साप्ताहिक संवाददाता
राजनीतिक विषयलाई कथाबस्तु बनाएर निर्माण गरिएको चलचित्र ‘सेन्टी भाइरस’ यही शुक्रबार अर्थात् फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको चलचित्रको सार्वजनिक ट्रेलर र गीतलाई हेर्दा चलचित्र राजनीति केन्द्रित छ भन्नेमा दुई मत छैन ।
चलचित्रका प्रमुख अभिनेता तथा निर्माता सिताराम चलचित्रमा राजनीतिक, सामाजिक र पारिवारिक पक्षलाई सबल ढंगले प्रस्तुत गर्न खोजिएको बताउछन् ।
‘चलचित्रमा हामीले हरेक घरको प्रतिबिम्बलाई पस्कने कोशिस गरेका छौं । समग्र देशको मुद्धा नै राजनीतिमा होमिएको छ । नेपालमा राजनीति बिना कुनै पनि काम नभइरहेको अवस्था छ । हरेक विषय र घटना राजनीतिसँगै जोडिएका छन्’, सिताराम भन्छन्, ‘त्यसैको सेरोफेरोमा त्यो विषयबस्तु छनोट गरेका हौं । हामी राजनीतिमा आउन, त्यसको जग बसाल्न, भोलि सांसद, मन्त्री र प्रधानमन्त्री बन्नका लागि हिडेका यात्री होइनौं । हामी स्वतन्त्र व्यक्ति हौं र जीवनको अन्तिम अवस्थासम्म स्वतन्त्रै रहन्छौं ।’ उनले डेढ वर्ष अघि नै बनेको चलचित्र बनाउने योजना अहिले आएर पुरा भएको बताए ।
चलचित्रमा सितारामको मीतको भूमिकामा अभिनेता दयाहाङ राई छन् । ‘चलचित्रको ट्रेलर रिलिज पछि धेरैले कबड्डीको काजीको चरित्र भनेर अनुमान लगाए । तर मेरो चरित्र काजीसँग पटक्कै मिल्दैन । यो चरित्र मैले गरेकै एक चलचित्रको चरित्रसँग मिल्न जान्छ’, दया भन्छन्, ‘उसको मनोविज्ञान मिल्छ, तर थट फरक हो । मलाई यो चलचित्रको आउटर लुक्स निकाल्नै ६ महिना लाग्यो ।’
अभिनेत्री कुन्जनाले आफूलाई सानैदेखि चलचित्रको अभिनेत्री बन्ने इच्छालाई ‘सेन्टीभाइरस’बाट पुरा गरेको बताइन् । ‘मैले भलै चलचित्रमा ग्ल्यामर र अदाह दिइन होला । तर म चलचित्रको नायिका नै हो । बच्चादेखि नै अभिनेत्री बन्नकै लागि एक्सप्रेसनसहित अदाहवाला संवाद बोल्दै आएकी थिएँ’, उनले भनिन्, ‘ठूलो पर्दामा देखिदैछु भनेर म सन्तुष्ट थिए । आफ्नो सपना साका हुन गइरहँदा खुशी र उमंग जोडिदोरहेछ । अर्का अभिनेता विल्सनविक्रम राईले आफू सेन्टी भाइरसमा भूइचालो ल्याउने प्रमुख कार्यकर्ता रहेको बताए ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा बुद्धि तामाङ, बसन्त भट्ट, राजाराम पौडेल, सन्दिप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।