साप्ताहिक संवाददाता
चैत २८ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शन हुने चलचित्र ‘प्रेमगीत–३’को युके र युरोपका लागि प्रदर्शन अधिकार २३,५०० युरोमा बेचिएको छ ।
निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार यूके र यूरोपका ८ देशका लागि इनाश चलचित्र प्रवद्र्धन समिति ग्लोबलका संयोजक मनिष श्रेष्ठ र इनाश यूरोप कोर्डिनेटर सन्तकुमार थापा मगरले २३ हजार ५०० सय युरो अर्थात करिब ३० लाख नेपाली रुपैयाँमा खरिद गरेका हुन् । अब चैत २८ गतेबाट यूके र यूरोपका आठैवटा देशमा रहेका सम्पूर्ण नेपाली दर्शकहरुले ‘प्रेमगीत–३’ हेर्न पाउने छन् ।
केही दिन अगाडि मात्रै यो चलचित्र उत्तर अमेरिकाको प्रदर्शन अधिकार पनि ४५ हजार डलर अर्थात करिब ५० लाख रुपैयाँमा बेचिएको थियो ।
फ्लोरमा जानु अगाडि देखिनै चर्चामा रहेको ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, योगिशा क्षेत्री, समृद्धि शाही ठकुरी, जीवन बराल, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुजल बस्नेत, राज थापालगाएत मुख्य भूमिकामा छन् ।
चलचित्र निर्माणका लागि ३ करोडभन्दा धेरै खर्च भइसकेको निर्माता सेनले जानकारी दिए । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेका हुन् । चलचित्र पुर्ण प्रेम कथामा आधारित रहनेछ । यो चलचित्र निर्माणका लागी १ वर्षभन्दा धेरै समय निर्माण टिमले खर्च गरिसकेको छ ।