खोला वारि, खोला पारि, पीपल र वर
हावा चल्यो, पात हल्यो, माया वरवर
तीन दशकअघि कलाकार मदनकृष्ण श्रेष्ठले यो गीत लेख्दा परिवेश त्यस्तै थियो । गीतमा खोला समयको प्रतीक थियो । प्रेमी–प्रेमिकालाई भूगोल र सामाजिक परिवेश दुवैको बाधा थियो । प्रेम अभिव्यक्त गर्ने माध्यम थिएन । श्रेष्ठ सम्झन्छन्, ‘बिहान उठ्नासाथ मैले प्रेम जोडी सम्झिएँ । जो एक–अर्कालाई प्रेम त गर्थे तर, भावना व्यक्त गर्न सक्दैनथे । त्यही भावमा गीत लेखेँ ।’ त्यही भावले प्रेमीहरूको मन जित्यो । तर, अहिले परिवेश फेरिएको छ । गीतमा भनिएझैं प्रेम गर्नेहरूलाई भूगोल वा समाजको खोलाले रोक्न सक्दैन । प्रेम व्यक्त गर्ने धेरै माध्यम छन् । हिजो आँखाको इसारामा सीमित हुने प्रेमलाई आजको डिजिटल युगले परिवर्तन गरिदिएको छ । जसले फरक जात, भाषा, धर्म, संस्कृति र भूगोलबीचको प्रेम पनि सहज भएको छ ।
प्रेम पत्रको युग
प्रेम प्रकट गर्ने माध्यमको रूपमा पहिले आयो प्रेमपत्र । यसको सुरुवात कहिले भयो भन्ने कुनै आधिकारिक प्रमाण भेटिँदैन । तर, लेख्य अभिव्यक्तिको सुरु भएसँगै यसको सुरुवात भएको मान्न सकिन्छ । महाभारतकालीन कथा लेखिएको धार्मिक आख्यानमा रुक्मिणीले कृष्णलाई लेखेको पत्र समावेश हुनुलाई त्यसको प्रमाण मान्न सकिन्छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले रविलक्ष्मी चित्रकारलाई पत्र लेखेर प्रेम प्रस्ताव राखेका थिए । उनी चित्रकारलाई लामो पत्र लेखेर प्रेमभाव पोख्थे । लोक गायक बद्री पंगेनी कक्षा ८ मा पढ्दा उनीभन्दा जुनियर थिइन्, कल्पना भट्टराई । कल्पनाले बद्रीको नाममा एउटा प्रेमपत्र लेखिन् । जहाँ लेखिएको थियो, ‘श्री प्राणभन्दा प्यारो बद्री । महभन्दा गुलियो, आकाशभन्दा फराकिलो, नदीभन्दा लामो माया...।’ २०५३ सालतिरमा भएको यो पत्राचारपछि उनीहरूले सयौँ प्रेम पत्र आदान–प्रदान गरे । सानै उमेरदेखि पत्रमार्फत झाँगिएको प्रेम सम्बन्ध पछि विवाहमा परिणत भयो । अघिल्लो पुस्ताका धेरैसँग प्रेमपत्रसम्बन्धी यस्ता धेरै अनुभव छन् । तर, प्रविधिको विकाससँगै प्रेम अभिव्यक्तिको माध्यम र तरिका फेरिँदै गयो ।
मोबाइल लभ
६० को दशकपछि नेपालमा मोबाइल फोन सर्वसुलभ भयो । जसले पत्रको विकल्प दियो । फरक भूगोलका मानिसहरू पनि मोबाइल सम्पर्कबाट निकट हुन थाले । नदेखेको र नभेटेको मान्छेसँग पनि फोनमार्फत कुराकानी हुन थाल्यो । एक पटक भेट भएकाहरूले सम्पर्क नम्बर आदान–प्रदान गर्न थाले । मन परेकाहरूको मोबाइल नम्बर पत्ता लगाएर पनि सम्पर्क बढाउन थाले । मोबाइलमा ‘आई लभ यू’ भनेर प्रेम प्रस्तावहरू राख्न थालियो । संगीतकार वसन्त सापकोटाको प्रेम फोनकै माध्यमले अघि बढेको थियो । फोनकै माध्यमबाट प्रेममा परेपछि उनीहरूले २० दिनपछि बिहे गरे । