थिएटर रोज्दै युवापुस्ता

- नेमिष गौतम

माघ २९, २०७६

 

चलचित्रमा तुरुन्तै गइहाल्ने इच्छाचाहिँ छैन । अहिले केही समयचाहिँ अझै अभिनयलाई 

निखार्ने र धेरै सिक्ने योजना छ । सिकिसकेपछि गर्दिनँ भन्ने छैन । 

थिएटर कमाइको आकर्षक थलो होइन । नाटकघरहरू नाफामा जाने संस्था पनि होइनन् । तर, थिएटरमा युवापुस्ताको आकर्षण भने हरदिन बढिरहेको छ । काठमाडौंमा थिएटरहरूले चलाएका अभिनयसम्बन्धी कार्यशालामा युवाहरूको सहभागिता उत्साहजनक छ । 

संखुवासभाका छेजिङ जेवा भुटियाले गाउँमा कहिल्यै नाटक हेर्न पाएनन् । एसएलसीपछि काठमाडौं आएर मात्र नाटकबारे बुझे । एपेक्स कलेजमा एमबीए पढ्दै गरेका भुटिया मण्डला थिएटरको ल्याब सेभेनका विद्यार्थी हुन् । 

‘गाउँघरमा नाटक हुँदैनथ्यो । काठमाडौं आएर नाटकबारे सुन्न थालेपछि रुचि जाग्यो । मण्डलामा नाटक हेरेपछि त्यसमा आफ्नो एक किसिमको कनेक्सन पाएँ,’ उमेरले २५ वर्षमा हिँड्दै गरेका उनले भने, ‘म नाटकमा फिट हुन्छु जस्तो लाग्यो । अनि मण्डलामै नाटकको प्रशिक्षण लिएँ ।’ 

छेजिङले मण्डलामा ‘स्वप्निल स्वप्ननगरी’ नाटकमा अभिनय गरे । यो नाटकमा उनको भूमिका काठमाडौंको घरबेटीको थियो । उनले आफ्नो चरित्रबाट दर्शकको राम्रै प्रशंसा पाएको बताए । छेजिङ र उनका सहकर्मीलाई पहिलो पटक दर्शकका अगाडि देखिँदा निकै गाह्रो भएछ । ‘आत्मविश्वास बढ्दै गएपछि दर्शक नहुँदाचाहिँ प्रस्तुत गर्न गाह्रो हुँदो रहेछ’, उनले भने । छेजिङको चलचित्रमा जाने योजना छैन । आफू अभिनयमा पोख्त भएपछि मात्र चलचित्रमा आउने योजना सुनाउँछन् । 

चन्द्रागिरी नगरपालिका– १०, सतुंगलका २७ वर्षे युवा मनिष अर्याल पेसाले सिभिल इन्जिनियर हुन् । इन्जिनियर भए पनि उनको भोक अभिनयमा छ । विद्यालय र कलेजमा हुने नाटकमा प्रमुख पात्रका रूपमा प्रस्तुत हुने मनिष राजधानीको सर्वनाम थिएटरको १५ औं ब्याचका विद्यार्थी हुन् । केही समयअघि सर्वनाममा मञ्चित नाटक ‘ऋतुचर्या’मा मनसुन सिजनको वर्षातको भूमिकामा अभिनय गरेका उनले यो चरित्रबाट निकै तारिफ पाए । ‘म विज्ञानको विद्यार्थी भएकाले विज्ञानमा आफूलाई एक्स्प्लोर गर्न मन लाग्छ । त्यो हिसाबले फिजिक्स मेरो मन पर्ने विषय हो । स्कुल र कलेजमा भइरहने नाटकमा अभिनय गरेकाले पनि मलाई अभिनयको नशा चढिसकेको थियो’, उनले भने, ‘आफ्नो क्षेत्रका प्राविधिक कुरा म थिएटरमा प्रयोग गर्न चाहन्छु ।’ उनको उद्देश्य भने चलचित्रमा अभिनय गर्ने रहेछ । उनी ‘मिस्टर नेपाल–२०१७’ मा प्रतिस्पर्धीका रूपमा पुग्दा अभिनयका केही कुरा सिक्ने मौका पाएका रहेछन् । 

