प्यारासाइट : थितिले निम्त्याएको दु:खान्त

  • 'धनी र गरिबको वर्गसम्बन्धको सटिक बिम्ब हो यो फिल्म'

- सङ्गीत

फाल्गुन ३, २०७६

 

महानायक बेचिरहेको हलिउड दुनियाँभित्र ओस्करमार्फत् ‘प्यारासाइट’ पुरस्कृत हुनुका अनेक अर्थ र आयाम छन् । यो ओस्कर इतिहासमै उत्कृष्ट अवार्ड पाउने पहिलो गैरअंग्रेजी सिनेमा पनि हो ।

एउटा श्रमजीवी परिवार चतुर्‍याइँ र छलनीति गर्दै कसरी धनी परिवारभित्र घुस्छ र आफ्ना अभावहरूको तुष्टि गर्छ भन्ने पूर्वकथा र दुईथरी श्रमजीवीहरूबीचकै झडपपछिको दु:खान्त हो, यसपालिको ओस्कर विजेता कोरियाली चलचित्र ‘प्यारासाइट’ । श्रमिक र कामदारहरूबिना धनीको जिन्दगी चल्दैन । धनीहरूको मजदुरी नगरी गरिबहरूको छाक टर्दैन । यो अहिलेको व्यवस्थाको सत्यकथा हो । यसैलाई चलचित्रको फ्रेमभित्र भनेका छन्, दक्षिण कोरियाली निर्देशक तथा सहलेखक बोङ जून होले । निर्देशक हो र उनको ‘प्यारासाइट’ले पश्चिमा मिडिया र चलचित्र समीक्षकको ध्यान अघिल्लो वर्षदेखि खिचिसकेका थिए । यसपालि ओस्करको इतिहासमै पहिलोपटक गैरअंग्रेजी चलचित्रले अवार्ड जितेपछि भने ‘प्यारासाइट’को चर्चा संसारभरि फैलियो ।

गरिब किम परिवार र सम्भ्रान्त पार्क परिवारबीच सुरुमा खप्टिँदै गएको र अन्तत: त्रासदीमा पुगेको वर्गसम्बन्धको मर्मान्त प्रस्तुति छ, प्यारासाइटमा । अभावमा बाँचिरहेको किम परिवारका सदस्य धनी पार्क परिवारभित्र पालैपालो श्रमिक बनेर घुस्छन् । किमको छोरो कि वु सुरुमा विश्वविद्यालयका नक्कली कागज बनाउँछ र पार्कको छोराको ट्युसन शिक्षक बनेर पढाउन जान्छ । त्यसपछि क्रमश: आर्ट थेरापिस्ट बनेर उसकी दिदी पुग्छे । दिदीभाइ मिलेर ड्राइभरमा बाबुलाई र घरेलु कामदारमा आमालाई लग्छन् । पार्क परिवारभित्र रोजगार लिँदा उनीहरूले आपसी परिचय त लुकाउँछन् नै, त्यहाँ पुग्नका लागि गरेको चतुर्‍याइँ र पूर्वकर्मचारीलाई गलहत्याउन गरेको छलनीतिका पनि रोचक उपकथा छन् । कामदार खोजिरहेकी घरबेटीलाई ‘द केयर’ अफिसबाट भन्दै चिट गरिरहेकी किमकी छोरीले मोबाइल फोनमा भन्छे, ‘सुरुमा तपाईंको कागजातहरूसहित आवेदन पठाउनुस् । नागरिकता र परिवारको दर्ताकार्ड पठाउनुस् । सम्पत्ति कति छ र आम्दानीको स्रोत के हो खुलाउनुस् ।’ पुँजीवादी राज्यव्यवस्थाले हरेक सर्वसाधरण नागरिकसँग सम्पूर्ण विवरणहरू मागेर, योग्यता खोजेर, सम्पत्ति दाँजेर मात्रै काम दिन्छ । किमकी छोरीको यो चिटिङले बिम्बात्मक रूपमा त्यही व्यवस्थामाथि व्यंग्य गर्छ ।

वर्ग आर्थिक श्रेणीमा अभिव्यक्त हुन्छ तर त्यसको प्रतिबिम्बन दृश्यमा, रङमा र गन्धमा पनि हुन्छ । घरधनीको सानो छोराले समेत ड्राइभर बसेको किमको शरीरबाट आइरहेको गन्धमाथि टिप्पणी गर्छ । उसले किमकैजस्तो गन्ध घरहेरचाहमा बसेकी उसैकी श्रीमतीबाट पनि आइरहेको गुनासो गर्छ । उसकी आमा गाली गर्छिन्, ‘के भन्छ यो ? जा माथि जेसिकासँग पढ् ।’ बालकले वर्गसत्य बोल्छ, ‘जेसिकाको पनि त त्यस्तै गन्ध आउँछ †’ सहरको फोहोरी इलाकातिर सडकैछेउ ठूलो घरको भुइँतलामुन्तिर खाँदिएर बस्ने चारजनाको त्यो परिवारले आफ्नो वास्तविकता लुकाउन अनेक अभिनय गर्छन्, तर त्यो छिप्दैन ।