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दास र करुणा केसीको प्रेममा पनि फोनको ठूलो भूमिका छ । अभ्यासका क्रममा नक्सालको होटल क्राउन प्लाजामा रहेका विनोदको नजिकैको घरबाट आफूलाई हेरिरहेकी करुणासँग आँखा जुधाएका थिए । त्यसपछि फोन र इमेलले उनीहरूको सम्बन्ध बलियो बनायो ।
नेतृ रामकुमारी झाँक्री र सरकारका उपसचिव पशुपति पुरीको सम्बन्ध फोन सम्पर्कबाट प्रेम हुँदै विवाहमा परिणत भएको हो । २०६२ देखि ०६६ सालसम्म यो जोडीले फोनमा कुरा गरेर धेरै रात बिताए । १० बजेपछि सुरु हुने प्रेम वार्ता घन्टौं चल्थ्यो ।
प्रेमको डिजिटल अवतार
पत्र र फोनको माध्यम प्रयोग गर्दै अघि बढेको प्रेम यतिबेला डिजिटल संसारमा हुर्किरहेको छ । जसलाई सामाजिक सञ्जालले पोषण दिइरहेको छ । फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक संजालमा मन परेको मान्छेलाई आफ्नो भावना व्यक्त गर्न मिनेट लाग्दैन ।
इन्टरनेटको आगमनसँगै प्रेम अभिव्यक्तिको तरिकामात्रै होइन, जीवनसाथी छनोटको तरिका पनि फेरिएको छ । सामाजिक सञ्जालमार्फत आफूलाई मन परेको मान्छे रोज्दै उनीहरूसँग जीवन बिताउन राजी हुनेको संख्या दिनानुदिन बढिरहेको छ । आफूलाई मन परेको मान्छेको पृष्ठभूमि उसले सामाजिक सञ्जालमा व्यक्त गरेका भावनाहरूबाट अनुगमन गर्न सकिन्छ ।
क्रिकेटर सोमपाल कामीको प्रेममा फेसबुक माध्यम बनेको थियो । एक पटकमात्र भेट भएका सोमपाल र प्रतिभा घिमिरेले फेसबुकमा आफ्ना भावना साट्दै गए । फेसबुकमा कुरा गर्दै जाँदा सोमपालले ‘तिमी मेरा लागि अरूभन्दा फरक छौं’ भन्दै प्रेम प्रस्ताव राखे । केही समयपछि प्रतिभाले उनको प्रस्ताव स्वीकार गरिन् । ४ वर्षको प्रेम सम्बन्धपछि उनीहरूले माघमा विवाह गरे । ‘फेसबुकमा चिनजान भएपछि हामी ह्वाट्सएपमा घन्टौं कुराकानी गर्न थाल्यौं’ सोमपाल भन्छन्, ‘कतिबेला एकअर्काको प्रेममा पर्यौं थाहै भएन ।’
निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको जोडी पनि सामाजिक सञ्जालमार्फत बाँधिएको हो । फेसबुकमार्फत कुराकानी थालेको यो जोडी कतिबेला एकअर्काको प्रेममा पर्यो पत्तै भएन ।
फुटबलर असिमजंग कार्की र पौडी सुन्दरी सोनिरा विष्टको प्रेम फोन हुँदै सामाजिक सञ्जालमा फक्रिएको हो । खेलकुदका क्रममा सामान्य देखभेट र कुराकानी गरेको यो जोडी सामाजिक सञ्जालमार्फत निकट भयो । असिमले सोनिरालाई फेसबुकमार्फत प्रेम प्रस्ताव राखेका थिए ।
