साप्ताहिक संवाददाता
भनिन्छ, चलचित्रका अभिनेता–अभिनेत्रीको विवाहपछि क्रेज घट्छ । यद्यपि हलिउडदेखि बलिउडसम्म यो ट्रेन्ड गलत सावित भइसकेको छ । किनभने अधिकांश विवाहित अभिनेता तथा अभिनेत्रीका चलचित्रहरूले उत्कृष्ट व्यवसाय गरिरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा पनि उक्त भनाइलाई बेला–बेलामा व्यवहारमा लागू गर्न खोजिन्छ ।
नेपाली चलचित्रमा भने विवाहपछि अभिनेत्रीहरू बिस्तारै यो क्षेत्रबाटै पलायन भएका थुप्रै उदाहरण छन् । केही अभिनेत्रीले भने विवाहपछि पनि राम्रै गरेका उदाहरण पनि छन् । यसबीच अभिनेत्री वर्षा राउतलाई विवाहपछि चलचित्र नपाएको आरोप नै लाग्न थालेको थियो । त्यस्ता आरोपको उनले खण्डन गर्नसमेत आवश्यक मानिनन् ।
अहिले आएर उनी झन्डै एक साताको अन्तरालमै दुई ठूला ब्यानरका चलचित्रमा अनुबन्ध भएर आलोचकहरूकै मुख बन्द गराउन सफल भएकी छिन् । सुव्रत आचार्यको नयाँ चलचित्र ‘के घर के डेरा’ तथा दीपेन्द्र लामाको चलचित्र ‘दुई नम्बरी’ मार्फत वर्षा पुन: दर्शकमाझ आउने निश्चित भएको छ ।
यी दुवै चलचित्रमा वर्षाले अभिनेता संजोग कोइरालासँग विवाह भइसकेपछि अभिनय गर्न लागेकी हुन् । ‘दुई नम्बरी’ मा उनी अभिनेताद्वय दयाहाङ राई तथा पल शाहसँग अनस्क्रिन रोमान्स गर्दैछिन् भने ‘के घर के डेरा’ मा उनलाई विपिन कार्कीको साथ मिल्नेछ । विवाह गरेको आठ महिनासम्म कुनै पनि नयाँ चलचित्रमा अनुबन्ध नहुँदा वर्षालाई विवाह नै नफापेको आरोप लागेको थियो । एकैपटक दुई चलचित्रमा अनुबन्ध हुँदै वर्षाले उक्त आरोपको दह्रो खण्डन गरिदिएकी छिन् ।