साप्ताहिक संवाददाता
प्रेम कलाका अन्य विधामा जस्तै चलचित्रमा सबैभन्दा बढी प्रयोग हुने विषय हो । नेपाली चलचित्रले पनि एकताका प्रेमकथालाई नै प्रमुख विषय बनाउथेँ । तर, अहिले अवस्था फेरिएको छ । पछिल्लो दशकका नेपाली चलचित्र सरसर्ती नियाल्ने हो भने अधिकांश चलचित्रमा प्रेमकथा प्रधान देखिँदैनन् ।
‘आजकल प्रेमकथामा बन्ने चलचित्रको संख्या निकै कम छ । कमेडी चलचित्रले बक्सअफिसमा नसोचेको व्यापार गरेकाले पनि नयाँ र पुराना निर्माताको ध्यान प्रेमकथाभन्दा पनि कमेडी चलचित्रमै बढी गयो’, प्रेमकथामा सफल चलचित्र बनाउन कहलिएका निर्देशक विकासराज आचार्य भन्छन्– ‘राम्रा लेखकको पनि कमी देख्छु । दर्शक अझै पनि प्रेमकथाका चलचित्र हेर्न रुचाउँछन् ।’ उनकै कुरामा सहमत छन् निर्माता तथा निर्देशक सन्तोष सेन । उनी भन्छन्, ‘कमेडी चलचित्रमा दर्शकको आकर्षण देखेर अहिले धेरै त्यतै लागेका छन् ।’
पछिल्लो समय प्रेमकथामा निर्माण भएका थोरै चलचित्रले मात्र सफलताको स्वाद चाखेका छन् । चलचित्रका प्रेमील गीत चर्चामा आए पनि त्यो अनुपातमा दर्शक हलमा आउन सकेका छैनन् ।
पटकथा लेखक अभिमन्यू निरवी अहिले पाँचवटा सिनेमाका लागि काम गरिरहेका छन् । तर, कसैले पनि प्रेमकथा मागेका छैनन् । बरु सामाजिक कथामा कमेडी चलचित्र लेखिदिनुपर्यो भन्नेहरू छन् । चलचित्र क्षेत्रको ध्यान सामाजिक विषयमा बढी जान थालेकाले प्रेमकथाले कम स्थान पाएको उनको छ । ‘पहिले धेरै प्रेमकथाका चलचित्र निर्माण भए र हिट पनि भए । अहिले सामाजिक विषयले ध्यान तानेको छ’ उनी थप कारण खोतल्दै थप्छन्, ‘प्रेमकथाको चलचित्रमा अभिनेता भएर अभिनय गर्नेको संख्या पनि हातमा गन्न सकिने अवस्थामा मात्र छ । पारिश्रमिक अत्याधिक महँगो छ । तर, दर्शक तान्ने अवस्थामा छैनन् ।’
निर्देशक सन्तोष भने राम्रा कथाको अभाव औंल्याउँछन् । ‘राम्रो कथामा चलचित्र बनाउन सकियो भने दर्शकलाई हलसम्म तान्न गाह्रो हुँदैन,’ उनले भने । प्रेमकथामा चलचित्र बनाइरहेका निर्देशक सुदर्शन थापा पनि दर्शकमा प्रेमकथाका चलचित्र हेर्ने भोक बाँकी नै रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘राम्रो प्रेमकथाको चलचित्र बनाउने हो भने सिंगल होस् या मल्टिप्लेक्स हलमा दर्शकको चाप बढ्ने सम्भावना अझै देखेको छु ।’