साप्ताहिक संवाददाता
बलिउडमा एक समयमा प्रेमकथाका धेरै चलचित्र बने । अहिले पनि बनिरहेका छन् । वास्तविक जीवनमा पनि बलिउडमा केही यस्ता प्रेमकथाले पूर्णता पाएका छन्, जुन आफैंमा निकै दिलचस्पी छ । धेरै प्रेम जोडीले रिलसँगै रियल लाइफमा पनि रोमान्स गरेका छन् । त्यो रोमान्सलाई उनीहरूले विवाहमै परिणत गरेका छन् । बलिउडका यस्ता केही सेलिब्रेटी छन्, जसको सुटिङमै भेट भयो, लामो समय अफेयर चल्यो अनि अफेयरलाई जीवनसाथीमा बदले ।
बलिउडका खेलाडी अक्षय कुमार र ट्विंकल खन्नाको पहिलो भेट एक फिल्मफेयर सुटिङमा भएको थियो । तर, उनीहरूलाई नजिक बनाउने माध्यम चलचित्र ‘इन्टरनेसनल खिलाडी’ बन्यो । अक्षय ट्विंकललाई निकै मन पराउँथे । यही कारण अक्षयले नै ट्विंकललाई विवाहको प्रस्ताव गरेका थिए । त्यो बेला ट्विंकलले आफ्नो चलचित्र ‘मेला’ बक्स अफिसमा फ्लप भयो भने आफू विवाह गर्न तयार रहेको जवाफ दिएकी थिइन् । संयोग नै त्यस्तै जुर्यो, ट्विंकलले भनेअनुसार नै ‘मेला’ फ्लप भएपछि सन् २००१ जनवरी १७ मा अक्षयसँग विवाह गरिन् । निकै हतारमा गरिएको यो विवाह ट्विंकलका अभिनेता पिता राजेश खन्नाका मिल्ने साथीको घरको छतमा भएको थियो ।
अभिनेता अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन बलिउडकै उत्कृष्ट जोडीमा पर्छन् । दुवैले ‘उमराओ जान’, ‘गुरु’ र ‘धुम ३’ लगायतका कैयौं चलचित्रमा सहकार्य गरेका छन् । तर, ‘बन्टी और बबली’ को ‘कजरारे’ गीत छायांकनताका उनीहरू नजिकिए । अभिनेता विवेक ओबरायसँग एकताका अफेयरमा रहेकी ऐश्वर्याको विवेकसँग ब्रेकअप भएपछि सन् २००६ मा चलचित्र ‘गुरु’को छायांकनता अभिषेकसँग नजिकिएकी थिइन् । यो समयमा अभिषेकले पिता अमिताभलाई आफू ऐश्वर्याको प्रेममा रहेको बताएका थिए । अमिताभकै सल्लाहअनुसार अभिषेकले सन् २००७ मा चलचित्रको प्रिमियरमा ऐश्वर्यालाई प्रपोज गरेका थिए । अभिषेकको प्रपोजलाई स्वीकार गर्दै ऐश्वर्याले सोही वर्ष विवाह गर्ने निर्णय लिइन् । उनीहरूको सम्बन्धलाई बलिउडकै प्रेमिल सम्बन्ध मानिन्छ । उनीहरूको एक छोरी अराध्या छिन् ।
अभिनेता सोहा अली खान र कुणाल खेमुको प्रेमकथा पनि कम रोचक छैन । उनीहरूको भेट सन् २००९ मा कमेडी चलचित्र ‘ढुडते रह जाओगे’को सेटमा भएको थियो । त्यो भेटमा उनीहरूले भविष्यमा आफूहरू श्रीमान्–श्रीमती भइएला भन्ने सोचेका थिएनन् । यही भेटमा फस्टाएको प्रेमले उनीहरूले विवाहको यात्रा तय गरे । बलिउडमा रोजाइका सेलिब्रेटी जोडीमा कुणाल र सोहा पनि पर्छन् ।
