साप्ताहिक संवाददाता
नारायण थापा, महासचिव क्यान फेडेरेसन नेपाल
इन्फोटेक प्रदर्शनी सुरु हुँदा नेपालको सूचना–प्रविधि क्षेत्रको अवस्था कस्तो थियो र अहिले के परिवर्तन आएको छ ?
हामीले सन् १९९४ देखि प्रदर्शनी सुरु गर्यौं । त्यतिबेला थोरै मानिसले मात्र कम्प्युटर प्रयोग गर्थे । कम्प्युटर प्रयोग गर्ने मान्छे एलियन पो हुन् कि भन्ने अवस्था थियो । सूचना–प्रविधि भनेको के हो र यसले के काम गर्छ भनेर चिनाउनुपर्ने थियो । त्यही बेला क्यानले प्रदर्शनी सुरु गरेको थियो । अहिले आइपुग्दा सूचना प्रविधिमा धेरै विकास भइसकेको छ । अहिले कुनै पनि बालबालिकालाई टेक्नोलोजी के हो भनेर बुझाइराख्नु पर्दैन । उनीहरू प्रविधिसँगै हुर्किएका छन् ।
इन्फोटेकको प्राथमिकतामा चाहिँ कत्तिको परिवर्तन आएको छ ?
प्राथमिकता हरेक वर्ष फरक हुन्छ । अहिले एउटा पुस्ता बाध्य भएर टेक्नोलोजीको प्रयोग गर्छ । त्यहीँ अर्को समूह आर्थिक वा भौगोलिक कारणबाट प्रयोगबाट वञ्चित छ । त्यो समूहलाई प्रविधि सहज बनाउने र यसबारे बुझाउने उद्देश्य त छँदैछ, साथै सूचना प्रविधिसँग जोडिएको मान्छेलाई त्योभन्दा नयाँ के आएको छ, त्यसबारे अपडेट गराउनु अहिले हाम्रो प्रमुख प्राथमिकता हो । नयाँ आविष्कार र उत्पादनलाई प्रयोगकर्तामाझ पुर्याउनु अर्को प्राथमिकता हो ।
यस वर्ष नयाँ आविष्कार र उत्पादन के छन् ?
अहिले धेरै कुरा नयाँ नै छन् । बाहिरबाट आएका प्रविधिभन्दा देशभित्रकै उत्पादनलाई हामीले प्राथमिकतामा राखेका छौं । यसमा अनलाइन गेमिङ नयाँ हो । त्यसले नयाँ गेम बनाउन चाहनेलाई पनि प्रेरणा मिल्छ । युवाहरूलाई आइटीमार्फत कसरी काम गर्न सकिन्छ भनेर प्रशिक्षित गर्ने स्टलहरू छन् । एक सयभन्दा बढीका स्टलमा नयाँ–नयाँ सिकाइ हुन्छन् । यहीँ निर्माण भएका नयाँ इनोभेन्सनलाई छनोट गरेर पुरस्कारसमेत प्रदान गर्छौं ।
नेपालभित्रका प्रोडक्ट र आविष्कारका लागि इन्फोटेक कस्तो प्लेटफर्म हो ?
नेपाल सरकारबाट सहयोग केही पनि पाउँदैनौं तर पनि सरकारले गर्नुपर्ने काम हामी गरिरहेका छौं । कतिपय बिक्रीका लागि नभई ब्रान्डिङका लागि आउनुहुन्छ । बिक्रीको दृष्टिबाट आउने समूह पनि छन् । अर्को चाहिँ, नयाँ प्रोडक्ट आइडियालाई बजारले स्वीकार गर्छ कि गर्दैन भन्ने अनुसन्धानका लागि पनि आउनुहुन्छ । उत्पादन जे भए पनि बजारमा लिएर जान्छु भन्ने हिसाबले आउनुहुन्छ । सबैले प्रदर्शनीबाट फाइदा लिनुभएको छ । कतिपयले व्यवसायको सुरुवात नै इन्फोटेकबाट गर्नुभएको छ ।
इन्फोटेकमा आउने प्रयोगकर्ताको चासो सफ्टवेरमा बढी छ कि हार्डवेयरमा ?
इन्फोटेक बलियो ब्रान्ड बनिसकेको छ । इन्फोटेकमा नयाँ कुरा के रहेछ भनेर प्राय: आउनुहुन्छ । त्यसमा पनि त्यहाँ उपलब्ध उत्पादन किन्न धेरै आउनुहुन्छ । यसरी हेर्दा सफ्टवेरमा चासो कम देखिन्छ । हार्डवेयर तथा ग्याजेटहरू नै बढी बिक्री भएको देखिन्छ । मोबाइल र ल्यापटप किन्नेहरू बढी आउनुहुन्छ ।
सूचना प्रविधिमार्फत युवापुस्ता तथा विद्यार्थीले कसरी लाभ लिन सक्छन् ?
आईटीमा फ्रिल्यान्सर भएर काम गर्ने थुप्रै युवा छन् । नेपालबाट रि–इकोनमीको रूपमा काम गर्ने कम्तीमा १० हजार छन् । जो अफिस नगई कम्पनीमा काम गर्छन् । यो क्षेत्रमा लागेपछि काम सहज ढंगले गर्न सकिन्छ भन्ने युवापुस्तालाई बुझाउन हामीले सक्नुपर्छ, अवसर थुप्रै छन् । तर, नयाँ पुस्तालाई नेपालको नीतिले भने चुनौती खडा गरिदिएको छ । टुटल, पठाओ र युट्युब विज्ञापनलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । ५५ वर्ष पुरानो कानुनले हाम्रो नयाँ काममा बाधा पुर्याइरहेको छ । राज्य तवरबाटै पाउनुपर्ने सहयोग आइटी क्षेत्रले पाउन सकेको छैन ।
सातवटै प्रदेशमा प्रदर्शनी भयो, यसको उद्देश्य के थियो ?
प्रदेशमा अझै पनि प्रविधिमा पछाडि परेका नागरिक छन् । साना कुराहरू पनि बुझाउनुपर्ने अवस्था छ । जनचेतना जगाउनु पनि पहिलो उद्देश्य हो । हामीले काठमाडौंमा सुरुमा इन्फोटेक सुरु गर्दा जस्तो अवस्थामा थियौं, प्रदेशमा झन्डै त्यस्तै अवस्था छ । करिब १० वर्षअघि हामी अर्घाखाँची जिल्लामा गएका थियौं । स्कुलमा इन्टरनेट जोड्नुपर्छ भन्दा उहाँहरूले भन्नुभयो, ‘भर्खर–भर्खर गाउँमा मोबाइल आएको छ । मोबाइलकै कारण डिभोर्सका केसहरू बढेका छन् ।’ सबै कुराको फाइदा सँगसँगै नराम्रा पक्ष पनि हुन्छन् । यसका लागि हामीले जनचेतना जगाउनुपर्छ । सबै भूगोलका मान्छेलाई प्रविधिको सुविधा पुर्याउनुपर्छ । त्यसैले सबै प्रदेश र भूगोलमा हामीले इन्फोटेक प्रदर्शनी लग्यौं ।