फेसबुकमार्फत नै जीवनसाथी भेटेका दाङका प्रकाश शर्मा यसले एकअर्कालाई बुझ्न सघाउ पुर्याउने बताउँछन् । कुखुरापालन व्यवसायमा व्यस्त उनले घरबाट बिहेका लागि दबाब आइरहेको समयमा फेसबुकमा भेटिएकी सुशीला भट्टराईसँग सम्बन्ध अघि बढाए र विवाह गरे ।
पोखराका व्यवसायी बादल बस्नेत र चितवनकी इन्दिरा तिमिल्सिनाको तीन वर्ष अगाडि ट्विटरमा चिनजान भएको हो । बादलले लेख्ने गजल र मुक्तक इन्द्रिरालाई मन पर्दो रहेछ । बादललाई भने उनका हरेक ट्विटहरु । बादल भन्छन्, ‘हाम्रो रुचि मिलेपछि ट्विटरमै भावनाहरू साटासाट गर्न थाल्यौं । कुरा हुँदै जाँदा एक दिन उनले मलाई प्रेम प्रस्ताव राखिन् । मैले तत्कालै उनको प्रस्ताव स्वीकार गरिनँ । सामाजिक सञ्जालको प्रेम सफल होला वा नहोला भन्ने दुविधा थियो । पछि विश्वास बढ्दै गयो । हामी एकअर्काको प्रेममा पर्यौं र परिवारसँग सहमति गरेर विवाह गर्यौं ।’
पछिल्लो समय डेटिङ एप प्रयोग गरेर माया–पिरती गाँस्नेहरूको संख्या पनि उत्तिकै छ । एपमार्फत सम्पर्क गरेर एक–अर्कासँग भेटघाट गर्ने, मन परेको खण्डमा प्रेम र विवाहसम्म पुग्ने प्रचलन बढ्दो छ । जसका लागि टिन्डर, टनटन, ह्यापेन, बडूजस्ता डेटिङ एपहरू प्रयोग हुने गरेको छ ।
पोखराका आकार केसी टिन्डर एपका प्रयोगकर्ता हुन् । विगत ७ महिनादेखि एपको प्रयोग गर्दै आएका उनी भन्छन्– ‘यस अवधिमा ४ जनासँग भेट भयो । एक जनासँग त प्रेममा पनि परेँ । तर, अहिले उसँग ब्रेकअप भइसकेको छ ।’ यस्ता एपमा नेपालीभन्दा बढी विदेशीहरू भेटिने उनको अनुभव छ । हाल एक विदेशी युवतीसँग प्रेमिल च्याटिङ गरिरहेको उनी बताउँछन् ।
पछिल्लो समय एरेन्ज म्यारिज गर्नेहरूले पनि सामाजिक सञ्जालमा प्रोफाइल निकालेपछि मात्र बिहे गर्ने वा नगर्ने निर्णय लिन थालेका छन् । सामाजिक सञ्जालमा व्यक्तिको काम, उसको व्यक्तित्व र पारिवारिक पृष्ठभूमि झल्कने हुँदा सम्बन्धका लागि पात्र छनोट सजिलो भएको समाजशास्त्री निर्मला ढकाल बताउँछिन् । उनी भन्छिन्, ‘सामाजिक सञ्जाल अहिले चौतारीजस्तो भएको छ, स्कुल–कलेजजस्तो भएको छ । त्यही भीडबाट आफूलाई मन परेको मान्छे छनोट हुन थालेको छ ।’
डिजिटल प्रेमले अन्तरदेशीय प्रेमलाई पनि बढाएको छ । सामाजिक सञ्जालमार्फत विदेशीसँग प्रेममा पर्ने नेपालीको संख्या बढ्दो छ । बाराको कोल्हवी–४ हनुमानगन्जका प्रवीण तामाङ र इटालीकी फ्रेन्सिस्का इग्नरालाई सामाजिक सञ्जालले जोडेको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत नजिकिएका उनीहरूले आफ्नो सम्बन्धलाई बिहेमा परिणत गरे । फ्रेन्सिस्का प्रवीणसँग यसरी निकट भइन् कि प्रेमको अस्तित्व जोगाउन उनी इटाली छाडेर नेपाल आइन् । उनीहरूले जिल्ला प्रशासन कार्यालय बारामा कानुनी विवाह गरे ।
