साप्ताहिक संवाददाता
चलचित्र ‘नीरफूल’ मा समेटिएको गीत ‘तिमी बदनामी बदनामी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत र चलचित्र निर्देशक फूलमान वलको शब्द सुन्न सकिन्छ ।
गीतमा अभिनेत्री रेखा थापा बार गायिकाको रुपमा देखिएकी छिन् । उनले गाउँदै गर्दा बारमा महिला हिंसाका अनेक हर्कतहरु देखाईएको छ । भिडियोमा पात्रको संघर्ष र उनीमाथि हुने हिंसाको सिलसिला प्रस्तुत गर्न खोजिएको छ ।
निर्देशक वलले गीतलाई ‘चलचित्र चलाउने मसलाको रुपमा नभई चलचित्रकै थिम अनुरुप स्वभाविक लयमा छायांकन गरिएको’ बताएका छन् ।
२०७२ को महाभूकम्पमा विछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् ।
फ्रेन्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् । ‘नीरफूल’ यही फागुन ३० गते रिलिज हुँदैछ ।
गीतको भिडियो :