कोटेश्वरकी १८ वर्षीया निशिम श्रेष्ठ बीबीएकी विद्यार्थी हुन् । शिल्पी थिएटरको नवौं ब्याचकी यी विद्यार्थीलाई पारिवारिक माहौलले पनि नाट्य अभिनयमा सहज बनाइदियो । ‘घरमा बुबा लेखक हुनुुहुन्छ । उहाँले गर्दा पनि इन्फ्युएन्स भएँ । शिल्पी थिएटरका घिमिरे युवराज सरलाई सानैदेखि देखिरहेकाले यहाँ आएर तीन महिनाको कोर्स गरें’, बाल्यकालदेखि नै संगीतमा रुचि राख्ने उनले भनिन्, ‘पहिलो नाटकमा मेरो क्यारेक्टर गीत गाउने थियो । म रियल लाइफमा पनि गीत गाउने गर्छु । त्यसकारण काम गर्न केही सहज भयो ।’ निशिमको अनुभवमा धेरै दर्शक अगाडि प्रस्तुत भइरहँदा उनमा आत्मविश्वास बढेको रहेछ । निशिम सुरुवाती समयमा नाटक खासै हेर्दिनथिन्, तर नाटक सिक्दै जाँदा उनलाई नाटक प्रेम राम्रै जागेको रहेछ । ‘सामाजिक सन्देश र मनोरञ्जनात्मक किसिमको नाटकमा काम गर्ने इच्छा छ’, उनी खुलिन् ।

छेजिङ, मनिष र निशिम नाट्य क्षेत्रमा अभिनय रुचि राखेर आउने पछिल्लो पुस्ताका प्रतिनिधि पात्र हुन् । राजधानीमा खुलेका नाटकघरमा पुग्ने हो भने यस्तै थुप्रै नयाँ अनुहार भेट्न सकिन्छ । पछिल्लो दशकमा चलचित्रमा थिएटरका कलाकारको बाक्लो उपस्थितिले पनि चलचित्रमा आउन चाहने युवाका लागि थिएटर राम्रो प्लेटफर्म नै बनेको छ । शिल्पी थिएटरका घिमिरे युवराज नाटकमा युवापुस्ताको आगमन बढ्नुमा तीन प्रमुख कारण मान्छन् । 

‘पहिलो कुरा नाटक घरहरू बढे । वर्कसपको संख्या पनि बढ्यो । पहिला–पहिला नाटक सिक्न कहाँ जाने भन्ने हुन्थ्यो, नाटक सिक्ने स्पेस पनि थिएन । अहिले नाटक गतिविधि बढ्न थालेपछि युवापुस्तालाई आकर्षण गर्दो रहेछ । दोस्रो कुरा, अभिभावकको नाटकप्रतिको सोच पनि बदलिएको छ । सहरिया क्षेत्रका अभिभावकमा छोराछोरीको चाहना पूरा गर्नुपर्छ भन्ने सोचाइ बसिसकेको छ । यहाँ कतिपय अभिभावकले आफैं छोराछोरी ल्याएर भर्ना गराएको अवस्था पनि छ । अभिभावकले नाटक पनि हेर्ने हुनाले यो राम्रै काम रहेछ, केही स्कोप पनि रहेछ भन्ने चेतनाको विकास गरिरहेका छन्’, उनी भन्छन्, ‘नाटक हल्काफुल्का मनोरञ्जन मात्रै होइन रहेछ । पहिला इज्जत नहुने, नाचगान गर्ने मान्छेहरू भन्ने थियो । त्यसलाई समुदायले सम्मानजनक किसिमले हेर्न थाले । मिडियामा पनि आउन थाले । नाटकमा क्यारियर पनि बनाउन सक्छन् भन्ने भावनाको विकास भयो । रेडियो, चलचित्रमा जाने सम्भावना देखेर पनि युवापुस्ता आउन थाले ।’ 

