साप्ताहिक संवाददाता
गाँजा फाइदाजनक छ या छैन भन्ने विषयमा वैज्ञानिकहरूबीच नै विवाद छ । यस सन्दर्भमा भएका करिब पाँच दर्जनभन्दा बढी अनुसन्धान अध्ययन गर्दा ६ सय ८५ तथ्यले गाँजाको फाइदाको पक्षमा वकालत गरेका छन् । २ सय ३५ तथ्यले तटस्थ र ८५ तथ्य बेफाइदामा देखिएका छन् ।
गाँजालाई औषधिका रूपमा नियन्त्रित तवरले प्रयोग गर्दा स्वास्थ्यको क्षेत्रमा फाइदा पुर्याउने देखिन्छ । साथै यसमा केही बेफाइदा पनि जोडिएका छन् ।
गाँजा ‘म्यारुवाना’ का रूपमा विश्वबजारमा प्रख्यात छ । यसमा १ सयभन्दा बढी रसायन तत्त्व पाइन्छन् । गाँजामा पाइने टेट्राहाइड्रो क्यानाबिनोल (त्ज्ऋ) र क्यानाबिडोल (ऋद्यम्) तत्त्वलाई औषधिका रूपमा प्रयोग गरिएको पाइन्छ । टीएचसीले गाँजा सेवन गर्दा अलौकिक संसार पुगेको महसुस गराउँछ । त्यसैले गाँजा सेवन गर्दा मस्तिष्क आफ्नो काबुमा कमै हुने गर्छ । अल्जाइमर, पाचन प्रक्रियाको समस्या, एनोरेजिया, छारेरोग, सिजोफ्रेनिया, दीर्घकालीन मांसपेशीको दुखाइ कम गर्न, क्यान्सरका ट्युमर कोषिकालाई मार्न गाँजाको सीमित प्रयोग गर्न सकिने वैज्ञानिक तथ्यले बताएको छ । गाँजाको दानालाई अचारका रूपमा प्रयोग गर्दा पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
धूमपानजस्तै गाँजालाई पनि सल्काएर प्रयोग गरिने प्रचलन बढ्दै गएकाले यसले फोक्सोमा भएका एलभियोलाई खुम्च्याउने, श्वास–प्रश्वासमा समस्या पुर्याउने, मुटुको धड्कन बढाउने, आँखा रातो र ठूलो हुने र रक्तचाप कम हुने गर्छ । यसैगरी यसको अधिक सेवनले मानसिक रोग, डिप्रेसनको सिकार हुने जस्ता बेफाइदा पनि देखिन्छ ।
आयुर्वेदमा गाँजालाई उप–विषको हिसाबमा लिइन्छ । जुनसुकै उपविषलाई शुद्धीकरण गरेर मात्र प्रयोग गरिन्छ । यसका लागि गाँजालाई एउटा कपडामा बाँधी दूधमा माथिबाट राखेर पकाइन्छ । दुई–तीन घण्टा पकाएपछि पानीले पखालेर सुकाउनुपर्छ । त्यसपछि गाईको घिउमा भुटेर प्रयोग गर्नुपर्छ । यसो गरेमा गाँजामा हुने मादकता कम हुन्छ । यसले निद्रा पनि राम्रो लाग्छ ।
यस्तो गाँजा दिनहुँ २ सय ५० देखि ५ सय मिलिग्रामसम्म (एक रति) खान सकिन्छ । यसरी नियमित खाँदा पनि लाग्दैन । आयुर्वेदिक औषधि बनाउँदा गाँजाको प्रयोग पनि गरिन्छ । शीघ्र स्खलन, पखाला लागेको, अनिद्रामा पनि यसले फाइदा पुर्याउँछ । सम्बन्धित चिकित्सक तथा सम्बन्धित साधकसँगको सल्लाह तथा निगरानीमा मात्र यसको सेवन गर्नु उपयुक्त हुन्छ ।
फाइदा र बेफाइदा
डा. विनोद घिमिरे / आरोग्य नेपाल, लामा टार
गाँजालाई चेतनाको फरक अनूभूतिका निम्ति प्रयोग गर्ने गरेको पाइन्छ । दिमाग शान्त र पीडारहित पार्ने माध्यमका रूपमा पनि गाँजा प्रयोग भइरहेको देखिन्छ । शिवरात्रिमा शिवको प्रसादका रूपमा गाँजालाई लिइने परम्परा पहिलेदेखि नै रहिआएको छ । त्यसैले यो दिन मिठाई वा लड्डुमा गाँजा राखेर खाने परिपाटी रहिआएको छ । नेपालमा धेरैजसोले एडिक्सनका हिसाबले चुरोटमा राखेर खाने गर्छन् ।
फाइदा
गाँजामा २ सय रसायन हुन्छन्, जसमध्ये टिएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
डिप्रेस भएको मानिसलाई सुरुमा ‘हाइ’ हुन्छन् । त्यसपछि उनीहरूको ‘मुड फ्रेस’ हुन्छ ।
कम समयलाई पनि लामो महसुस गराउँछ ।
गाँजाले खानेकुरामा रुचि बढाउँछ । एचआईभी एड्स लागेकाहरूलाई खानाको रुचि कम हुन्छ, उनीहरूलाई खानाको रुचि बढाउन पनि गाँजा सहयोगी हुन्छ भन्ने धारणा रहेको छ ।
आँखाको प्रेसर पनि कम हुन्छ ।
– जोर्नीको पीडा र दिसासम्बन्धी समस्यामा फाइदा पुर्याउँछ ।
पाचनप्रणाली राम्रो हुन्छ । छारेरोगीलाई पनि फाइदा पुर्याउँछ ।
क्यान्सरमा किमोथेरापीपछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रहिआएको छ ।
गाँजा खाएर झैझगडा गर्ने कम हुन्छन्, सिर्जना पनि प्रस्फुटन हुन्छ ।
बेफाइदा
लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक रोग लाग्न सक्छ ।
यसको प्रयोग निरन्तर गरेमा तौल कम हुन्छ ।
गाँजा तथ्य
विपिन कार्की /डाइटिसियन
पहिले गाँजा भन्नासाथ नकारात्मक रूपमा र खतरनाक लागू औषधका रूपमा लिइने भए पनि समयसँगै यो अवधारणा परिवर्तन भएको छ ।
नेपालमा अहिले पनि गाँजालाई लागूऔषधका रूपमा हेरिन्छ । गाँजा भन्नासाथ नाक खुम्च्याउने परिपाटी अहिले पनि कायम छ ।
जबदेखि मानिसलाई गाँजाबारे थाहा भयो, तबदेखि नै यसको प्रयोग तथा ओभर डोजबाट कसैले पनि ज्यान गुमाएका छैनन् ।
सन् २०१० मा ल्यान्सेटमा प्रकाशित लेखअनुसार ड्रग एक्स्पर्टले गरेको अध्ययनअनुसार चुरोट र रक्सीको असरभन्दा गाँजाको असर तुलनात्मक रूपमा कम हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार गाँजा वा भाङमा औषधीय गुण हुन्छन् । विश्वका करिब २ दशमलव ५ प्रतिशत जनसंख्याले गाँजा वा भाङ खान्छन् ।
गाँजा खाएपछि सिर्जनामा केन्द्रित हुन सहज हुने भएकाले धेरै गायकले पनि यसको प्रयोग गर्ने गरेका छन् ।
गाँजाको हेम्स प्लान्टबाट लुगा बनाउन सकिन्छ ।