुँदै फोनसम्म आइपुग्यो । यसरी उनीहरूले एकअर्कासँग मनको भावनामात्र पोखेनन् देशको परिस्थिति, राजनीति र समाज परिवर्तनका विषयमा पनि कुरा गर्न थाले । न उनीहरूको मन थाक्यो, न समय नै ।

०००

निशा र याकपबीचमा अंग्रेजी र नेपाली दुवै भाषामा कुराकानी हुन्थ्यो । याकप आफूले नजानेका नेपाली शब्दको अर्थ निशासँग सोध्थे । नेपालमा हुने घटनाक्रमबारे जानकारी लिन्थे । उनी आफ्ना कुरा थोरै भन्थे, निशाको कुरा धेरै सुन्थे । ‘धेरैजसो नेपाली केटाहरू यस्तो भयो, मैले यस्तो गरेँ, तिमीले यस्तो गर्नुपर्छ, त्यस्तो नगर, त्यो ठीक वा राम्रो होइन भनेर आफ्नो निर्णय लाद्न खोज्छन्,’ निशा भन्छिन्, ‘उहाँले जुनसुकै कुरा पनि मलाई यस्तो लाग्छ, तिमीलाई के लाग्छ भनेर सोध्नुहुन्थ्यो । जे कुरामा पनि अरुको धारणा बुझ्न खोज्ने र त्यसको सम्मान गर्ने बानी मलाई एकदमै मन पथ्र्यो ।’ 

याकप नेपाली संस्कृतिलाई पनि निकै सम्मान गर्थे । उनीहरू भेट्न र सँगै हिँड्न थालिसकेका थिए । याकप बाटोमा हिँड्दा नचिनेका मानिसहरूलाई पनि मायालु पाराले बोलाउँथे । उनीहरूसँग निकट भए जसरी कुरा गर्थे । निशा यी सबै कुरा नियालिरहेकी थिइन् । याकपको हरेक व्यवहार उनलाई मन परिरहेको थियो । त्यसैले पनि उनी याकपसँग निकट भइन् । 

याकपलाई निशाको मेहनत गर्ने बानी मन पथ्र्यो रे । त्यसैले निशासँग सधैं बोलिरहन, निकट भइरहन मन पराउँथे । चार वर्ष उनीहरू यसरी नै एक अर्काको निकट रहे । कहिले नेटमा त कहिले डेटमा, एकअर्काका भावना साटे । फिल्म हलसम्म गएर कहिले नेपाली त कहिले विदेशी सिनेमा हेरे । फरक–फरक रेस्टुराँहरूमा गएर फरक–फरक स्वाद चाख्दै समय बिताए ।

तर, ‘म तिमीलाई माया गर्छु’ भनेर कहिल्यै भनेनन् । याकप आफ्ना लागि सक्षम श्रीमान् हो भन्ने थाहा हुँदाहुँदै निशा मनको भाव व्यक्त गर्न सक्दैनथिन् । भन्छिन्, ‘ऊ आज यहाँ छ, भोलि कहाँ जान्छ भन्ने थियो । विदेशी मान्छे, उसको जीवनशैली नै फरक थियो । बिहेबारे त मैले सोचेकी समेत थिइनँ ।’

०००

एक दिन सामाजिक संजालमा उनीहरूको कुराकानी भइरहेको थियो । याकपको नेपालमा जागिरको ६ महिना बाँकी हुँदो हो । सोही क्रममा याकपले भने, ‘अब म नेपाल बस्ने धेरै समय छैन ।’

निशाले उत्तर फर्काइन्, ‘हो त है ।’

याकपले रिप्लाई गरे ‘तर, म तिमीलाई छाडेर जान सक्दिनँ ।’

निशा मौन रहिन् ।

याकपले फेरि लेखे ‘तिमी पनि मसँगै जान्छौं त ?’

निशालाई लाग्यो याकप जिस्किरहेका छन् । उनले पनि ‘म आइहाल्छु नि’ भनिदिइन् । याकपले

त्यत्तिकैमा ‘त्यसो भए हामी बिहे गर्नुपर्छ’ भने । निशा अब भने सिरियस भइन् । मौन रहिन् । मुटको धड्कन बढ्न थाल्यो । मनमा उत्साह, डर र हलचल एकै पटक मच्चियो । आफूहरूबीचको मौन प्रेमले बिहेको रूप लिँदैछ भन्ने उत्साह । एक त विदेशी, त्यसमा पनि फरक संस्कृतिको व्यक्तिसँग बिहे गर्दा परिवारबाट आउन सक्ने रोकावटको डर अनि यी दुईबीचको द्वन्द्वले मच्चाएको हलचल । उनले माने–नमाने पनि याकप उनको मनमा बसिसकेका थिए । त्यसैले निशासामू उनको प्रस्ताव स्वीकर्नुको अर्को विकल्प पनि कहाँ थियो र !

केही समयपछि याकपकी आमा नेपाल आइन् । याकपको हजुरआमाको औँठी उनकी आमा हुँदै उपहारस्वरूप नेपाल आइपुग्यो, निशाका लागि । औँठीसँगै थुप्रै उपहारहरू पनि थिए । याकपले आमाले थैलीमा ल्याएको उपहार निकाले । निशालाई घरको बाहिरपट्टी बोलाए । औँठी दिएर भने, ‘के तिमी मसँग बिहे गर्छौँ ?’ नेपालीले टिकाटालो गरेजस्तै याकपको संस्कारमा बिहेअघि यसरी प्रपोज गर्नुपर्ने रहेछ ।

निशाले औँठी लिइन् । अर्थात्, उनीहरूको टीकाटालो भयो । 

कुरा निशाको परिवारसम्म आइपुग्यो । आफन्तले झट्ट सहमति जनाउन सकेनन् । विदेशी मान्छे पहिल्यै बिहे भइसकेको छ कि ? आफन्तको प्रश्न थियो । परिवारमा आफ्नै जातको नेपाली केटा बिहे गरिदिए हुन्थ्यो भन्ने कुरा चल्यो । निशाले परिवारमा सबैलाई सम्झाइन् । याकप राम्रो नेपाली बोल्थे । त्यसैले भाषाको समस्या थिएन । अन्तिममा छोरीको खुसीका लागि परिवार राजी भयो । निशा उत्साहित हुँदै भन्छिन् ‘अहिले त परिवारमा उहाँ सबैसँग उत्तिकै घुलमिल हुनुहुन्छ ।’ याकप दसैंमा मज्जाले टीका लगाउँछन् । अन्य नेपाली चाडबाड पनि मनाउँछन् । 

यसरी यो जोडीको मौन प्रेमले बिहेको रूप लियो । त्यसो त याकपले ६ वर्षअघि निशाको फोटो त्यत्तिकै खिचेका थिएनन् । त्यतिबेलै उनले सोचेका थिए, ‘म बिहे गर्छु त यही केटीसँग गर्छु ।’

(नोटः विस्तृत सामग्री साप्ताहिकको प्रिन्ट संस्करणमा प्रकाशित हुनेछ । भ्यालेन्टाइन दिवसका अवसरमा आउँदो अंक ‘डिजिटल लभ’ विशेष हुनेछ ।)

 

प्रकाशित :माघ २८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×