मेलम्ची खानेपानी आयोजनाका ठेकेदार रवीन्द्र अर्याल र इटालियन कम्पनी सीएमसीकी जनसम्पर्क प्रबन्धक फेडेरिका रिकाडोन्नाको ६ वर्षअघि भेट भयो ।
‘चिनजान र भेटघाटपछि हामी निरन्तर फोन सम्पर्क र ह्वाट्सअपमा कुराकानी गर्न थाल्यौं’ फेडेरिका भन्छिन्, ‘घण्टौंसम्म निरन्तर हुने कुराकानी, सेयरिङ, केयरिङले हामीलाई जोड्यो ।’ दुई वर्षको लिभिङ टुगेदरपछि उनीहरू दुई वर्षअघि विवाह बन्धनमा बाँधिए ।
गत वर्ष बागलुङका युवा सुदीन आचार्य र पाकिस्तानी युवती आम्रा सफिकको बिहेले निकै चर्चा पायो । फरक भूगोलमात्र नभएर फरक धर्म (हिन्दु–मुस्लिम) भएका यी दुईको जोडीको प्रेम सामाजिक सञ्जालमार्फत झाँगिएको थियो । परिचय हुँदै सुदीनसँग प्रेम सम्बन्धमा बाँधिएकी आम्रा नेपाली भाषा सिकेर बिहेका लागि बागलुङ आएकी थिइन् ।
पत्रकार निशा राई र अमेरिकी मुलका याकप कसेलको प्रेम पनि चिनचान हुँदै सामाजिक सञ्जालमार्फत फक्रिएको हो । यो जोडीले एकअर्कालाई प्रेम गरे पनि प्रेम प्रस्तावबिना नै बिहे गरेको थियो ।
सामाजिक सञ्जालमा व्यक्तिको चरित्र प्रस्टिन्छ
नारायणी देवकोटा समाजशास्त्री
सामाजिक सञ्जालले मानिसको हरेक पक्षसँग साक्षात्कार गराउँछ । कसैको व्यक्तित्व, दृष्टिकोण, धारणा बुझ्न सहयोग गर्छ । उसको चरित्र कस्तो छ भन्ने कुरा उसले गरेका पोस्टहरूबाट विश्लेषण गर्न सकिन्छ । त्यसकै आधारमा आफूलाई मन पर्ने मान्छे छनोट गर्ने हो । यसबाटै पहिले अफेयर थियो कि थिएन, विवाहित हो कि होइन, पारिवारीक पृष्ठभूमि कस्तो छ भन्ने कुरा बुझ्न सघाउ पुग्छ ।
हामी सामाजिक सञ्जालमा भएको प्रेमले अपराध बढायो भन्ने कुरा सुन्छौं । तर, अपराध त समाजमा पहिल्यैदेखि थियो । यसमा प्रयोगकर्ता पनि सचेत हुनुपर्छ । कफी शप, लाइब्रेरी होस् वा सामाजिक सञ्जालमा हुने प्रेम, कसैले व्यक्त गरेको धारणाका आधारमा उसँग लगाव हुने हो । त्यसैले विज्ञान तथा प्रविधिको विकाससँगै प्रेम गर्ने माध्यममा पनि परिवर्तन आउनु स्वाभाविक हो भन्ने मलाई लाग्छ ।
भर्चुअल संसारमा फास्टफुड प्रेम
सुरेश ढकाल, मानवशास्त्री
प्रविधिको विकास र उपयोगले सबै खालका सामाजिक सम्बन्धमा प्रभाव पार्यो । खासमा, उत्पादनको क्षेत्रमै परिवर्तन भएको छ । विस्तारै मान्छे संयुक्तबाट एकलतिर, कृषिबाट गैरकृषितिर र सामाजिकबाट व्यक्तिगततर्फ गए ।
बढ्दो सहरीकरणको प्रभावले सम्बन्धमा पनि फेरबदल ल्याएको छ । पहिला व्यक्ति स्वतन्त्र थिएनन् । विस्तारै स्वतन्त्रता खोज्दै गए र प्राप्त गर्दै पनि गए । अहिले व्यक्ति सार्वभौम भएको छ । आफ्नो निर्णय आफैं गर्नसक्ने भएको छ । प्रेम अभिव्यक्तिको माध्यममा पनि परिवर्तन आयो । यी कुरालाई स्वभाविक रूपमा लिनुपर्छ । यद्यपि, अरूको नक्कल गर्ने हाम्रो प्रवृत्तिले सम्बन्धमा प्रभाव पारिरहेका छन् ।
