साप्ताहिक संवाददाता
रियालिटी शो ‘द लिडर’ले आफ्ना बाँकी दुई निर्णायकको टुंगो लगाएको छ ।
केही महिनाअघि काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त कार्यक्रमको घोषणा गरिएको थियो । मंगलबार आयोजक एसआरबिएन मिडियाले सांसद तथा राजनीतिज्ञ प्रदिप गिरी र राजनीतिज्ञ तथा पूर्वमन्त्री प्रदिप नेपालको नाम घोषणा गरेको हो ।
यसअघि निर्णायकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, ‘पूर्वपत्रकार’ तथा नेता रवीन्द्र मिश्र र पूर्वप्रधानन्याधीश शुशिला कार्कीको नाम सार्वजनिक गरिएको थियो ।
त्यस्तै, उक्त ‘रियालिटी शो’को उद्घोषण ‘सिधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रममार्फत् चर्चामा आएका सञ्चारकर्मी रवि लामिछाने गर्नेछन् ।
एसआरबिएन मिडियाले अब छिटै नेपालभित्र र बाहिर रियालिटी शोको अडिसन गर्ने जनाएको छ ।
एसआरबिएनका सिईओ विपिन कुमार आचार्यले भने, ‘हामी फागुनको अन्तिमभित्रै नेपालका सातै प्रदेशमा अडिसनका लागि निस्कने योजनामा छौं । विदेशमा भने चैतमा जाने योजना गराएका छौं ।’
एसआरबिएनले यसअघि चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ ल्याएको थियो । उक्त कार्यक्रम निकै हिट भएको थियो ।
कार्यक्रम ‘द लिडर’का विजेताले काठमाडौँमा अपार्टमेन्ट, कार र २० लाख रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आयोजक एसआरविएन मिडियाले एरो प्रोडक्सनको सहकार्यमा कार्यक्रम ल्याउन लागेको हो । कार्यक्रम न्युज २४ टेलिभिजनका साथै रमाईलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुनेछ ।