साप्ताहिक संवाददाता
महाशाखाले अहिले घटना के कारणले भयो, कुन मानसिक अवस्थाले गर्दा विजय यो अवस्थामा पुगेभन्ने विषयमाथि आफ्नो अनुसन्धान केन्द्रित गरेको छ ।
हत्याको कारण खुलेन, हत्यापछि आत्महत्या गरेको प्रहरीको दाबी
सोमबार । बिहान १० बजेर ८ मिनेट । सानेपास्थित घरमा कसैले पछाडिबाट मुना कार्कीको घाँटी बेर्छ । घाँटी कस्सिन्छ । उनलाई लडाइन्छ, अनि घाँटी थिचिन्छ । लगतै टाउकोमा प्लास्टिकको पिर्काले प्रहार हुन्छ ।
पूर्वसचिव अर्जुन कार्कीको ललितपुर महानगरपालिका–२ सानेपास्थित घरको सीसी क्यामरामा यस्तै दृश्य कैद भएको भिडियो प्राप्त भएको दाबी प्रहरीको छ । ७/८ महिनाअघि घरमा चोरी भएपछि कार्कीले चार वटा सिसी क्यामरा इन्स्टल गरेका थिए । त्यसैमध्ये एउटा खुला झ्यालबाट कैद भएको फुटेजमा कार्कीपत्नी मुनाको हत्या भएको देखिएको छ । दृश्य हेर्दा मुनालाई आक्रमण गर्ने व्यक्ति घरमा काम गर्ने विजय चौधरी नै देखिएको प्रहरीले जनाएको छ ।
कार्की ५ कक्षामा पढ्ने १२ वर्षीय छोरालाई सोमबार विहानै ड्राइभरले स्कुल छाडेर आएपछि आफैं गाडी हाँकेर रुद्री पूजाका लागि पशुपति पुगेका थिए । उनकी ४९ वर्षीया श्रीमती मुना र कामदार विजय चौधरी भने घरमै थिए । पूजा सकेर घर फर्की गेट खोल्न आग्रह गर्दा कसैले नखोलेपछि आफैं भित्र पसेका थिए । भित्र पस्ने बितिकै श्रीमती किचनमा रक्ताम्य भएर ढलिरहेको अवस्थामा अचेत थिइन् । दाङ देउखुरीका २२ वर्षीय विजय लिभिङ रुममा हरियो नाइनलको डोरीमा कस्सिएर मृत अवस्थामा थिए ।
घरभित्र यस्तो विभत्स दृश्य देखेपछि कार्की चिच्याउँदै बाहिर निस्किए । वरपरका छिमेकीहरू जम्मा भए । प्रहरीकाअनुसार त्यसपछि छिमेकीमध्ये कसैले प्रहरी वृत्त सानेपामा फोन गरेर घटनाबारे जानकारी गराएका थिए । प्रहरीले तत्काल त्यहाँ पुगेर अचेत मुनालाई एम्बुलेन्स बोलाएर स्टार हस्पिटल पठाएको थियो ।
‘हामीले एम्बुलेन्स पठायौं । तत्काल बिरामीलाई गर्नुपर्ने सबै क्लिनिकल प्रक्रिया सुरु गर्यौं,’ स्टार हस्पिटलका सिइओ डा. सन्देश जिसी भन्छन्, ‘तर, उहाँलाई यहाँ ल्याइपुर्याउँदा नै मृत्यु भइसकेको थियो ।’ उनकाअनुसार १२:५५ बजे मुनालाई अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सी हेड एमडीजीपी डा. मन्जिता ब्रजाचार्य र मेडिकल अफिसर सुब्रता पोखरेललगायतका टिमले उनको उपचारमा हरसम्भव प्रयास गरेको थियो । तर, अस्पताल पुर्याउनु अगावै मृत्यु भएको पाइएपछि अस्पताल प्रशासनले सोही आधारमा ‘ब्रट डेड’ भनेर ‘डेथ सर्टिफिकेट’ जारी गरेको छ ।
अहिलेसम्मको अनुसन्धानबाट घरमै कुनै विषयमा वादविवाद भएपछि विजयले नै मुनामाथि आक्रमण गरेको हुन सक्ने देखिएको प्रहरीले बताएको छ । ‘विजयले नै मारेको देखिन्छ,’ ललितपुर प्रहरीका प्रवक्ता सन्तोष तामाङले बुधबार बिहान भने, ‘पहिले डोरीले पछाडिबाट घाँटी कसेको र पछि प्लास्टिकको पिर्काले प्रहार गरेको भिडियो फुटेजमा देखिन्छ ।’