हान्स एन्डरसनको कथाको बालकले झैं घरमुलीको छोराले सत्यको संकेत गरेको हुन्छ । कथाको घुम्ती त्यहाँ आइपुग्छ, जहाँ थाहा लाग्छ कि किम परिवारले जुन महिलालाई त्यसअघि घरेलु कामदारको भूमिकाबाट षडयन्त्रपूर्वक निकालेको थियो, उसले पनि ऋणका कारण तन्नम अवस्थामा पुगेपछि फरार भएको आफ्नो श्रीमान्लाई चार वर्षदेखि त्यही घरको अन्डरग्राउन्ड सुरुङमा लुकाएर राखेकी थिई । पार्क परिवार घुम्न गएको मौका पारेर ऊ आफ्नो श्रीमान् लिन आइपुग्छे । त्यतिबेलै किम परिवारले गरेको छलको पोल खुल्छ । फिल्मको उत्कर्ष यिनै दुई गरिब परिवारको आपसी द्वन्द्वमा पुगेर पटाक्षेप हुन्छ ।

झट्ट हेर्दा देखिन्छ– उच्च वर्गको सम्पत्तिमाथि दुई श्रमिक परिवारबीच चलेको छिनाझपटी नै ‘प्यारासाइट’ मूलकथा हो । तर, दृश्यहरूमा जे देखिन्छन्, कथाको गूढार्थ त्यति मात्रै हो भन्न मिल्दैन । सरल रेखामा बहने प्यारासाइटको कहानी समाजको उपरीसंरचनाको प्रतिबिम्बन मात्रै हो, त्यसको आधारकथा वर्गभेदको जटिलतामा गुजुल्टिएको छ । सहरी दुनियाँको उच्च वर्ग र निम्न वर्गको सम्बन्ध कस्तो छ ? प्यारासाइटका अनेक दृश्यले अनेक पटक त्यही सिस्टम सम्झाइदिन्छन् । बंकरमा राखिएको श्रीमान् लिन आएकी पूर्वकामदार महिलाको संवादले लाखौं ज्यामीहरूको हालत बोल्छ, ‘हामीसँग घर छैन, हामीसँग पैसा छैन, छ केवल ऋण’, उसले भन्छे, ‘चार चार वर्ष यहाँ लुकाउँदा पनि उनीहरूले हामीलाई छाडेनन् । अझै उसलाई खोजिरहेका छन् । हामीलाई जोगाइदेऊ, प्लिज ।’

किम परिवार बारम्बार सपना, योजना र भविष्यबारे चिन्ता र चर्चा गरिरहन्छन् । पार्क परिवारको भव्य महलभित्र घुसिसकेपछि र पूर्वकामदारसँग द्वन्द्व उल्झेपछि छोरा की वुले किमलाई सोध्छ, ‘बा, योजना के छ अब ?’

‘की वु तिमीलाई थाहा छ, कस्तो योजनामा कहिल्यै असफल भइँदैन ?’ 

छोरो बोल्दैन । 

अनि बाउचाहिँ आफै भन्छ, ‘नो योजना !’

‘जब तिमी कुनै योजना बनाउँछौ, जीवन त्यसअनुसार कहिल्यै चल्ने होइन’, किम भन्छ, ‘त्यसकारण मान्छेले योजना–स्योजना बनाउनु हुँदैन, योजना छैन भने केही पनि काम गलत हुन सक्दैन । चाहे कसैको ज्यान लिनु परोस्, चाहे देशलाई नै धोका दिनु परोस् † योजनै नभएपछि के मतलब ?’ श्रमजीवी परिवारले संकटबाट कसरी पार पाउने भन्ने योजना र प्रष्ट बाटो नदेखेपछि के गर्छ ? के भन्छ ? भन्छ, ‘योजनै छैन भने असफल भइँदैन, केही काम पनि बेठीक हुँदैन ।’ यो संवादले नेपालको सहरी जीवनमा पछिल्लो समय बढ्दै गरेका घरभित्रका हिंसात्मक घटना सम्झाउँछ । सोमबार बिहान मात्रै ललितपुर, सानेपामा घरेलु कामदार बसेका विजय चौधरी र घरधनी मुना कार्कीको शव भेटिएको थियो । सानेपा हत्या प्रकरणको रहस्योद्घाटन हुन बाँकी छ, प्रहरीले भने कामदारले नै घरधनीको हत्या गरेर आफूले आत्महत्या गरेको भनेको छ । नेपालमा मध्यम र उच्च वर्गीय परिवारमा घरेलु–श्रमिक र घरधनीबीचको द्वन्द्व बेलाबेला सार्वजनिक हुने गरेको छ । एउटै संसारमा दुईथरी समय भोगिरहेको ठूलो दुनियाँ छ, प्यारासाइटमा देखिने एउटै घरभित्र दुईथरी जीवन बाँचिरहेका मानिसहरू त्यसैका बिम्बात्मक दृश्य मात्रै हुन् । 