अभिनेत्री विपाशा बसु अहिलेका श्रीमान् करण ग्रोबरसँग विवाह गर्नुअघि जोन अब्राहम र डिनो मोरियासँग अफेयरमा थिइन् । उनका पति करणले पनि यसअघि दुई विवाह गरिसकेका थिए । चलचित्र ‘एलोन’मा करण र विपाशाले निकै इन्टिमेन्ट दृश्य पनि दिए । यही कारण यो जोडी एकापसमा नजिकिए । त्यो नजिकपनालाई उनीहरूले सार्वजनिक रूपमा पनि प्रस्तुत गरेका थिए । दुवै जना फिटनेस फ्रिक हुन् र जिम होस् वा चलचित्रको सेटमा दुवैले निकै समय बिताउँथे । उनीहरूले आफ्नो क्रियाकलापको इन्स्पाइरिङ भिडियोलाई सामाजिक सन्जालमा पनि राख्थे । त्यसकारण यो जोडीलाई बलिउडको हट कपल मानिन्छ ।
बलिउड अभिनेता करीना कपुर र सैफ अली खान प्राय: चर्चामा आइरहन्छन् । दुवैको भेट चलचित्र ‘टसन’को सेटमा भएको थिया । यो समयमा करिना र सैफ धेरै कुरा गर्दैनथे । यो चलचित्र अघि करिनाको अभिनेता शाहिद कपुरसँग ब्रेकअप भएको थियो । ‘टसन’को सुटिङको बेला जब करिना सैफको होटलको स्वीमिङपुलमा निकै हट रूपमा देखिइन्, त्यही समयदेखि करिनाको हटनेसबाट सैफ कायल भए । दुवैले सन् २०१२ मा विवाह गरे । सैफले करिनालाई चार पटक विवाहको प्रस्ताव गरेका थिए । दुवैको एक सन्तान तैमुर छन् ।
बलिउडका रोमान्टिक र सुहाउँदिलो जोडीमा हेमा मालिनी र धर्मेन्द्रलाई पनि लिइन्छ । उनीहरूको प्रेमकथा पनि चलचित्रको सुटिङ सेटबाटै सुरु भएको हो । दुवैको पहिलो भेट ‘तुम हंसी मै जवान’को सेटमा भएको थियो । यो चलचित्रपछि दुवैले ५ वर्ष डेट गरे र विवाहमा पूर्णता दिए । दुवैले एकसाथ ४२ चलचित्रमा काम गरे । दुवैका दुई छोरी इशा र अहान छन् । दुवै छोरीको विवाह भइसकेको छ ।
बलिउडका अमिताभ बच्चन र जया बच्चनको जोडी पनि नछुट्ने जोडी हो । उनीहरूको भेट पुने फिल्म इन्स्टिच्युटमा भएको थियो । तर चलचित्र ‘गुड्डी’को सेटमा मात्र उनीहरूको औपचारिक परिचय भयो । अमिताभको पिता हरिवंशराय बच्चन भएकै कारण जयाले अमिताभलाई मन पराउँथिइन् ।
सन् १९९५ मा चलचित्र ‘हलचल’को सेटमा अजय देवगन र काजोलको भेट भएको थियो । यो भेटपछि चार वर्षसम्म डेट गरेका उनीहरूले सन् १९९९ मा विवाह गरे । उनीहरूको न्यासा र युग दुई सन्तान छन् ।
सन् ९० को दशकमा ऋषि कपुर र नीतु कपुरको भेट चलचित्र ‘जहरिला इन्सान’को छायांकनताका भएको थियो । दुवैले ‘खुल्लम खुल्ला प्यार करेंगे’, ‘हम दोनो’मा पनि सहकार्य गरे । यी दुई चलचित्र पछि रियल लाइफमा पनि उनीहरूको डेट सुरु भयो । ऋषिसँग डेट सुरु गर्दा नीतुको उमेर केवल १४ वर्षको थियो । उनले २१ वर्षको उमेरमा ऋषिसँग विवाह गरेकी थिइन् । उनीहरूको छोरा रणवीर कपुर हुन् ।
बलिउडको क्यूट र रोमान्टिक कपलमा रितेश देशमुख र जेनेलिया डिसुजा पनि पर्छन् । उनीहरूले सन् २००२ मा चलचित्र ‘तुझे मेरी कसम’बाट बलिउडमा डेब्यु गरेका थिए । यही चलचित्रबाट उनीहरूको अफेयर पनि सुरु भएको थियो । मुख्यमन्त्रीका छोरा भएर पनि रितेशमा सामान्य व्यवहार पाएकाले जेनेलिया उनीसँग आकर्षित भएकी थिइन् । उनीहरूले १० वर्षसम्म डेट गरेका थिए । त्यसपछि सन् २०१२ फेब्रुअरी १२ मा विवाह गरे । उनीहरूका दुई सन्तान छन् ।
स्रोत : एजेन्सी