युवराजका अनुसार शिल्पीले वर्षमा दुई पटक विद्यार्थी भर्ना गर्छ । त्यसमा १५–१५ कोटा हुन्छ । शिल्पीले उपत्यकामा तीनमहिने र उपत्यकाबाहिर १५–२० दिनको सर्ट फर्म कोर्स गर्ने गरेको छ । ती सबै संख्या हेर्दा शिल्पीबाट हालसम्म ५ सय बढी कलाकार उत्पादन गरिसकेको छ । ‘अहिले जति थिएटरले कोर्स चलाइरहेका छन्, त्यसमा विद्यार्थी चाहिँ पुगिरहेका छन् । नाटक सिकाउने शैलीले पनि विद्यार्थी कता जाने भनेर छुट्टिँदा रहेछन्’, युवराज अनुभव सुनाउँछन्, ‘धेरै हिसाबले विद्यार्थीहरू नाटक सिक्न आउँछन् । प्लस टु सकेको, ब्याचलर सकेको छ र त्यो समयलाई सदुपयोग गर्दै व्यक्तित्व विकासमा पनि सघाउन पुर्‍याउन अभिनय सिक्न आउने गर्छन् । कोर्समा आइसकेपछि नाटकमा लाग्ने कि नलाग्ने भन्ने निर्णय गर्न सक्छ । बाहिर हेर्दा मिडिया आउँछ, ओहो † कस्तो राम्रो नाटक भन्ने हुन्छ । दुई–तीनवटा नाटक गरिसकेपछि विधा परिवर्तन गरेको पनि छ ।’ नाटकमा तालिम लिएर चलचित्रमा जानेको जमात ठूलो रहेको युवराजको अनुभव छ । उनका अनुसार जति तालिम लिएका विद्यार्थीहरू छन्, ती सबै नाटकमा आउने अथवा खपत हुने सम्भावना नै हुँदैन ।

काठमाडौंको मैतीदेवी बस्ने बिन्दु बीएम उमेरले २३ वर्ष पुगिन् । एमबीएस सेकेन्ड सेमेस्टर अध्ययनरत उनले नाटकमा साइनो जोडेको झन्डै डेढ वर्ष भयो । ‘मनोरन्जनको क्षेत्रमा रुचि छ भन्ने लागेपछि मैले सुरुमा नृत्यलाई रोजें । पछि नृत्यभन्दा बाहिर रहेर मोडलिङ, मेकअप, अभिनय पनि सिकें, किनकि एउटा कलाकारमा हुनुपर्ने गुणमा यी कुरा पर्दा रहेछन्’, सर्वनामकी १३ औं ब्याचकी विद्यार्थी बिन्दुले भनिन्, ‘म मिस दिभा नेपाल नामक सौन्दर्य प्रतियोगितामा भाग लिन गएको थिएँ । ट्यालेन्ट राउन्डमा मैले गरेको अभिनय हेर्दा निर्णायकले मलाई एउटा व्यावसायिक कलाकार ठान्नुभएछ, तर म त्यस्तो थिइनँ । उहाँहरूले तिमीमा अभिनय क्षमता छ भनेर प्रेरणा दिनुभएपछि मात्र अभिनय कहाँ सिकाइन्छ भनेर सोधी खोजी गर्दै राष्ट्रिय नाचघर पुगें । तर मेरै एकजना साथीको दाइ सर्वनाम थिएटरमा नाटक सिक्नुहुँदो रहेछ । यहाँ आउँदा १० मिनेट नाटक महोत्सव चलिरहेको थियो । त्यसपछि मेरो ठाउँ यही रहेछ भन्ने लाग्यो ।’ बिन्दुले सर्वनाममा मञ्चन भएको नाटक ‘नृत्यालय’ र अशेष मल्लको ‘अर्को कुरुक्षेत्र’मा अभिनय गरेकी छन् । 

चौतारा, सिन्धुपाल्चोककी सबिना थापालाई सानैदेखि चलचित्रमा काम गर्ने रुचि थियो । कक्षा ३ मा पढ्दा उनी कसैलाई आशीर्वाद माग्दा पनि ‘म हिरोइन हुन पाउँm’ भन्थिइन् । त्यही आशीर्वादलाई पुरा गर्न उनले मण्डला थिएटरबाट अभिनयको कक्षा लिएर फरक–फरक थिएटरका पाँच नाटकमा अभिनय कला देखाइसकेकी छन् । मण्डलाको सातौं ब्याचकी यी विद्यार्थीलाई थिएटर हुन्छ भन्ने थाहा नै रहेनछ । ‘दाइको सामान पुर्‍याउन जाँदा नाटक हेर्छस् भन्नुभयो । मैले गाउँकै सडक नाटक जस्तो सम्झिएँ । मण्डला थिएटरमा त्यो बेला बिलग्रेटस पण्डित मञ्चन भइरहेको थियो’, उनले सम्झिइन्, ‘त्यो नाटक हेरेपछि यस्तो पनि हुन्छ जस्तो लाग्यो । नाटक हेरेकी तीन वर्षपछि मण्डलामा भर्ना भएँ ।’ नाटक ‘झोला हराएको मान्छे’मा उनले गरेको अभिनयबाट दर्शकको फोन र सन्देश पनि पाएकी रहिछन् । उनको इच्छा चलचित्रमा नै अभिनय गर्ने हो । ‘मलाई चलचित्रबाट अभिनयको अफर त नआएको होइन, तर आफूलाई अझै पनि सयमा २० प्रतिशत पनि दिएको छैन जस्तो लाग्छ । अझै नयाँ कुरा सिक्नु छ । अभिनय जसले पनि गर्न सक्छ, तर क्यारेक्टर निर्वाह गर्न सक्नुपर्‍यो’, उनी भन्छिन् ।