उनकाअनुसार मुनाको मृत्यु ट्रीबुलेसन (निस्सासिएर) भएको देखिएको छ । विजयले हत्यापछि आत्महत्या गरेको प्रहरीलले जनाएको छ । ‘मर्डरपछि आफैं झुन्डेर मरेकोमा पनि विवाद छैन, तर मार्ने र मर्ने दुवै नभएकाले भित्री कारण पत्ता लगाउने प्रयास हामीले गरिरहेका छौं्,’ तामाङले थपे, ‘तर, भिडियो हेर्दा रिस नै थियो भन्ने देखिन्छ ।’ विजयको मृत्युको कारण पनि ‘ह्यागिङ’ नै देखिएको उनले बताए ।
‘मर्ने र मार्ने’ दुवै नरहेका कारण घटनाको आन्तरिक ‘मोटिभ’बारे प्रहरीले अझै अनुसन्धान जारी राखेको छ । घटनाको कारण भने अहिलेसम्म रहस्यकै गर्भमा छ । ललितपुर प्रहरीकी एसपी दुर्गा चन्द भन्छिन्, ‘हामीले मोबाइल फोन र त्यसअघि पनि घरमा काम गर्नेहरूलाई बोलाएर बयान लिइरहेका छौं । तर, घटनाको कारण भने पत्ता लाग्न सकेको छैन ।’ पोस्टमास्र्टम रिपोर्ट बिहीबार आउने भएकाले त्यसपछि मात्रै थप कुरा प्रष्ट हुनेछन् ।
अहिले उक्त भिडियो महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । ‘घटनाले विजय नै घटाएको भन्ने स्पष्ट नै छ,’ महाशाखाका प्रवक्ता मुकेशकुमार सिंहले भने, ‘सबै तथ्यहरूले घटनाले उसैले घटाएको क्लियर देखिएको छ ।’ उनकाअनुसार महाशाखाले अहिले घटना के कारणले भयो, कुन मानसिक अवस्थाले गर्दा विजय यो अवस्थामा पुगेभन्ने विषयमाथि आफ्नो अनुसन्धान केन्द्रित गरेको छ ।
शोकमा रहेका कार्कीसँग प्रहरीले सामान्य सोधपुछ मात्रै गरेको छ । उनले श्रीमती महिनावारी भएकाले आफू एक्लै पशुपति गएको बताएका छन् । तर, थप अनुसन्धान र सोधपुछ गर्ने तयारी प्रहरीको छ । प्रहरीले घरमा काम गर्ने अन्य कामदारसँग पनि सोधपुछ गरिरहेको छ ।
१० वर्षअघि कार्की नयाँ बानेश्वरबाट नयाँ बनाएको सानेपास्थित घरमा सरेका थिए । श्रीमतीलाई काममा सघाउनका लागि भन्दै ७ वर्षअघि दाङ देउखुरीका विजयलाई काममा राखेका थिए । छोराको मृत्युबारे बुझ्न काठमाडौं आएका विजयका ५० वर्षीय बुबा जानकी चौधरीले भने, ‘७ वर्षदेखि सर (कार्की)को घरमा काम गथ्र्यो । मलाई उसले यस्तो घटना घटाउला भन्ने कल्पना पनि थिएन ।’ सचिव कार्कीका तीन सन्तान छन् । जसमध्ये उनकी एक छोरी बेलायत र अर्की अमेरिकामा छन् । घरको घटना थाहा पाएपछि बेलायतमा रहेकी छोरी नेपाल फर्किएको उनका आफन्तहरूले जानकारी दिए । मृतक मुनाको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
यस्तो घटनाको कल्पना गरेको थिइनँ
जानकी चौधरी, विजयका बुवा
हाम्रो घर दाङ देउखुरी हो । उसले पढ्न मन गरेन, ६ कक्षामा पढाइ छोड्यो । त्यहीँका एकजना सरको (अर्जुन कार्की) को घरमा काम गर्थे । तिनैले काम गर्ने मान्छे चाहिएको छ भनेर हामीलाई खबर गरे । उसैसँग ७ वर्षअघि सरको घरमा काम गर्न पठाएको हो ।
तलबको कुरा भने केही पनि भएको थिएन । काम गर्न आएपछि भने कहिलेकाहीँ फोन गथ्र्यो । काम गर्न थालिसकेपछि तीन पटक उ घर आएको थियो । कहिलेकाहीँ खर्च चाहियो भनेर माग्दा पठाइदिन्थ्यो । मेरा तीन छोरामध्ये विजय जेठो हो । मैले उसले यस्तो घटना गर्ला भन्ने कल्पना पनि गरेको थिइनँ । सानोमा रिसाहा प्रकारको स्वभावको पनि थिएन । मैले त अहिलेसम्म आफ्नो आँखाले बच्चाहरूको झगडा पनि देखेको छैन ।