त्यहीं प्रेम, त्यहीं नै माया हो 

- अनुप के बराल

फाल्गुन २, २०७६

मनका प्रशस्त आभास समेटेको एउटा किस्सा

जगतको सारा प्रयास अटाएको एउटा हिस्सा

पृथ्वीनै हल्लिए झैं हुने, प्रकृतिले रुप फेरे झैं लाग्ने 

हजारौ कोलाहलबीच सुनिने यौटा मीठो धुन

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

नहुँदा पनि केही, सबथोक भए झैं

हार्दाहार्दै पनि, आफैंले जिते झैं

हरेक चक्रब्युहमा आशाका किरण देखिने 

भाग्यचक्रमा विश्वास नै विश्वास भरिने

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

मनको अँधेरो घेरामा, सूर्य बनेर उदाउने,

बिचलित सोचबीच, धैर्यता बनी आउने,

जो स्वयं आफैंमा एक, ध्यान हो, प्राण हो 

सुन्दर सिर्जना अनि अन्तर्मनको आवाज हो

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

ईश्वरतत्व र मानिसबीच वार्तालापको माध्यम

सृष्टीका फरक आयामलाई मेल गराउने साधन 

शरीरका अंग–अंग रोमाञ्चित गराउ“ने

जीवन बाँच्ने कलादेखि मुक्ति मार्गसम्म पुग्ने 

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

विश्वभरमा बोलिने भाषा भन्दा फरक भाषा

कुनै विद्वानले पनि लेख्न नसकेको त्यो परिभाषा,

आँखामा कसैको तस्वीरको मात्र चाङ लाग्छ जब 

कानले संगीत र गीतमा रागको संगम खोज्छ जब

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

जति लुकाई राखे पनि नागमणि झैं चमक दिने 

एउटै फूलले पूरै ब्रम्हाण्ड सुगन्धित बनाउने 

ब्याकुल मन, यत्रतत्र सर्बत्र छरिए जस्तो 

उनको आगमनमा सर्बस्व खुशी पाए जस्तो 

सायद त्यहीं नै हो प्रेम, त्यहीं नै हो माया ।

 

ankbaral@gmail.com

प्रकाशित :फाल्गुन २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×