मण्डला थिएटरमा यसपटक बिहान र बेलुका गरी दुई सिफ्टमा ५० विद्यार्थीलाई पढाउने तयारी भइरहेको छ । थिएटरकी म्यानेजर नवीना अर्यालका अनुसार अघिल्ला वर्ष भन्दा यो वर्ष नाटक पढ्न आउने विद्यार्थीको संख्या उल्लेख्य छ । ‘नाटक पढ्नकै लागि भनेर धेरै आवेदनहरू आइरहेका छन् । ती आवेदनहरूबाट हामी ५० छनोट गर्छौं । यहाँ आउने अधिकांशको रुचि थिएटर भन्दा पनि चलचित्रमा नै बढी छ’, नवीना भन्छिन्, ‘चलचित्रमा थिएटरका कलाकारको उपस्थिति उल्लेख्य छ । उनीहरूको अभिनयबाट युवाहरू प्रभावित रहेछन् । त्यसकारण पनि थिएटरमा उनीहरूको रुचि उल्लेख्य छ । हामीकहाँ अन्त थिएटरमा सिकेर आउने विद्यार्थीहरू पनि फेरि सिक्न आउनुभएको छ ।’

डिल्लीबजारस्थित सर्वनाम थिएटरमा १६ औं ब्याचको कक्षा चलिरहेको छ । थिएटरले १७ औं ब्याचको तयारी पनि गरिरहेको छ । ‘अधिकांश युवाको आकर्षण अभिनयमा भइरहेको छ । उनीहरूमा अभिनय सिक्नुपर्छ है भन्ने सोचको विकास भएको छ । थिएटरमा सिकेर थिएटर बाहेकका काम गर्ने प्रोडक्टले पनि राम्रो काम गरिरहेका छन्’, सर्वनामका राज शाह भन्छन्, ‘पछिल्लो समयमा नेपाली चलचित्रमा धेरै कलाकार थिएटर पृष्ठभूमिबाट पनि गइरहेका छन् । त्यसकारण पनि युवालाई थिएटरबाट चलचित्रमा जान सजिलो माध्यम रहेछ भन्ने लाग्न थालेको छ ।’ झन्डै नौ वर्षअघि स्थापित सर्वनाम थिएटरमा एक ब्याचबाट अधिकतम २० जनासम्म कलाकार उत्पादन हुन्छन् । ‘हाम्रो कोर्स सबैले पुरा गर्छन् भन्ने छैन । त्यसकारण पनि संख्या यकिन हुन्नँ ।’ उनले भने ।

बुटवल घर भई हाल जडीबुटी बस्दै आएकी २३ वर्षे नम्रता अर्यालले करियरको थालनी मोडलिङ र ब्युटी पिजेन्टबाट गरिन्, तर यी दुई विधामा दिक्दारी लागेपछि उनको ध्यान नाटकतिर मोडियो । ‘म बस्ने घरको छेउको दिदी शिल्पी थिएटरको नवौं ब्याचको विद्यार्थी हुनुहुन्थ्यो, अनि उहाँकै भनाइअनुसार शिल्पी थिएटरमा आएर अभिनय सिक्न थालें’, उनले भनिन्, ‘ब्युटिप्याजेन्टमा पनि अभिनयसम्बन्धी केही सिकाइन्थ्यो, तर त्यहाँको सिकाइ र यहाँको सिकाइ धेरै फरक थियो । तीन महिनाको कोर्समा अभिनय मात्र होइन, डान्स, तेक्वान्दो, मोटिभेसनल स्पिच सबै सिकाइँदो रहेछ ।’ दसैंताका शिल्पीले आयोजना गरेको ‘कल्पना र उर्मिला दु:खमा छन्’ नामक कचहरी नाटकका लागि नम्रता झन्डै एक महिना देश दौडाहामा पुगिन् । नम्रताले कलेज पढ्दाताका बीएसडब्लू कोर्समा नाटकमा अभिनय गरेकी रहिछन् ।

