साप्ताहिक संवाददाता
अभिनेत्री महिमा सिलवालको स्कुटर दुर्घटना हुँदा त्रिभुवन राजपथमा निधन भएको छ । काठमाडौंबाट चितवन जानेक्रममा बा ९८ प ७०५८ नम्बरको स्कुटरमा सवार महिमाको भैरहवाबाट काठमाडौं आइरहेको लु २ ख १३५ नम्बरको बससँग गजुरीमा एक आपसमा जुध्दा उनको मृत्यु भएको हो ।
दुर्घटनामा परी स्कुटरमा सवार उनकी दिदी शर्मिला सिलवालको पनि निधन भएको छ । बुधबार साँझ पौने ६ वजे गजुरी गाउँपालिका स्थित चाम्बासमा दुर्घटना भएको थियो । महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा निधन भएको हो भने शर्मिलाको काठमाडौं स्थित ट्रमा सेन्टर उपचारका क्रममा निधन भएको हो ।
घुम्ती क्रस गर्ने क्रममा स्कुटी र बस एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ । चलचित्र ‘कारवाही’बाट चलचित्र उद्योगमा पाइला चालेकी अभिनेत्री सिलवालले सुव्वा साव, अप्रिल फुल, चियर्स, दानव, जिग्लो लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् । त्यस्तै उनले दर्जनौं म्युजिक भिडियोमा समेत काम गरेकी छिन् ।
प्रहरीले वस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।