अहिले व्याख्या गर्न गाह्रो कुरा नै रियल र भर्चुअल संसारबारे हो । हिजोको दिनमा भेटेरै प्रस्ताव राखिन्थ्यो । भेटेरै भावना साटिन्थ्यो, प्रेम हुन्थ्यो । तर, अहिले साइबर कुराकानीले भर्चुअल संसार खडा गरेको छ । एकले अर्कालाई भेट्नु र साइबर कुराकानी गर्नु फरक हो । यही रियल र भर्चुअल संसारबीचको खाडल जुन छ, यसले समस्या पनि निम्त्याएको छ ।
तर, अहिलेका परिवर्तनलाई सकारात्मक रूपमा पनि हेर्न सकिन्छ । मानिसको चेतनास्तर बढेको छ । हरेक व्यक्ति आफ्नो पार्टनर छान्न स्वतन्त्र छ । यदि, मन मिलेन भने छाड्न पनि स्वतन्त्र छ । यस्ता कुरामा हिजो परिवारको स्वीकृति पर्खनुपर्दथ्यो । यी राम्रा पक्ष हुन् ।
पछिल्लो समय डिभोर्सका घटनाहरू बढ्दो छन् । जब वैदेशिक यात्रामा मानिस पलायन हुन थाले, तब यस्ता घटनाहरू बढ्न थालेका हुन् । विदेशमा औसत बसाइ नै तीन चार वर्षको हुन्छ । यही समयको ग्यापले दम्पतीहरूबीच फाटो आउने डिभोर्स हुने क्रम बढ्छन् ।
अर्को हिसाबले अहिलेको प्रेम फास्टफुड प्रेम हो । प्रेम जीवनमा बजार ठूलो खेलाडी भएर निस्किएको छ । बजारले आम मानिसलाई कठपुतली बनाइरहेको छ । यतिबेला प्रेमी–प्रेमीकालाई भ्यालेन्टाइन लागेको छ । बजारले भ्यालेन्टाइनमा गुलाफ दिनु भनेको पवित्र कुरा हो भनेर बुझाइरहेको हुन्छ । किनकि, बजारले १० रुपैयाँको गुलाफ ५० रुपैयाँमा बेच्न पाउँछ । बजारले हामीलाई थाहै नदिई आइडिया र व्यवहारलाई आफ्नो अनुकूल बनाएको हुन्छ । बजारको संयन्त्र यसरी काम गर्छ कि उसको हितका लागि हामी बजारको पुर्जा बनिरहेका छौं । पुँजीवादले यस्तोसम्म बनाएको छ कि बिहान उठेदेखि बेलुकासम्म प्रेमी–प्रेमिका वा श्रीमान् श्रीमतीबीच आई लभ यु भनिरहनुपर्ने, उपहार वा फूल दिइरहनुपर्ने । यसरी बजारले आम मानिसबाट फाइदा उठाइरहेको छ ।
त्यसैले बजारको सिकार हुनबाट बच्नु आवश्यक छ । नयाँ पुस्ता अझ सचेत हुनुपर्छ । राम्रो कुरा स्वीकार र अनावश्यक कुरालाई बेवास्ता गर्दै पनि जानुपर्छ । स्वीकार गर्नुहुन्न भनेर परम्परातिर फर्कने पनि होइन । यसले हामीलाई कहीँ पुर्याउँदैन । समयानुकूल चेतनाको विकास गर्दै लैजानुपर्छ ।
भ्यालेन्टाइन दिवसलाई पनि विकृति नै हो भनेर पनि सोच्नुहुँदैन । युवा–युवतीलाई भ्यालेटाइन डे मनाउनै नदिने, पार्कमै बस्न नदिने गर्न हुन्न । यसलाई लोकतान्त्रिक माध्यमबाट सबैको हित हुने गरी सशक्तीकरणचाहिँ गर्नुपर्छ । त्यसका लागि सही शिक्षा नीति आवश्यक छ । युवामा राजनीतिक चेतना आवश्यक छ । राज्यका साथै संस्थागत प्रयास पनि जरुरी छ ।