दोलखाकी २२ वर्षीया शोभा कार्की सर्वनामकी १५ औं ब्याचकी विद्यार्थी हुन् । उनले केही समयअघि नाटक ‘ऋतु चर्या’मा एकसाथ चार चरित्र निर्वाह गरिन् । ‘एउटा भन्दा अर्को क्यारेक्टर फरक किसिमको थियो, त्यसले गर्दा केही गाह्रो त थियो । क्यारेक्टरलाई मेन्टेन गरेर निश्चित समयमा ढाल्न केही गाह्रो हुँदो रहेछ’, उनी सुनिइन्, ‘डाइलग डेलिभरीमा गाह्रो भएन, किनभने वर्क आउट गरिन्थ्यो । सबै क्यारेक्टरमा यो डाइलग हो भन्न थाहा हुन्थ्यो ।’ सानैदेखि कलाको क्षेत्रमा रुचि भएकी उनलाई अभिनय निकै मनपथ्र्यो । उनमा अभिनय गर्ने सपना थियो, तर त्यो सपना पूरा गर्ने कदम चाल्न अहिलेको समयलाई रोजिन् । ‘ऋतु चर्या गर्दा एकदमै राम्रो रेस्पोन्स पाएँ । कुनै कुनै क्यारेक्टरको ट्रेसचाहिँ वास्तविक जीवनमा पनि मेल खान जान्थ्यो । त्यो छोट्याउनलाई एकदमै गाह्रो हुने रहेछ’, उनले भनिन् । 

दोलखाका १८ वर्षे युवा गोविन्द ओली शिल्पी थिएटरमा जोडिएको दुई वर्ष भयो । प्लस टुमा अध्ययनरत उनले दुई वर्षको अवधिमा झन्डै आठवटा नाटकमा अभिनय कला देखाइसकेका छन् । उनी नवौं ब्याचका विद्यार्थी हुन् । ‘नाटकमा दु:ख पनि हुन्छ । डेडिकेट पनि चाहिन्छ । फुल्ली फोकस गरियो भने सहज हुन्छ । मैले गत वैशाखमा नाटक आधीको मनोरम नृत्यमा विद्यार्थीको भूमिकामा अभिनय गरेको थिएँ, जुन भूमिका मलाई मन परेको थियो र दर्शकले पनि रुचाइदिनुभयो’, गोविन्दको बुझाइ छ, ‘नाटकमा नाटक मात्र सिक्ने होइन, म्युजिक, डान्स, तेक्वान्दोको तालिम पनि लिएँ । चलचित्रमा काम गर्ने रुचि छैन । नाटकलाई चाहिँ निरन्तरता नै दिन्छु ।’

गोदावरीका दीपेन्द्र केसी मास्टर्सको अध्ययन गर्दै नाट्य अभिनय सिकिरहेका छन् । उनी पनि मनिषजस्तै सर्वनाम थिएटरको १५ औं ब्याचका विद्यार्थी हुन् । दीपेन्द्रलाई सानैदेखि ‘हिरो’ बन्छु भन्ने इच्छा थियो । उनले स्वयंसेवक शिक्षकका रूपमा गाउँमा दुई वर्ष पनि पढाएँ । उनले त्यहाँ बच्चाहरू पढाइ मात्र नभई सपना पनि देख्नुपर्छ, केही फरक गर्नुपर्छ भन्ने सिकाइरहँदा आफूले पनि केही सिक्ने मौका पाएँ । ‘मैले पनि केही फरक गर्छु, केही राम्रो गर्छु र धेरै मानिसको जीवन छुन्छु भन्ने जुन चाहना थियो, त्यो चाहना थिएटरबाट पूरा हुन्छ भन्ने लागेर नै यो क्षेत्रमा आएँ’, उनले भने, ‘म चलचित्रमा तुरुन्तै गइहाल्ने इच्छाचाहिँ छैन । अहिले केही समयचाहिँ अझै अभिनयलाई निखार्ने र धेरै सिक्ने योजना छ । सिकिसकेपछि गर्दिनँ भन्ने छैन । कुनै समयमा मौका पाए भने त्यो मौका गुमाउँदिनँ ।’

प्रकाशित :माघ २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×