बुधबार ‘नयाँ पत्रिका’मा छापिएको समाचार भन्छ– नेपालमा ५५ हजार बालबालिका अझै घरेलु मजदुर छन् । यो प्रकाशित तथ्यांक हो । तथ्यांकमा नअटेका अझै कति बालबालिका वा घरेलु मजदुरहरू होलान् ? ठूला कारखाना र निजी कर्पोरेट हाउसभित्र पनि असन्तुष्ट र आक्रोशित कति ज्यालादार मजदुर होलान् ? यो केही गरिब र केही धनीहरूको मात्रै माम्लो होइन, यो त समाजमा बढिरहेको हुने र नहुनेको द्वन्द्वको झिल्को मात्रै हो । प्यारासाइटको द्वन्द्वले हाम्रो समाजमा पनि बढ्दै गरेको क्रुरता सम्झाइदिन्छ, आङ जिरिङ्ग हुने गरी । संसारभरि नाफा खाने र ज्याला खाने दुई वर्गबीच जुन ठूलो खाडल छ, त्यो बढ्दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । कतै लोकतन्त्र पनि त्यही खाडलमा जाकिने त होइन ? प्यारासाइट हेरिसकेपछि दर्शकका मनमा यस्तो प्रश्न उठ्न सक्छ । 

न्यूयोर्क टाइम्समा मिसेल गोल्डवर्गले ‘प्यारासाइट’ दर्शकहरूले रुचाउनुलाई पुँजीवादमा विश्वासको संकटका रूपमा अथ्र्याएकी छन् । ‘ओस्कारमा वर्ग–युद्ध’ शीर्षकको लेखमा उनले थुप्रै मान्छे असमानतामा बाँच्नुपर्ने परिस्थितिलाई आधुनिक पुँजीवादको दु:स्वप्न भनेकी छन् । दार्शनिक कार्ल माक्र्सले १९औं शताब्दीमा जसलाई वर्गसंघर्ष भनेर विवेचना गरेका थिए, प्यारासाइटले त्यस्तै कथा भन्ने होइन । माक्र्स त भन्थे, वर्गसंघर्षका लागि वर्गचेतना चाहिन्छ, श्रमिक वर्गको संगठित हैंसे चाहिन्छ । निर्देशक होले क्लासिक कम्युनिस्ट पार्टीहरूले पैरवी गर्ने वर्गसंघर्ष देखाएका होइनन्, तर सरल दृश्यभाषामा वर्गविभेदको पुँजीवादी कहानीको उनले गाढा चित्रण गरेका छन् । अनि आजको वर्गभेदले सिर्जिरहेको दर्दनाक परिवेशलाई दृश्यहरूमा उजिल्याएका छन् ।

महानायक बेचिरहेको हलिउड दुनियाँभित्र ओस्करमार्फत् ‘प्यारासाइट’ पुरस्कृत हुनुका अनेक अर्थ र आयाम छन् । यो एसियाली निर्देशकको चलचित्र मात्रै होइन, ओस्कर इतिहासमै उत्कृष्ट अवार्ड पाउने पहिलो गैरअंग्रेजी चलचित्र पनि हो । यसको सबैभन्दा शक्तिशाली पाटो हलिउड–शैलीमा बढाइँचढाइँ पात्र–कल्पना नगर्नु नै हो । यसले कुनै नैतिकता सिकाउँदैन, निजी प्रतिस्पर्धालाई नै अन्तिम साधन भन्दैन, यसका बिम्बहरूले शक्तिशाली व्यक्तित्वहरूको अवतारी सन्देश दिँदैनन् । भनिन्छ– हलिउडको चमकधमकले बाँकी गैरअंग्रेजी र अश्वेत दुनियाँमा अँध्यारो फैलाइरहेको छ । ‘प्यारासाइट’भन्दा डरलाग्दा कथाहरूले अफ्रिकादेखि एसियाका अगम बस्तीहरूसम्म मुख बाइरहेका छन् । एसियाका उदाउँदा आर्थिक तथा सामरिक बेल्टहरूका सिनेधर्मीहरूले पनि यतातिर सोच्दै होलान् कि ? 

प्रकाशित :फाल्गुन ३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×